काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सौरभ खनालले अर्धशतक पुरा गरेको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चलमाथि फराकिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको समूह ‘ए’ को खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चलमाथि ९५ रनको फराकिलो जित निकालेको हो ।
प्रतियोगितामा पश्चिमाञ्चलको यो पहिलो जित हो । पश्चिमाञ्चल पहिलो खेलमा नेपाल एपिएफ क्लबसँग १६ रनले पराजित भएको थियो । पश्चिमाञ्चलले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चल ४०.३ बलमा अलआउट हुदैँ १ सय ७ रन मात्र बनाउन सक्यो । मध्यमाञ्चलका लागि इशान पाण्डेले २४ तथा किशोर महतो अविजित २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । कप्तान शरद भेषवाकरले मात्र ७ रन जोडेको मध्यमाञ्चलको इनिङ्समा रामसद आलमले १५ तथा सुमित महर्जनले १० रन जोडे । मध्यमाञ्चललाई सस्तैमा समेट्ने क्रममा पश्चिमाञ्चलका लाल अधिकारी र रोहित कुमारले समान तीन–तीन तथा विपिन खत्रीले दुई विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पश्चिमाञ्चलले सौरभ खनालको अर्धशतकीय मद्दतमा निर्धारित ५० ओभरमा पुरै खेल्दै ८ विकेट गुमाएर २ सय २ रनको उच्च स्कोर बनाएको थियो । मात्र ८७ रनको स्कोर बनाउदा महत्वपूर्ण पाँच विकेट गुमाएको पश्चिमाञ्चलको उच्च स्कोरमा सौरभ खनाल नायक बने ।
अविजित रहेका सौरभले ५८ बलमा ७८ रनको अर्धशतकीय इनिङ्स खेले । त्यसमा ६ छक्का र तीन चौका सामले थियो । सौरभले एपिएफविरुद्धको पहिलो खेलमा पनि अर्धशतक प्रहार गरेका थिए । उत्कृष्ट लयमा रहेको सौरभको यो दोस्रो खेलमा दोस्रो अर्धशतक हो । पहिलो खेलमा सौरभले ४९ बलमा ११ छक्का र तीन चौकाको मद्दतमा अविजित ९० रन जोडेको थियो । यस्तै पश्चिमाञ्चलका लागि अन्तिम थापाले ३४, अनिल गुरुङले २८ रन जोड्दा विधान श्रेष्ठले १८ तथा कृष्ण कार्कीले १५ रन बनाए । मध्यमाञ्चलका लागि किशोर महतोले तीन तथा नन्दन यादवले दुई विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको पश्चिमाञ्चलले दुई अंक जोड्दै सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राखेको छ ।
समुह ‘ए’ मा एपिएफ दुई अंकसहित शीर्ष स्थानमा छ । मध्यमाञ्चल र सुदुर पश्चिमाञ्चलको समान एक–एक अंक छ । समूह ‘बी’ बाट दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिता अन्र्तगत बिहिबार मध्य पश्चिमाञ्चल र पश्चिमाञ्चलबीच खेल हुनेछ ।