काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । ७.१५ मा सुरु हुनु पर्ने खेल वर्षाले प्रभावित भएको कारण अब खेल केवल २४ ओभरको हुने छ ।
बंगलादेशले मलेसियालाई हिजो २ सय ६२ रनको भारि अन्तरले हराएको कारण नेपालले पनि छनोट हुन मलेसियालाई ठूलो अन्तरले हराउनै पर्ने हुन्छ । बंगलादेशले भारतसँग जित मात्र निकाले पुग्छ । दोस्रो स्थिति भने नेट रन रेटमा आधारित छ जहाँँ भारतले पनि बंगलादेशलाई भारी अन्तरले हराउन पर्ने हुन्छ । समूहमा बंगलादेशले २ खेल जितेको छ भने नेपाल र भारतले समान १ खेल जितेका छन् । आयोजक मलेसियाले दुवै खेल हारिसकेको छ ।
पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ४०.१ ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । जवाफमा डक वर्थ लुइसको आधारमा १ सय ८१ रनको लक्ष्य पछाएको बंगलादेशले ३९.५ ओभरमा ८ विकेट गुमाएर जित निकालेको थियो ।
भारतविरुद्ध कप्तान दीपेन्द्र सिंह ऐरीले उच्च प्रदर्शन गरेपछि नेपाल १९ रनले विजयी भएको थियो । पहिले ब्याटिङ गरेर ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । जसमा दीपेन्द्रले ८८ रन बनाएका थिए । जवाफमा भारतले ४८.१ ओभरमा १ सय ६६ रन बनाउन सक्यो । भारतलाई रोक्न दीपेन्द्रले ४ विकेट पनि लिएका थिए । भारतविरुद्धको त्यो जित नेपालका लागि एतिहास मात्र रहेन अर्को चरण पुग्ने सम्भावनालाई पनि जीवित राखेको थियो । नेपाल र मलेसिया बीचको खेल अब केही मिनेटमै सुरु हुँदै छ ।