default_image

1 year ago

December 6, 2024

जसले सेलेब्रेसन कै कारण नेपालको खेल गुमाए

12712 views

0 Bookmark

भुपेन्द्र जि.सी.

खेलकुदमा खेलाडीले सेलेब्रेसन खुसी मनाउन गर्दछन् । दुर्भाग्यपूर्ण कहिलेकाहीँ त्यो सेलेब्रेसन आफैंलाई घातक बन्नसक्छ । युएईमा जारी एसिसी यू-१९ एसिया कप २०२४ मा नेपाल र बंगलादेशबीचको खेलकोक्रममा त्यस्तै भयो । तर धेरै समर्थकको ध्यान नेपाल प्रिमियर लिग (एनपिएल) मा हुँदा त्यो घटनाले खासै चर्चा पाएन ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार १ सय ४२ रनको लक्ष्य पछ्याएको बंगलादेशविरुद्द लेग स्पिनर युवराज खत्रीले २८ औं ओभरको पाँचौ र अन्तिम बलमा लगातार दुई विकेट लिए ।

२७.४ ओभरमा १३४-३ को अवस्थाबाट पाँचौं बल फरिद हसनले विकेटकिपरको पछि सट खेल्न खोज्दा मिस भएपछि अफ स्टम्पमा बल लाग्न पुग्यो। युवराजले त्यो विकेटमा आफ्नो जुत्ता खोलेर फोन गरेको सेलेब्रेसन गरे ।

लगत्तै अर्को बलमा उनले मोहम्मद रिजन हसनलाई शून्यमा एलबिडब्लू आउट गरे । दोस्रो विकेटमा सेलेब्रेसन फरक थियो । दुवै हात फिजाउदै दौडिन थाले । आफ्ना सहकर्मी अभिषेक तिवारीसँग हात मिलाएका उनी त्यतिमै रोकिएनन् । केहि दौडिए र फेरि जम्प गरे । कप्तान हेमन्त धामीसँगै अन्य खेलाडीसँग उक्त विकेटको थप खुसी मनाउन थाले ।

पछाडिबाट अघि फर्किदै जमिनमा टेक्न खोज्दा देब्रे खुट्टा स्पाइक चिप्लियो । त्यसपछि मैदानमा पल्टिए । उनको खुसी एक्कासी पिडामा बदलियो । साथीसँग खुसीमा सेलेब्रेसन गरेका उनलाई उपचार गर्न फिजियो मैदान आउनु पर्यो । फिजियो विक्रम न्यौपानेले प्राथमिक उपचार गरे । तर खेल्न नसकेपछि सहकर्मीको सहायतामा मैदान छाडे ।

उनले मैदान छाडेको चार बल अर्थात् २८.४ ओभरमा नेपाल ५ विकेटले पराजित भयो । नेपालले हारेपनि बंगलादेशविरुद्ध युवराजले ६ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिएका थिए । खेल सकेको एक घण्टापछि टिम मिटिंग भयो । उनको चोट लागेको देब्रे खुट्टा सुनिदै र दुख्दै गयो । त्यसपछि बल्ल उनले अब खेल्न नसक्ने सोच्न थाले ।

आइसिङ, टेपिङ गर्दा पनि खुट्टा पटक्कै ठिक भएन । त्यसपछि त उनले अफगानिस्तानविरुद्धको खेलको आशा मारे । नभन्दै उनले बुधबार भएको अफगानिस्तानविरुद्ध खेल गुमाए । रामोञ्चक लो स्कोरिङ १ सय २४ रनको लक्ष्य नेपालले ५१ बल अघि ९ विकेट गुमाउँदै पूरा गर्यो ।

‘विकेट लिएपछि खुसी लागिहाल्छ । तर सेलेब्रेसन गर्दा त्यस्तो हुन्छ भनेर मैले कल्पना गरेको थिएन । स्पाइक चिप्लिदा ट्वीस्ट भयो’, युवराजले हाम्रो खेलकुदसँग भने ।

पहिलो पटक यू-१९ टोलीमा परेका १७ वर्षीय उनले बिहीबार श्रीलंकासँग डेब्यू गर्दै १० ओभरमा १ मेडनसहित ४४ रन खर्चेर २ विकेट लिए । यसै वर्षको सुरुवातम यू-१९ विश्वकप खेलेका कप्तान हेमन्त धामीसँगै आकाश त्रिपाठी, अर्जुन कुमाल, उत्तमथापा मगरले सम्झाई बुझाई गर्दा पहिलो पटक टोलीमा परे जस्तो दबाब लिनु परेन । अझ मुख्य प्रशिक्षक शक्ति गौचनको प्रशिक्षणबाट धेरै कुरा सिक्न पाएको बताउँछन् ।

‘यू-१९ एसिया कपमा मेरो राम्रो अनुभव रह्यो । नयाँ नयाँ कुरा सिक्न पाइयो । शक्ति सरबाट धेरै कुरा सिक्न पाइयो । विश्वकप खेलेका खेलाडीबाट पनि राम्रो अनुभव रह्यो’, उनले भने ।

दुई खेलमा ६ विकेट लिएका उनी टिमले नजित्दा त्यति खुसी भने छैनन् । ‘मेरो राम्रो भन्दा पनि टिमले सुरुवाती दुई खेल जितेको भए धेरै राम्रो हुन्थ्यो’, उनले भने ।

नेपाली टोली बिहीवार राती स्वदेश फर्कियो । स्वदेश फर्केलगत्तै विस्तृत परिक्षण गरेपछि उनले केही साता खेलबाहिर रहनुपर्ने देखिएको छ । क्यानका फिजियो विक्रम न्यौपानेका अनुसार युवराजको चोट गम्भीर भने रहेको छैन ।

‘एमआरईको रिपोर्टले लिगामेन्टमा सामान्य समस्या देखाएको छ । अब सुन्निएको भाग बसेपछि हामीले रिह्याब सुरु गर्छौं । यो महिनाभित्रमा मैदान पूर्ण रुपमा फर्कनुहुन्छ । विश्वकप छनोटका लागि कुनै डर छैन,’ न्यौपानेले भने ।

अछाम पायलमा जन्मिएका ७ वर्षअघि काठमाडौं आउँदै बुबा लोकेन्द्र खत्रीले सञ्चालन गरेको एन्जल्स क्रिकेट एकेडेमी (बालाजु) मा सिक्न थालेका थिए । त्यसैले उनी सानैदेखि त्यही एकेडेमीबाट क्रिकेट खेलेर हुर्किएका युवा अलराउण्डर हुन् ।

सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने धनगढीमा रामचन्द्र शाहीले हरेक वर्ष आयोजना गर्ने लिटिल फ्लावर प्रिमियर लिगबाट यात्रा अघि बढाएका थिए ।

सन् २०२२ मा सुदूरपश्चिमबाट यू-१९ राष्टिय टोलीमा परेपनि १५ वर्ष नपुग्दा सुरुवाती खेल नै खेल्न पाएनन् । अन्तिम समय तिर मात्रै २ खेल खेल्ने अवसर पाएका उनले मधेशसँग डेब्यू गर्दै दुई विकेट लिएका थिए ।

उनले गत अक्टोबरमा विराटनगरमा सम्पन्न यू-१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमलाई च्याम्पियन बनाउन १२ विकेट लिनुको साथै १ सय ४२ रन जोड्दै अलराउण्ड प्रदर्शन गरे ।

स्पिनसँगै तल्लोक्रममा ब्याटिङमा प्रभावित गरेपछि प्रशिक्षक गौचनले उनलाई एसिया कप खेल्ने अन्तिम टोलीमा समेटेका थिए । मौका पाएका दुवै खेलमा युवराजले राम्रो पनि गरे । तर सेलेब्रेसनको कारण अन्तिम खेल भने गुमाउनु पर्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.