default_image

1 year ago

March 9, 2023

आसिफ र सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालको जित

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । यो जितसँगै शीर्ष तीनमा रहदै सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ ।

सोझै ओडिआई मान्यता निरन्तरता गर्ने सम्भावना मजबुत बनाएको छ । जितको लागि २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २ सय ५४ रनमा अल आउट भयो । पिएनजीका नर्मन भानुवा ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनमा रन आउट भए । दुई रन लिने धुनमा अन्तिम विकेटको रुपमा रन आउट भएका थिए।

पपुवा न्युगिनीले नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि ओपनर टोनी उरा र किप्लिङ डोरिगाले ११.२ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । डोरिगा सिंगल रन लिनेक्रममा दीपेन्द्रको थ्रोमा विकेटकिपर आसिफ शेखबाट रन आउट भए । त्यसपछि भने नेपालले खेलमा सानदार पूनरागमन गरेको थियो ।

ओपनर किप्लिङ डोरिगा ३४ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा रन आउट भए । ओपनर टोनी ४४ बलमा ९ चौकासहित ५० रनमा क्याच आउट भए । उरा स्पिनर सन्दीप लामिछानेको १५ औं ओभरको तेस्रो बलमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।

दीपेन्द्रसिंह ऐरीको १४ औं ओभरको तेस्रो बलमा सेसे बाउ ३ रनमा सोमपाल कामीबाट स्क्वायर लेगमा क्याच आउट भए । दीपेन्द्रले चाल्र्स अमिनीलाई १४ बलमा बोल्ड आउट गरे । सन्दीपले ३३ औं ओभरको दोस्रो बलमा हिरि हिरिलाई ८ रनमा बोल्ड आउट गरे ।

लगत्तै अर्को बलमा चाद सोफर फस्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएपछि सन्दीप ह्याट्रिक नजिक पुगेका थिए । ह्याट्रिक बलमा नर्मन भानुवालाई आउट गर्न भने सकेनन् । कुशल मल्लले कप्तान असद भालालाई ४२ रनमा आरिफ शेखबाट क्याच आउट गराए । उनले ५३ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

सन्दीपको बलमा ठूलो सट खेल्न अघि बढेका राइली हेकुरे २० रनमा स्टम्पिङ आउट भए । नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९.१ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।कुशल मल्लले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिए

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९.१ ओभरमा २ सय ९७ रनमा अल आउट भएको थियो । नेपालले यो आफ्नो ओडिआई इतिहासमा बनाएको सर्वाधिक उच्च योगफल थियो ।

नेपालको ओडिआईमा उच्च योगफल यसअघि २ सय ८७ रन थियो । नामिबियाविरुद्ध दुई साताअघि नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २ सय ८७ रन बनाएको थियो ।

नेपालले ओडिआईमा यसअघि पहिला ब्याटिङ गर्दा टियु मैदानमै गतवर्ष पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा २ सय ७८ रन बनाएको थियो । नेपालको जितमा ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक थियो । आसिफले १ सय १ बलमा १० चौका र २ छक्कासहित शतक पूरा गरेका थिए ।

आसिफ नेपालबाट पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलपछि ओडिआईमा शतक हान्ने नेपालका पाँचौं खेलाडी हुन् । कुशलपछि दोस्रो नेपाली ओपनर हुन् । आसिफ ३८ औं ओभरको चौथो बलमा सेमो कमियाको बलमा मिडअफबाट राइली हेकुरेबाट क्याच आउट भए । शतक बनाउनु अघि आसिफले दुई महत्वपूर्ण जीवनदान पाएका थिए ।

तेस्रो ओभरको चौथो बलमै आसिफले ब्यक्तिगत पाँच रनमा जीवनदान पाएका थिए । चोभार एण्डबाट आएका तीव्र गतिका बलर सेमो कमियाको बलमा एज लागेपनि फस्ट स्लिपमा सेसे बाउले क्याच ड्रप गर्न पुगेपछि आसिफले सुरुवातमै जीवनदान पाएका थिए ।

आसिफले नवौं ओभरको पाँचौं बलमा पुनः ब्यक्तिगत २२ रनमा जीवनदान पाए । पपुवा न्युगिनीका फिल्डरले पुन क्याच छाड्न पुगेका थिए । त्यस्तै आसिफले ओडिआई करिअरको एक हजार रन पनि पूरा गरेका छन् । उनी रोहितपछि ओडिआईमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी हुन् ।

ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौकासहित ४५ रनमा क्याच आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १८.४ ओभरमा १ सय १० रनको शतकीय साझेदारीका साथ सानदार सुरुवात दिलाएका थिए । हेकुरेकै बलमा ठूलो सट खेलेका कुशल मल्ल दुई रनमा क्याच आउट भए । ज्ञानेन्द्र मल्ल पनि हेकुरेको बलमा असद भालाबाट ११ रनमा क्याच आउट भए ।

चौथो विकेटका लागि रोहित पौडेल र आसिफ शेखले ६७ रनको साझेदारी गरेका थिए । रोहित ठूलो सट खेल्ने धुनमा ३९ बलमा २ चौका र १ छक्कासहित ३० रनमा क्याच आउट भए । दीपेन्द्रसिंह ऐरी ७ रनमा रन आउट भए । सन्दीप लामिछाने ७ रनमा आउट भए । आरिफ शेख १५ रनमा आउट भए । भीम सार्की ३८ बलमा ४ चौकासहित ४४ रनमा आउट भए ।

पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमो कमियाले ९.१ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिएपनि टोलीको हार भने टार्न सकेनन् । राइली हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए ।

नेपालले अव आइतबार युएई, सोमबार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ । नेपाल शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । एक खेल हारेको खण्डमा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । ओडिआई मान्यता सोझै जोगाउन नेपालले अव तीन मध्य एक खेल जित्नुपर्ने हुन्छ ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३३ खेलमा ४ मा जित र २८ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसिबि प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स (आरसिबि) इंडियन प्रिमियर लिग (आईपिएल) प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसिबि प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसिबिले त्यसपछिका लगातार ६ खेल जित्दै चौथो स्थानमा रहन […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.