6 months ago
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ ।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन जोडेपछि खेल सुपर ओभरमा धकेलियो ।
सुपर ओभरमा नेपालले १९ रन जोड्दा जवाफमा नेदरल्यान्ड्सले पनि १९ रननै जोडेपछि खेलमा दोस्रो सुपर ओभर भएको थियो ।
दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १७ रन जोड्दा नेपालले जवाफमा १७ रन नै बनाएपछि खेल सुपर ओभरमा लम्बियो ।
तेस्रो सुपर ओभरमा नेपालले ४ बलमा कुनै रन नजोडी २ विकेट गुमायो । माइकल लेभिटले सन्दीप लामिछानेलाई पहिलो बलमै छक्का प्रहार गरेर जित पक्का गरे ।
पहिलो सुपर ओभरमा बायाँ हाते स्पिनर ड्यानीएल डोरमविरुद्ध सुपर ओभरमा नेपालले १९ रन जोड्यो । कुशल भुर्तेलले २ छक्कसहित १८ रन जोडे ।
जवाफमा नेदरल्यान्ड्सका लागि माइकल लेभिटले पहिलो बलमै छक्का प्रहार गरेपनि त्यसपछि करणले बाँकी ३ बलमा ३ रन मात्र खर्चिए । पाँचौ बलमा म्याक्स ओ डाउडले छक्का प्रहार गरेपछि अन्तिम बलमा नेदरल्यान्ड्सलाई जितका लागि ५ रन आवश्यक थियो । म्याक्सले अन्तिम बललाई चौका प्रहार गरेपछि खेल अर्को सुपर ओभरमा लम्बिएको थियो ।
दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले स्पिनर ललित राजवंशीविरुद्ध १७ रन जोड्यो । जवाफमा कप्तान रोहित पौडेलले काइल क्लाइनलाई पहिलो बलमै छक्क प्रहार गरे । दोस्रो बलमा सिंगल लिए । तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले चौका प्रहार गरे । चौथो र पाँचौ बलमा दीपेन्द्रले बल छुन सकेनन् । तर अन्तिम बलमा छक्का प्रहार गरेपछि खेल तेस्रो सुपर ओभर पुग्यो ।
तेस्रो सुपर ओभरमा ज्याक लायन क्यासेले पहिलो बलमा कप्तान रोहितलाई क्याच आउट गराए । त्यसपछि रुपेश सिंहले २ बल डट खेले । चौथो बलमा उनी कट बिहाइन्ड भए । लगत्तै माइकल लेभिटले सन्दीप लामिछानेलाई पहिलो बलमै छक्का प्रहार गरेर जित पक्का गरे ।
त्यसअघि लक्ष्य पछ्याउने क्रममा १९ औं ओभरको अन्तिम बलमा कप्तान रोहित क्याच आउट भएपछि नेपाल संकटमा परेको थियो । ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरेका उनले सर्वाधिक ४८ रनको योगदान दिए । रोहितको प्रस्थानसँगै अन्तिम ओभरमा नेपाललाई जितका लागि १६ रन आवश्यक थियो ।
सुरुवाती २ बलमा ३ रन जोडेपछि स्ट्राइकमा नन्दन यादव आए । उनले तेस्रो बलम चौका र त्यसपछि लगातार २-२ रन लिए । अन्तिम बलमा जितका लागि ५ रन आवश्यक पर्दा नन्दनले चौका प्रहार गरेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

लक्ष्य पछ्याउन उत्रिएको नेपालले दोस्रो ओभरको पहिलो बलमै लोकेश बमलाई गोल्डेन डकमा गुमायो । डेब्यु गरिरहेका बेन फ्लेचरले लोकेशलाई विकेटकिपरको हातबाट क्याच गराए । लगत्तै अर्को ओभरको पहिलो बलमा १ रन जोडेका अनिल शाह काइल क्लाइनको बलमा क्याच आउट भए ।
कुशल भुर्तेलले रोहित पौडेलसँग तेस्रो विकेटका लागि १९ बलमा ४३ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याए । तर ड्यानीएल डोरमले छैटौं ओभरमा कुशल र आठौं ओभरमा दीपेन्द्रको विकेट लिए । कुशल २३ बलमा ५ चौकासहित ३४ रन जोड्दै क्याच आउट भएका थिए । दीपेन्द्र ७ बलमा ३ रन जोडेर पेभेलियन फर्किए ।
डेब्यु गरिरहेका किरण ठगुन्नाले पनि क्रिजमा संघर्ष गरे । बायाँ हाते स्पिनर डोरमबाट बोल्ड हुनुअघि उनले २५ बलमा विना कुनै बाउन्ड्री १५ रन मात्र बनाए । १४ औं ओभरमा उनी आउट हुँदा नेपाल ८७-५ को स्थितिमा थियो ।
छैटौं विकेटका रुपमा रुपेश सिंह ज्याक लायन क्यासेको बलमा स्कट एडवार्ड्सको सानदार क्याचको शिकार बने । उनले १४ बलमा १ चौका र १ छक्काको सहयोगमा १९ रन बनाए ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन जोडेको थियो । नेदरल्यान्ड्सका लागि मध्यक्रमका ब्याटर तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । तल्लोक्रममा सकिब जुल्फिकरले आक्रामक ब्याटिङ गरेपछि नेदरल्यान्ड्सले १ सय ५० रनको आँकडा पार गर्न सम्भव भएको थियो ।
ओपनर म्याक्स ओ डाउड १९ र माइकल लेभिट २० रन जोडेर आउट भए । ललितले चौथो ओभरको पहिलो बलमै ११ बलमा २ चौका र १ छक्का प्रहार गरेका म्याक्सलाई आउट गरेर नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि सन्दीपले सातौं ओभरमा लेभिट र स्कट एड्वार्ड्स (१) लाई आउट गरेर नेपाललाई खेलमा फर्काए ।
१३ औं ओभरमा नोआ क्रोस आउट हुँदा नेदरल्यान्ड्स ९०-५ को स्थितिमा थियो । तर डेथ ओभरमा जुल्फिकरले आक्रामक ब्याटिङ गर्दा नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पायो । अन्तिम ओभरमा आउट भएका तेजाले ३७ बलमा १ छक्कासहित ३५ रन जोडे । जुल्फिकर १० बलमा १ चौका र २ छक्कासहित २२ रनमा नटआउट रहे ।
नेपालका लागि स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र १८ रन खर्चेका थिए । ललित राजवंशीले पनि ४ ओभरमा मात्र २२ रन दिएर १ विकेट हात पारे । नन्दन यादवले २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।
अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले आज नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि डेब्यु गरे ।

मध्यक्रममा आक्रामक ब्याटिङ गर्ने किरणले घरेलु क्रिकेटमा सुदूरपश्चिम प्रदेश र नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले करण केसीको हातबाट नेपालका लागि ५० औं टि२०आई क्याप प्राप्त गरे ।
किरणको पूरा क्रिकेट जीवनी जान्न यो पढ्नुहोस् : घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण
रुपेशले मधेश प्रदेशको प्रतिनिधित्व गर्दै प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । बलिङ अलराउन्डर उनले एनपिएलमा भने चोटका कारण जनकपुर बोल्ट्स बिचमै छाडेका थिए । रुपेशले नेपालका लागि ५१ औं क्याप प्राप्त गरेका हुन् ।

सिरिज अन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराइसकेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]