default_image

1 year ago

March 2, 2024

लगातार दोस्रो जितसँगै नेपाल फाइनलमा

13339 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै फाइनलमा स्थान बनाउन सफल भएको छ ।

टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल सिरिजको दोस्रो जित दर्ता गर्न सफल भएको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको सामान्य लक्ष्य १५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लियो ।

नेदरल्यान्ड्सले दिएको लक्ष्य १५ ओभरभित्र पूरा गरे नेपाल रनरेटमा नेदरल्यान्ड्सभन्दा अघि बढ्ने समीकरण रहेको थियो । यसमा सफल नभएपनि पोजिटिभ रन रेट भएपछि नेपाल १ खेल अगावै फाइनल पुगेको हो । अंक तालिकाको शीर्ष दुई टोली फाइनल पुग्ने प्रावधान रहेको छ ।

हाल अंक तालिकामा नेपाल र नेदरल्यान्ड्सको ४-४ तथा नामिबियाको २ अंक छ । आजको जितले नेपालको रनरेट पोजेटिभ भएको हो । अब आइतबार लिगको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् । उक्त खेलको नतिजाले मंगलबार हुने फाइनल खेल्ने अर्को टोलीको टुंगो लाग्नेछ ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेल र गुलशन झाले तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै जितको आधार तयार पारे ।

गुलशनले ३६ बलमा ३८ रनको योगदान दिए । १४ औं आर्यन दत्तबाट बोल्ड हुनुअघि उनले २ चौका र १ छक्का प्रहार गरेका थिए ।

रोहितले ३३ बलमा ४६ रन जोडे । उनले ३ चौका र १ छक्का प्रहार गरे । उनी किंग्माले फालेको १५ औं ओभरको तेस्रो बलमा क्याच आउट भएका थिए ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख दुवै एकै ओभरमा आउट भएपछि नेपाल केहि समस्यामा परेको थियो । किंगमाले तेस्रो ओभरको तेस्रो बलमा कुशललाई १२ रनमा क्याच आउट गराए । त्यसपछि आसिफ पाँचौ बलमा ८ रन जोडेको अवस्थामा बोल्ड भए । त्यसपछि गुलशन र रोहितले बलियो साझेदारी निर्माण गर्दै नेपाललाई जित दिलाए ।

त्यसअघि नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुनुअघि १ सय २० रन जोड्यो । पहिलो ओभरमै दुई विकेट गुमाएको नेदरल्यान्ड्सले तेस्रो विकेटका लागि संयमित साझेदारी पाएको थियो । तर मध्यक्रममा प्रतिश जिसी र कुशल मल्लले लगातार २-२ विकेट लिएपछि नेदरल्यान्ड्सको मध्यक्रम ध्वस्त भएको थियो ।

नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाए । रोलफ भान डर मर्वले तल्लोक्रममा नटआउट २३ रनको योगदान दिए । उनले १४ बलमा १ चौका र १ छक्का जोडे ।

नेपालका प्रतिश जिसीले समग्रमा ३ विकेट लिँदा करण केसी र कुशल मल्लले २-२ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । अन्तिम विकेट कुशल भुर्तेलको थ्रोमा रनआउट भएको थियो ।

करण केसीले इनिङको पहिलो ओभरमै २ विकेट लिएर नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

करणले चौथो बलमा माइकल लेभिटलाई दिपेन्द्र सिंह ऐरीको बलमा मिड अफमा क्याच गराए । लेभिटले दोस्रो बलमा चौका प्रहार गरेका थिए । त्यसको दुई बलपछि साइब्रान्ड एंगलब्रेक्ट कट बिहाइन्ड भए ।

इनिङको नवौं ओभरमा प्रतिशले डच कप्तान स्कट एडवार्ड्स र ओपनर म्याक्स ओ डाउडको विकेट लिए । यी दुईले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।

पहिलो बलमा एडवार्ड्सलाई बोल्ड गरेका उनले पाँचौ बलमा म्याक्सलाई पेभेलियन फर्काए । स्कटले २१ बलमा १ छक्कासहित १८ रन जोडे । म्याक्स २४ बलमा ४ चौका र १ छक्कासहित ३१ रनमा आउट भए ।

दशौं ओभरमा कुशल मल्लले नोआ क्रोस र आर्यन दत्तको विकेट लिए । पाँचौ बलमा क्रोस ६ बलमा ३ रन जोडेका उनी स्विप सट खेल्ने धुनमा फाइन लेगमा अभिनाश बोहोराको हातबाट समातिए । लगत्तै दत्त अर्को बलमा बोल्ड भए ।

कुशलले १५ औं ओभरको तेस्रो बलमा तेजालाई बोल्ड गरे । उनले १४ बलमा ५ रन जोडेका थिए । १८ औं ओभरमा दीपेन्द्रसिंह ऐरीले टिम भान डर गुग्टेनलाई क्याच आउट गराए । उनले २५ बलमा २४ रनको योगदान दिए । लगत्तै गुलशन झाले डाइरेक्ट हिटमा काइल क्लेइनलाई खाता नखोली रनआउट गरे ।

अन्तिम ओभरको तेस्रो बलमा कुशल भुर्तेलले सानदार फिल्डीङ गरे । भान डर मर्वले स्ट्रेटतर्फ खेलेको सट बाउन्ड्रीमा उफ्रेर छक्का जोगाएका उनले त्यसपछि किंग्माको रनआउट सम्भव बनाएका थिए ।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका थिए । नेपालले आजको खेलमा १ परिवर्तन गरेको छ । अनिल शाहको स्थानमा कुशल भुर्तेल टोलीमा आएका छन् ।

आजको खेलमा नेपालले जित हासिल गरे फाइनलमा स्थान बनाउने बलियो सम्भावना हुनेछ । हारको खण्डमा भने भोली हुने नेदरल्यान्ड्स र नामिबियाको नतिजा पर्खनुपर्नेछ ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख

नेदरल्यान्ड्सको टोली :

म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट, नोआ क्रोस, काइल क्लाइन, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन

June 17, 2025

तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले नेपाललाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन जोडेपछि खेल सुपर ओभरमा धकेलियो । सुपर ओभरमा नेपालले १९ रन जोड्दा जवाफमा नेदरल्यान्ड्सले पनि १९ […]

June 16, 2025

नेपाललाई नेदरल्यान्ड्सको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सबाट १ सय ५३ रनको प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन जोड्यो । नेदरल्यान्ड्सका लागि मध्यक्रमका ब्याटर तेजा निदामनुरुले […]

June 16, 2025

नेपाली टिममा किरण र रुपेशको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि डेब्यु गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्डमा जारी टि२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तर्गत आज आफ्नो पहिलो खेल खेल्दैछ । उक्त खेलमा किरण र रुपेशले पहिलो पटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न लागेका हुन् । मध्यक्रममा आक्रामक ब्याटिङ गर्ने […]

Success

Thank you for your time.