default_image

1 year ago

November 30, 2024

खेलको दर्शक व्यवस्थापनमा ‘नयाँ’ क्यान पनि ‘फेल’

3125 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली क्रिकेटको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपिएल) कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारबाट सुरु भयो । आयोजना हुनुअगावै बेग्लै माहोल बनाउन सफल प्रतियोगिताको पहिलो दिन दर्शक व्यवस्थापनमा भने क्यान नराम्रोसँग चुक्यो ।

टियु मैदानमा टिकट किनेर खेल हेर्न पुगेका ८ जना घाइते भएर अस्पताल भर्ना भएका छन् । जसमध्य २ जनाको अवस्था गम्भीर रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । टिकट खरिद गरेका सयौं दर्शक त खेल हेर्न नपाएर दुखका साथ घर फर्कनुपर्यो । र क्यानले पुन: एकपटक नेपाली क्रिकेटको सबैभन्दा बलियो खम्बा रहेका दर्शकलाई निराश तुल्याएको छ ।

नेपाली क्रिकेटलाई नयाँ युगतर्फ धकेल्ने महत्त्वका साथ हेरिएको लिगमा मैदानभित्र खेल्ने खेलाडी अनुबन्धन होस् या मैदान वरपर रहने प्रायोजकले पाउने स्पेस, आयोजक क्यानले यसमा निकै मिहिनेत र लगानी गरेको देखियो । भीआइपी क्षेत्र निर्माण गरेर क्यानले दर्शकलाई फरक टिकट दर तोकेर श्रेणी पनि छुट्टयायो । साधारणतर्फ पनि बार लगाएर जोन अनुसार टिकट विक्री गर्यो । तर पछिल्लो एक दशकयता सबैभन्दा बिकराल रहेको मैदान बाहिरबाट हुल बाँधेर दर्शक भित्र छिर्ने समस्यालाई भने क्यानले रोक्न सकेन । साधारणतर्फ १० हजार र भीआइपीमा २ हजार दर्शक क्षमता भनेपनि टियू मैदानभित्र १५ हजार भन्दा बढी र मैदानबाहिर हजारौं उपस्थित थिए ।

लिगको पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हरायो । विश्वकपको फाइनल खेलेका मार्टिन गप्टिलको संयमित ब्याटिङबाट सुरु भएको खेल जनकपुरका लाहिरु मिलान्थाको आकर्षक सटले भरिएको विजयी इनिङसँग अन्त्य भयो । तर यसबीचमा मैदानबाहिर दर्शकदिर्घामा भने पटक पटक संकटको अवस्था आयो । अझ चोभारतर्फ रहेको जोन-२ मा ज्यान बचाउन भागाभागकै अवस्था सिर्जना भयो ।

त्यसो त विहानदेखि नै क्यानले टियु प्रवेश गर्ने बल्खु र कीर्तिपुर दुवै तर्फको द्वारमा निषेधाज्ञा जस्तै लगाएको थियो । तर यो निषेधाज्ञा सवारी साधनलाई मात्र थियो । प्रहरीले सवारी निषेध गरेपनि हुलदंगाको प्रमुख कारण, टिकट नभएका दर्शक रोक्न भने कसैको ध्यान थिएन । बरु प्रतियोगितामा काम गर्न अधिकारिक कार्ड प्राप्त गरेका व्यक्तिहरुलाई मैदानसम्म पुग्न भने हरसम्भव प्रयास प्रहरीको थियो । दुवै द्वारमा ड्युटीमा खटिएका प्रहरीलाई राम्रो ब्रिफिङ नहुँदा समस्याको प्रमुख कारण सुल्झन सकेन ।

क्यानले अधिकारिक टिकट विक्री गर्ने अधिकार दिएको खल्तीले २ दिनअघि नै सबै टिकट विक्री भएको सूचना जारी गरेको थियो । क्यान सचिव पारस खड्काले पनि आफ्नो सामाजिक संजालमार्फत सबै टिकट र पास सकिएकाले टिकट नहुने दर्शकलाई घरमै बसेर खेल हेर्न अनुरोध गरेका थिए । तर उनको स्ट्याटसले काम गरेन ।

टिकट विक्रीको अधिकार पाएको खल्तीले अनलाइन टिकट विक्री गरेपनि मैदाननजिक पुगेपछि पुन: काउन्टरमा गएर फिजिकल टिकट लिएर मात्र मैदान प्रवेश गर्ने प्रावधान बनाएको थियो । यसले पनि टिकट खरिद गरेका दर्शकलाई थप समस्या पैदा गर्यो । एक त भिडभाड, त्यसमाथि सिमित सुरक्षा दस्ता हुँदा खेल सुरु हुनुभन्दा ३ घण्टाअघि नै टियु परिसरमा अनावश्यक भिडभाड बढेको थियो ।

अझ टिकट खरिद गरेर पनि हेर्न नपाएका केही समर्थकका अनुसार त खल्तीका प्रतिनिधिले पैसा तिरेर नै काउन्टरबाट फिजिकल टिकट विक्री गरेको आरोप सामाजिक संजालमा लगाएका छन् । अनलाइन टिकट विक्री गरेकाले गेटमा स्क्यान गरेर मैदान छिर्ने व्यवस्था गर्नुपर्नेमा पुन: फिजिकल टिकट लिन बाध्य गराउनुमा पनि खल्तीको बदनियतमाथि शंका गर्न बल पुग्छ ।

खल्ती र टिकट व्यवस्थापनमा समस्या भएको यो पहिलो पटक भने होइन । अघिल्लो महिना मात्र साफ महिला च्याम्पियनसिपमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध भएको सेमिफाइनलमा तोकिएको भन्दा बढी टिकट विक्री गरेको भन्दै टिकट अधिकार पाएको माउन्ट एभरेष्ट र खल्तीको अधिकार रद्द गरेको थियो ।

फाइनलका लागि एन्फाले टिकट विक्री नगर्नु भनेपनि खल्तीले आफैं टिकट विक्री गरेपछि समस्या उत्कर्षमा पुगेको थियो । पछि फाइनलको दिनमा एन्फाले आफैं टिकट विक्री गर्ने घोषणा गरेपछि खल्तीबाट टिकट बुक गरिसकेका र लाइन बसेर एन्फाको अफलाइन टिकट किन्न पुगेका बीच झडपको स्थिति नै सिर्जना भएको थियो ।

खल्ती मात्र नभएर, अन्य टिकट विक्रेता हुँदा पनि समस्या थियो, तर यो हदसम्म होइन । कि त अनलाइन स्क्यान गर्ने कि त फिजिकल टिकट नै यकिन संख्यामा बेच्दा एक हदसम्म भिड नियन्त्रण हुन्छ । तर यहाँ अनलाइन टिकट खरिद गरेर, पुन: फिजिकल टिकट लिन अर्को लाइन बसेर मैदान पस्नुपर्ने बनाउँदा टिकट किन्नेलाई सुविधा भन्दापनि सास्ती दिने काम भएको छ । अझ जोन २ को टिकट लिन पुगेका प्रत्यक्षदर्शीका अनुसार फिजिकल टिकट लिने क्रममा क्युआर नै स्क्यान नगरी टिकट वितरण सम्म भएको देखियो । जसका कारण विक्री भएको टिकट भन्दा बढी भिड जम्मा भएको थियो ।

नेपाली क्रिकेटमा समर्थक नै सबैभन्दा बलियो खम्बा हुन्, त्यो हाल क्यानका सचिव पारस खड्काभन्दा सायदै अरुले धेरै बुझेका छन् । पूर्व कप्तान रहिसकेका उनले समर्थकको उपस्थितिले कतिको महत्त्व राख्छ र यो कति ठूलो सम्पति हो भन्ने विश्वभर क्रिकेट खेल्दा र अहिले पदमा पुग्दा अझ राम्रोसँग बुझेको हुनुपर्छ । क्यानमा नयाँ नेतृत्व आएपछि धेरै सकारात्मक परिवर्तन भएका छन्, तर दर्शक व्यवस्थापनको पक्षमा भने क्यान पुन: एकपटक नराम्रोसँग चुकेको छ ।

मैदानभित्रको खेल अझ राम्रो स्तरको देखाउन भारतबाट दर्जनौंको संख्यामा व्यावसायिक व्यक्तिहरु अनुबन्ध गरिएको छ । यसले नेपाली क्रिकेटलाई विश्वमाझ अझ व्यापक रुपमा देखाउन मद्दत गर्छ । आर्थिक रुपमा आयआर्जनसँगै खेलाडीलाई विश्वमाझ परिचित गराउन सहयोग पुग्ने यस पक्षमा क्यानले मोटो खर्च गरेको छ, र भविष्यमा यसबाट राम्रो आम्दानी पनि हुन्छ । यो सकारात्मक पक्षलाई अन्य क्षेत्रमा पनि अबलम्बन गर्न आवश्यक छ ।

त्यसो त क्यानले नेपाल सरकारले बन्देज गरेको सट्टाबाजीको विज्ञापन गर्न सरोगेट विज्ञापनमार्फत ‘वल्फ७७७ न्युज’ नामक संस्थाको विज्ञापन पनि मैदानमा राखेको छ । समाचार साइट भनेपनि ९ महिनायता कुनै समाचार नराखिएको यस वेबसाइट प्रत्यक्ष प्रसारणमा सट्टाबाजी गर्ने वेबसाइटको विज्ञापन देखाउन प्रयोग भएको छ । विगतमा विवादित नेपाल टि२० लिगमा पनि यस्ता सरोगेट साइटको प्रयोग हुँदा नेपाली क्रिकेटमा धेरै विवादास्पद घटनाले खेल्ने स्थान पाएका थिए । फुटबलको नेपाल सुपर लिगमा भने पहिलो दिन यस्तै प्रकृतिको संस्था देखिएपनि त्यसलाई तुरुन्त हटाइएको थियो । क्यानले सरकारले राखेको नियम विपरित गएर काम गर्न निकै ध्यान दिएको छ, तर न्यूनतम आवश्यक सुरक्षाको पक्षमा भने अझै जोड नदिएको भान हुन्छ ।

नेपाली क्रिकेटलाई सधैं साथ दिने, आर्थिक आर्जनमा पनि बलियो भूमिका खेल्ने समर्थक व्यवस्थापनमा भने स्थानीय स्रोतमै क्यान अल्झिएको छ । नेपालमा भएका खेल प्रतियोगितामा पटक पटक चुक्दै आएको सुरक्षा निकायमै भर पर्नुले पनि क्यानमाथि प्रश्न उठाउने ठाउँ छ । संख्यामा ठूलो भएपनि उपयुक्त रुपमा प्रयोग नहुँदा र स्पष्ट निर्देशनका साथै आवद्ध पक्षबीच समन्वय नहुँदा एक आपसमै असमन्जसको स्थिति टियु परिसरमा प्रष्ट देखिन्छ ।

खेलकुदमा आएका दर्शक र आन्दोलनमा जम्मा भएको भिड व्यवस्थापन गर्न एकै जनशक्ति प्रयोग गर्नु कुनै हालतमा उचित होइन । यसका लागि नेपालमा पनि प्रशस्त सेवा दिने संस्था छन्, हुनसक्छ अब क्यानले त्यसमा पनि लगानी गर्ने बेला आएको छ । खर्च होइन लगानी भनौं, किनकि समर्थकलाई सुरक्षित महसुस गराउनुहुन्छ भने मात्र पुन: मैदान फर्केर खेल हेर्न आउनेछन् ।

टियु मैदानमा आज कतिले आफ्नै अघि हृदयविदारक दृश्य देखेको बताउँदै सामाजिक संजालमा लेखेका छन् । आखिर आफ्नो ज्यानमा जोखिममा हालेर मनोरंजन लिन को जान चाहन्छ र ? समयमै सचेत नहुने हो भने स-साना चिरा पर्न थालेको यो खम्बा पल्टिएर क्यान आफैंलाई थिच्न सक्छ, बेलैमा सहि कदम चालौं ।

सामाजिक संजालमा व्यवस्थापनको त्रुटीबारे असन्तुष्ट समर्थकहरुको भनाइ:

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.