2 years ago
September 29, 2023
भुपेन्द्र जिसी, काठमाडौं
बायाँ हाते युवा ब्याटर कुशल मल्लले चीनको जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा मंगोलियाविरुद्ध ३४ बलमै शतक हाने । टि२० आई क्रिकेट इतिहासमा कुनैपनि ब्याटरले प्रहार गरेको त्यो सर्वाधिक छिटो शतक हो । उक्त विश्व कीर्तिमान बनाउन कुशलले आफूले टेलिभिजनमा हेर्ने स्टार क्रिकेटरको इतिहास भङ्ग गरेका थिए ।
भारतीय कप्तान रोहित शर्मा र दक्षिण अफ्रिकी विष्फोटक ब्याटर डेविड मिलरको कीर्तिमान उनले तोड्दै नयाँ इतिहास लेखाएका हुन् । तेस्रो नम्बरमा टि२० आईमा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने ब्याटरको अर्को कीर्तिमान लेखाए ।
कुशल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा नटआउट रहे । तेस्रो नम्बरमा एक ब्याटरले बनाएको टि२० आईको उच्च योगफल हो ।
उनले न्युजिल्यान्डका पूर्वकप्तान ब्रेन्डन म्याककुलमको सन् २०१२ मा बंगलादेशविरुद्ध १ सय २३ रनको कीर्तिमान तोडेका हुन् । कुशलले १९ वर्षकै उमेरमा तीन विश्व कीर्तिमान कायम बनाई सकेका छन् । उनी ओडिआईमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी समेत हुन् ।
उनले २०२० मा आइसिसी विश्वकप लिग-२ मा अमेरिकाविरुद्ध १५ वर्ष ३ सय ४० दिनमा अर्धशतक बनाएका थिए । कुशलले २०१९ मा रोहित पौडेलले युएईविरुद्ध बनाएको १६ वर्ष १ सय ४६ दिनको कीर्तिमान तोडेका थिए । कुशल नेपालबाट कुनैपनि खेलमा सर्वाधिक छिटो शतक बनाउने ब्याटर समेत हुन् । उनले ओडिआईमा ५९ बलमा एसिसी प्रिमियर कपमा ओमानविरुद्ध शतक हानेका थिए ।
ओडिआईमा नेपाली ब्याटरले हानेको सर्वाधिक छिटो शतक हो । उनी अघि रोहितले ९१ बलमा पपुवा न्युगिनीविरुद्ध शतक हानेका थिए । टि२० आईमा कुशल अघि पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ४९ बलमा शतक हानेका थिए । पारस टि२० आईमा शतक हान्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।
कुशल नेपालका पूर्व सफल अलराउन्डर शक्ति गौचनको प्रशिक्षणमा बाल्यकाल देखि नै सिक्दै निखारिएका युवा प्रतिभा हुन् । शक्तिले बुटवलको होराइजन स्कुल र भैरहवामा रहेको आफ्नो स्टार क्रिकेट एकेडेमीमा उनलाई प्रशिक्षण दिएर हुर्काएका हुन् । शक्ति कुशलको प्रदर्शनबाट त्यतिनै खुसी छन् ।
‘आफ्नै चेलाले प्रदर्शन गर्दा खुसी लाग्छ । कुशलको यो मिहिनेतको फल हो । अझै राम्रो गरोस् भन्ने मेरो चाहना छ’, शक्तिले भने, ‘आफैंले सानै देखी सिकाएको बच्चालाई मैले एउटा छोरो जस्तो मानेर ग्रुम (विकास) गरेको हुँ । एउटा आमा बुबालाई छोराछोरीको सफलतामा जुन खुसी हुन्छ मेरो लागि पनि त्यहिँ नै हो ।’
कुशल गत फागुनमा मोन्टी देशाई मुख्य प्रशिक्षक बनेर आउनु अघि उनी ठूलो स्कार गर्न चुकेका थिए । उनी झण्डै एक वर्ष टोली बाहिर बसेर पूनरागमन गरेका थिए । तर आइसिसी विश्वकप लिग -२ का अन्तिम तीन त्रिकोणात्मक सिरिजमा कुशलले सानदार प्रदर्शन गरे । जित्नै पर्ने खेलमा उनले स्कटल्यान्डविरुद्ध ८१ र नामिबियाविरुद्ध ६२ रन बनाएका थिए ।
मोन्टीले अव कुशलले शक्तिको लागि एक वर्ष भित्रमा शतक प्रहार गर्ने बताएका थिए । एक महिनापछि एसिसी प्रिमियर कपमा कुशलले ओमानविरुद्ध ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए ।
उक्त खेलमा नेपालको सरुवात सम्झन लायक थिएन । २७ बलमा पहिलो रन जोड्दा दुबै ओपनरलाई सुरुवातमै गुमाएको थियो । खराब सुरुवातबाट कुशलले ५९ बलमै शतक हान्दै नेपाललाई ३ सय १० रन सम्म पुर्याएका थिए ।
उनी लयमा फर्किन मोन्टी, कप्तान रोहितसँगै शक्ति र भिभियन रिचर्ड्सको साथ पनि त्यतिनै महत्वपूर्ण छ । २०२२ अक्टोबरमा कुशल पाकिस्तान यू१९ जुनियर लिगमा ग्वादर शार्कमा सम्मिलित थिए । खेल्ने मौका नपाएपनि प्रशिक्षक भिभियन रिचर्ड्ससँग सिक्ने अवसर पाए ।
वेस्टइन्डिजका महान् ब्याटर रिचर्ड्सको स्वभाव पनि आक्रामक ब्याटिङ नै हो । विश्व क्रिकेटमा आक्रामको सुरुवात गर्ने ब्याटरमा पर्दथे । रिचर्ड्ससँगको भेट, प्रशिक्षण र अनुभवले प्रदर्शनमा सुधार गर्न सहयोग मिलेको कुशलले ओमानविरुद्ध शतकपछि भनेका थिए ।
खराब लयमा हुँदा शक्तिले कुशललाई आफूमा विश्वास राख्न सुझाव दिएका थिए । ‘उसले मिहिनेत त गरि राखेको थियो । तर नतिजा आएको थिएन । मैले त्यो समय उसलाई आफ्नो काम गरि राख्न सुझाव दिए । प्रोसेसलाई निरन्तरता दिन भनेको थिए । आफ्नो पावर हिटिङमा विश्वास राख्न भनेका थिए । समय आउँछ । त्यहिँ अनुसार मिहिनेत गयौं । नतिजा बिस्तारै देखिदै गएको छ’, शक्तिले कुशल खराब लयमा हुँदाको बारे भने ।
शक्तिका अर्का चेला स्पिनर सुशन भारी पनि कीर्तिमानी टोलीका सदस्य हुन् । आइसिसी विश्वकप लिग-२ मा २०२० मा नेपालले अमेरिकालाई ओडिआई इतिहासकै सबैभन्दा कम ३५ रनमा अल आउट गर्दा उनको प्रदर्शन त्यतिनै महत्वपूर्ण थियो । त्यो सिरिजमा सुशनले दमदार प्रदर्शन गरेका थिए ।
अमेरिकाविरुद्ध उनले ३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ४ विकेट लिएका थिए । विशेषगरी सन्दीप लामिछानेसँगको साझेदारी मज्जाले जमेको थियो । तर पछि उनले टोलीमा निरन्तर खेल्ने मौका पाउन सकेनन् । २०२२ जुनमा अमेरिका भ्रमणपछि सुशन टोलीमै छैनन् । अहिले पनि सुशन शक्तिसँगै स्टार क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्दै आएका छन् । शक्ति सुशन टोलीमा राम्रो गर्दा पनि मौका नपाएको बताउँछन् ।
‘उसलाई राष्ट्रिय स्तरको प्रतियोगिता चाहिँएको छ । प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने स्पिनर भएकै हो । छनोट समितिले त्यो कुरालाई कसरी लियो थाहा भएन । एउटा सिनियर खेलाडी हुँदा ब्याक गर्नुपर्छ । कम्तिमा २५ खेलाडीमा राख्नुपर्छ भन्ने मेरो बुझाई हो । वर्षमा एउटा मात्रै प्रतियोगिता हुन्छ । त्यसमा देखायो भने देखायो । नत्र सकियो । देखाउँदा पनि बीचमा धेरैकुरा देखियो । अव आउने छनोट समितिले त्यो कुरालाई ख्याल गर्नुपर्छ’, सुशनको बारे उनले भने ।
सुशनले मिहिनेत गरि राख्नु पर्ने उनी बताउँछन् । ‘उसले मिहिनेत गरि राख्नुपर्छ । मैले यति राम्रो गर्दा टोलीमा नपर्दा दुःख लाग्छ सर भन्छ । राम्रो गर्दै गर्दै नपरेपछि जसलाई पनि दुःख लाग्छ । टोलीमा पूनरागमन गराउन म आफ्नो तर्फबाट प्रयास गर्छु । मिहिनेत गरि राखेको छ । त्यो देखाउन कुनै प्रतियोगिता त हुनु पर्यो नि । पारस खड्का सचिवमा आएको छ । अव घरेलु क्रिकेट लगायत सबैमा पहिला भन्दा राम्रो हुन्छ भन्ने विश्वास छ’, शक्तिले भने ।
कुशल नेपालमा उमेर समूह यू१६, यू१९, घरेलु प्रतियोगिता, फ्रेन्चाइज लिग हुँदै सिनियर टोलीमा परेका हुन् । कुशल बाल्यकाल देखिनै ठूला सट प्रहार गर्न चर्चित थिए । शक्तिले होराइजन स्कुल बुटवलमा प्रशिक्षण दिँदा कुशललाई भेटाएका थिए ।
‘उसलाई देख्दा सान दै देखि क्षमतावान् खेलाडी भएको मलाई अनुभव हुन्थ्यो । यसलाई ग्रुम गर्न सके नेपाललाई राम्रो क्रिकेटर बनाउन सक्छु भन्ने विश्वास थियो । त्यहिँ अनुसार मिहिनेत पनि गर्यो । भाग्यले पनि साथ दियो । सबै कुरा एकै ठाउँमा आएर जोडियो’, शक्तिले भने ।
कुशल नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर पनि बनेका छन् । उनले २०२२ मा रोहित पौडेलको १ सय २६ रनको कीर्तिमान तोडेका थिए । कुशल भर्खर १९ वर्षकाका छन् । यो उनको सुरुवात मात्रै हो । आगामी दिनमा कुशलको राष्ट्रिय र विश्व कीर्तिमानको थपिन सक्छ । त्यसको लागि उनले यो भन्दा अझ धेरै मिहिनेत गर्नुपर्छ ।
कुशलको क्रिकेट जीवनी पढ्नुहोस् : ‘कुशल’ करामत!
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तिरहुत टाइगर्सले लगातार दोश्रो पटक सप्तरी प्राइड लिग को उपाधि जितेको छ। टाइगर्सले बिहिवार भएको फाइनलमा राजविराज राजदेवी रोयल्स लाई ९ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा ९३ रनको सामान्य लक्ष्य तिरहुतले १५.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो। टाइगर्सका ओपनर भोला […]
July 16, 2025
एजेन्सी – जिम्बाब्वेमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकामाथि जित हासिल गरेको छ । हरारे स्पोर्टस क्लबमा बुधवार न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको हो । १ सय ७४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८.२ ओभरमा १ सय ५२ रनमा समेटियो । दक्षिण अफ्रिकाका डिवाल्ड ब्रेभिस १८ बलमा १ […]
July 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सले धनगढीस्थित एसपिए कलेजसँगको सम्झौता नवीकरण गरेको छ । एसपिएका प्रबन्ध निर्देशक सुवास शाही र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले बिहिवार सम्झौतामा हस्ताक्षर गरे । एसपिएले नेपालमा क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणामा धनगढी प्रिमियर लिग (डिपिएल) आयोजना गरेको थियो । यसबाहेक […]