7 months ago
May 19, 2025
सुबास हुमागाईं, काठमाडौं
नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले सन् २००७ मा अन्तर्राष्ट्रिय डेब्यु गर्दा फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । एसिसी महिला प्रतियोगितामा नेपाल त्यसबेला ८ टोली मध्ये दोस्रो हुँदै महिला क्रिकेटमा प्रचुर सम्भावना रहेको प्रमाणित गरेको थियो ।
पहिलो प्रतियोगितामै उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली महिला टोलीले चाँडै नै विश्वकप खेल्छ भन्ने सबैको आँकलन थियो । तर त्यो सम्भावनालाई यथार्थ बनाउन न नेपाल क्रिकेट संघ (क्यान) केही गर्यो न सरकारले नै । खेलाडीले आफ्नै बलबुताले करिअर अघि बढाए । हरेक २ वर्षको अन्तरमा हुने एसिसी प्रतियोगितामा सहभागिता जनाउनुबाहेक नेपालले केही गरेन । त्यसपछिको ३ संस्करण सेमिफाइनलमा पुग्दै रोकिएको नेपाली टोली २०१४ मा समूह चरणमै बाहिरियो ।
२०१५ मा क्यान आइसिसीको निलम्बन परेपछि बिरलै हुने राष्ट्रिय प्रतियोगितामा पनि पूर्णविराम लाग्यो । तर खेलाडीले हार मानेनन् । सशस्त्र प्रहरी बल (एपिएफ) ले महिला क्रिकेट टोली स्थापना गरेकाले राष्ट्रिय टोलीका अधिकांश खेलाडीलाई जीविकोपार्जन गर्ने आधार बन्यो । एकाध अन्य क्रिकेटर सिमापारी भारतमा हुने स्थानीय प्रतियोगिता खेलेर क्रिकेटमा टिकीरहे ।
कुनै समय यस्तो पनि थियो नेपालमा क्यान निलम्बनमा थियो, राष्ट्रिय टोलीको टुंगो थिएन, तर पनि खेलाडीले आफूलाई उपलब्ध श्रोत र साधन प्रयोग गरेर तयार राखिरहे । पूर्वकप्तान रुविना क्षेत्री र सीता राना मगरले नेपाली महिला क्रिकेटको सुरुवाती दिनदेखि अहिलेसम्मको अवस्था अग्रपंक्तिमा रहेर सामना गरे । यसबीचमा नेपालले धेरै प्रतिभावान क्रिकेटर पायो, तर दुर्भाग्य ती खेलाडीले पाउनुपर्ने अवसर र सुविधा पाएनन् ।

क्यानको निलम्बन फुकुवापछि बिस्तारै महिला क्रिकेटको कार्यक्रम पनि आउन थाले । केन्द्रिय सम्झौतामा खेलाडी राख्दै क्यानले तलबको पनि व्यवस्था गर्यो । यसबीचमा पुरुष क्रिकेट टोलीले दोस्रो पटक विश्वकप खेल्दै विश्व क्रिकेटमा आफ्नो नाम बलियो रुपमा प्रस्तुत गरिसकेको थियो । महिला क्रिकेट भने समान व्यवहारको पर्खाइमा नै रह्यो ।
क्यानले गत वर्ष महिला क्रिकेटरलाई केही सुविधा बढाएपछि महिला क्रिकेटरहरुमा उत्साह छायो । बिस्तारै क्रिकेट खेलेर पनि नेपालमा राम्रो करिअर बन्छ भन्ने आधार तयार हुँदै थियो । तर बलियो नेदरल्यान्ड्स र थाइल्याण्डविरुद्ध सिरिजमा नतिजा नेपालको पक्षमा नआउँदा क्रिकेट हेर्ने दर्शकहरु चिढिए । सुविधा पाएपनि नतिजा ल्याउन नसकेको भन्दै महिला टोलीको आलोचना भयो । र त्यसमा प्रशिक्षक मनोज कटवाल आफैंले एउटा गैरजिम्मेवार अभिव्यक्ति दिए ।
विश्वकप खेल्दै आएका थाइल्याण्ड र नेदरल्यान्ड्सविरुद्ध नेपालले खेल जित्न नसकेपछि कटवालले खेलाडीले अफ सिजनमा मिहिनेत नगरेको र विदेशी प्रशिक्षकको माग गर्नु उचित नरहेको बताएका थिए । ‘ विदेशी प्रशिक्षक हैन, यस्तै पारा हो भने स्वयं पशुपतिनाथ प्रशिक्षक बनेपनि जित्छ जस्तो लाग्दैन ’ उनले यत्ति भन्नसम्म भ्याए । उनको यस अभिव्यक्तिले सामाजिक संजालमा मिश्रित प्रतिक्रिया पायो । तर महिला टोली भित्र भने यसले खेलाडीलाई मानसिक रुपमा नराम्रो असर पर्यो ।
नेपाली खेलकुदमा कुनै सुविधा नपाउँदा त क्रिकेटलाई जीवन सुम्पिएका खेलाडीलाई राष्ट्रिय टोलीका प्रशिक्षकले नै यस्तो प्रतिक्रिया दिँदा उनीहरुले चित्त दुखाउनु स्वभाविक थियो । अझ प्रशिक्षकले नै यसो भन्दा महिला क्रिकेटतर्फ आकर्षित हुन थालेका दर्शकमाँझ खेलाडीको बारेमा कस्तो छाप बस्छ भन्ने अनुमान सहजै लगाउन सकिन्छ ।
टोलीका प्रशिक्षकले आफ्नै खेलाडीको अस्वभाविक आलोचना गरेको पटक्कै सुहाउने थिएन । र त्यो वास्तविकता पनि थिएन । त्यसैले क्यानले पनि आन्तरिक रुपमा यसबारे प्रशिक्षकसँग सोधपुछ गर्यो । र आवश्यकता महसुस गर्दै विश्वकप छनोटअघि भारतका मनिष झा कन्सल्टेन्ट प्रशिक्षकको रुपमा टोलीमा ल्याइयो ।
प्रशिक्षक कटुवाल टोलीमा नै रहेपनि जिम्मेवारी भने भारतका अनुभवी झाले नै लिए । क्यानले महिला टोलीको उच्च तयारीका लागि लगातार क्याम्पको सन्चालन गर्यो । यता कटवाल भने छनोट सुरु हुनु केही दिन अघिसम्म भुटानमा आफ्नो प्रशिक्षक प्रशिक्षण कोर्षमा थिए । नेपाली टोलीले भारतीय प्रशिक्षक झाकै प्रशिक्षणमा दिल्लीमा अभ्यास खेल खेल्यो र राम्रो तयारी गर्यो ।
अन्त्यमा विश्वकप छनोटका लागि प्रशिक्षक कटुवाल पनि टोलीमा जोडिए । र सोमबार नेपालले सुपर थ्रीमा युएईलाई पराजित गर्दै इतिहासकै पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाउन सफल भयो । यसअघि नेपालले सधैं एसिया छनोटमा हार बेहोर्दै आएको थियो । नेपालसामु यसअघि युएई, थाइल्याण्ड र हङकङ तगारो बन्दै आएका थिए । तर यसपटक निरन्तर वर्षाका बीच भाग्यको साथ र खेलाडीको परिश्रमको प्रतिफलमा नेपालले ग्लोबल छनोटमा आफ्नो ठाँउ बनाएको छ ।

विश्वको जुनसुकै देशमा पुरुष क्रिकेटको तुलनामा महिला क्रिकेटमा दर्शक कम हुन्छन् । तर नेपालमा भने महिला क्रिकेटबारे जानकारी राख्ने ‘दर्शक’ पनि उल्लेख्य मात्रामा छन् । तर ती अधिकांश सामाजिक संजालमा सिमित छन् । नतिजा नआउँदा खेलाडीले सामाजिक संजालमा असन्तुष्ट दर्शकको हेर्न नसकिने गालीको समान गर्नुपर्छ । तर यिनै क्रिकेटर मैदानमा खेल्दा भने दर्शकको उपस्थिति न्यून हुन्छ ।
दर्शक मात्र होइन, क्रिकेटकै पदाधिकारी, पत्रकार र सरोकारवालामा पनि यो लागू हुन्छ । तर जब आलोचना गर्ने समयमा अग्रपंक्तिमा यिनै हुन्छन् । बल्ल राम्रो सुविधा पाएर क्रिकेटलाई अघि बढाउन खोजिरहेका महिला क्रिकेटरलाई आवश्यकता दर्शक मात्र नभएर ‘समर्थक’ को छ । जुन अब टोलीले बिस्तारै कमाउँदै गएको छ । जसले जितमा खुसी साट्ने मात्र होइन, हारमा सँगै रहेर अझ राम्रो खेल्न उत्प्रेरणा गरोस् ।
महिला क्रिकेटरका विश्वकप छनोटको ग्लोबल छनोटसम्म पुग्न १८ वर्षको समय लाग्यो । इन्दु वर्माको कप्तानीमा युवा टोलीले केही अनुभवी खेलाडी समेटेर हासिल गरेको यो यात्राको खुसी यी खेलाडीले भरपुर लिनेछन् । तर अबको लक्ष्य नेपालको महिला क्रिकेट ‘समर्थक’ ले देखेको सपना पूरा गर्न लाग्नुपर्छ ।

जसरी २०१४ मा नेपाली पुरुष टोलीले टि ट्वान्टी विश्वकप खेलेपछि क्रिकेटले नयाँ परिचय पायो, ग्लोबल छनोट नेपालका लागि महिला क्रिकेटमा आमूल परिवर्तन ल्याउने कडी बन्न सक्छ । यसैपनि नेपालले २०२७ मा यू१९ महिला विश्वकपको सह-आयोजनाको जिम्मेवारी पाइसकेको छ । यस्तो अवस्थामा ग्लोबल छनोटमा टोलीलाई अझ उत्कृष्ट सुविधा र स्थान दिने हो भने सफलता टाढा देखिन्न ।
खेलाडीले माग गरेको विदेशी प्रशिक्षक आधारभूत माग हो । खासमा यो माग नभएर समयको माग हो । दुई पटक महिला टोलीमा कन्सल्टेन्ट प्रशिक्षक आउँदाको प्रभाव मैदानमा प्रष्ट देखिएको छ । नेपालमा रहेका प्रशिक्षकले पनि खेलाडीको यो मागलाई इर्ष्या नभएर सुधार र आफूलाई थप निखार्ने अवसरको रुपमा लिनुपर्छ । खेलाडीविरुद्ध नै सार्वजनिक रुपमा अनावश्यक आलोचनाको तिर तेर्स्याउने होइन । यसलाई क्यानले गम्भीर रुपमा हेर्नुपर्छ ।
आफ्नैविरुद्ध लडेर ल्याएको सफलताका लागि महिला क्रिकेट टोलीलाई बधाई । ग्लोबल छनोटमा थप सफलता हासिल गर्न शुभकामना ।

December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]