default_image

1 year ago

February 27, 2023

पपुवा न्युगिनीमाथि सानदार जित निकाल्ने सोचमा नेपाल

51 views

0 Bookmark

दुबइ (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज पपुपा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११: ४५ मा युएईको दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ।

नेपालको यो लिग २ को अन्तिम विदेश भ्रमण हो । नेपाल, युएई र पपुवा न्युगिनीबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । यसपछि लिग २ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिज नेपालमा यी तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल लिग २ मा २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । नेपाललाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सहजै जोगाउन कम्तिमा ५ खेल जित्नुपर्ने हुन्छ । शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न ७ खेल जित्नुपर्ने हुन्छ ।

पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंकका साथ पुछारमा छ । पपुवा न्युगिनीले पुछारमा रहँदै क्वालिफायर प्लेअफ खेल्ने पक्का भई सकेको छ । युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । युएई शीर्ष तीनमा पर्न कम्तिमा ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सोझै जोगाउन युएईले चार खेल जित्नुपर्ने हुन्छ ।

यस पटक युएई भ्रमणमा नेपालको मनोबल उच्च छ । नेपालले यसै साता स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिजमा सबै खेल जितेको थियो । च्याम्पियन स्कटल्यान्डमाथि दुवै खेलमा जित हात पारेको नेपाल युएईमा पनि शतप्रतिशत नजिता निकाल्ने दाउमा हुनेछ । नेपाल ओडिआई क्रिकेटमा पहिलो पटक लगातार पाँच जित हात पार्ने सोचमा हुनेछ । नेपालले यसअघि ओडिआईमा लगातार चार जित मात्रै हात पारेको छ ।

यो सिरिजले नेपाल, युएई र नामिबिया मध्य को शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने निर्धारण गर्नेछ । स्कटल्यान्ड ५० अंक र ओमान ४४ अंकका साथ सोझै विश्वकप छनोटमा पुगेका छन् । नामिबियाले ३९ अंक जोड्दै तेस्रो स्थानमा अन्त्य गरेको छ । यो सिरिज पपुवा न्युगिनीको लागि प्रतिष्ठाको लडाई र राम्रो तयारी हो । यता नेपाल र युएईको भने आगमी चार वर्षको भविष्य निर्धारण गर्नेछ ।


नेपालले गत वर्ष लिग २ मा युएईमा नै पपुवा न्युगिनीलाई दुवै खेलमा हराएको थियो । तर गतवर्ष पपुवा न्युगिनीले टियु मैदानमा नेपालसँगको दुवै ओडिआई खेल जितेको थियो । त्यसैले पपुवा न्युगिनीलाई कमजोर भने ठान्नु हुँदैन । लिग २ मा पपुवा न्युगिनीले अमेरिका र युएईलाई स्तब्ध पारेको थियो ।

गतवर्ष घरेलु मैदानमा नेपाललाई क्लिनस्विपको हार चखाउन पपुवा न्युगिनीका चाल्र्स अमिनीले सानदार प्रदर्शन गर्दै प्लेयर अफ द सिरिज चुनिएका थिए । लेगा सिकाया, अमिनी, टोनी उरा र असाद भाला प्रमुख ब्याटर हुन् । पपुवा न्युगिनी अमिनी र भालामा बढी निर्भर छ । यी दुई खेलाडीको विकेट समयमै लिन सके नेपाल खेलमा हाबी बन्न सक्छ । तीव्र गतिका बलिङ अलराउन्डर नर्मन भानुआ पनि नेपाललाई घातक बन्नसक्छन् ।

टियुको ब्याटिङ सहयोगी पिचमा खेलेका नेपाली ब्याटरले दुबईमा संयमित हुन आवश्यक देखिन्छ । पहिलो खेलमा नामिबियाले दिएको ९२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा युएईले ९ विकेट गुमाएको थियो । नेपालले घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै टियुमा सानदार प्रदर्शन गरेको थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईको यो पहिलो विदेश भ्रमण हो । उनको र नेपाली टोलीको असली परिक्षा समेत हुनेछ ।

नेपालको प्रमुख हतियारको रुपमा ब्याटिङ नै रहेको छ । कप्तान रोहित पौडेल नेपालका प्रमुख ब्याटर हुन् । उनको प्रदर्शनमा नेपालको योगफल निर्धारण हुनसक्छ । ओपनर आसिफ शेख, कुशल भुर्तेल र तेस्रो नम्बरका ब्याटर ज्ञानेन्द्र मल्ल मध्य एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । नामिबियाविरुद्ध शतक हानेका कुशल भुर्तेलबाट नेपाल आक्रामक सुरुवात चाहन्छ । युवा बायाँ हाते अलराउन्डर कुशल मल्लबाट नेपाल मध्यक्रममा राम्रो प्रदर्शन चाहन्छ ।

आरिफ शेख टोलीमा फर्किदा नेपालको तल्लोक्रम ब्याटिङ मजबुत बन्नेछ । दीपेन्द्रसिंह ऐरी फिनिसरको रुपमा हुनेछन् । यता तीव्र गतिका बलर सोमपाल कामी र करण केसीले पावर प्लेमा राम्रो सुरुवात दिलाउनु पर्ने हुन्छ । टोनी उरा र लेगा सिकाया क्रिजमा जमेको खण्डमा नेपाललाई भने भारी पर्नसक्छ । स्पिनरमा ललित नारायण राजवंशी र मौसम ढकाल छन् । अनुभवी ललितले बढी जिम्मेवारी लिनुपर्ने हुन्छ ।

हेड टु हेड :
नेपाल र पपुवा न्युगिनीबीच ओडिआईमा कुल ६ खेल भएका छन् । जसमा नेपाल ४ र पपुवा न्युगिनी २ खेलमा विजयी भएका छन् । नेपालले २०२१ मा ओमान भ्रमणमा दुई खेलको सिरिजमा क्लिनस्विप गरेको थियो । त्यस्तै युएईमा लिग २ का दुवै खेल जित्दा टियुमा दुवै खेल हारेको थियो । ओडिआईमा नेपालको पहिलो क्लिनस्वीप हार समेत थियो ।

लाइभ :

लाइभ नेपालमा कान्तिपुर टेलिभिजनबाट हेर्न सकिनेछ । त्यस्तै फ्यान कोड र आइसिसी टिभीबाट पनि हेर्न सकिनेछ ।

लिग २ मा नेपालको सबै खेल तालिका

मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले मार्च ९ मा टियु क्रिकेट मैदानमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ । जुन लिग २ को अन्तिम खेल समेत हुनेछ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, मौसम ढकाल (श्याम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.