काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू १९ एसिया कपको सेमिफाइनलबाट बाहिरिएपछि नेपाली युवा टोली आज स्वदेश फर्कदैछ । मलेसियाबाट नेपाल एयर लाइन्समार्फत युवा टोली बिहान १०ः३५ मा ओर्लने क्रिकेट एनालिस्ट रमश शिवाकोटीले जानकारी दिएका छन् ।
सेमिफाइनलमा हिजो अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । यद्दपी नेपाली टोलीले समूह चरणमा उच्च प्रदर्शन गर्दै एसियन क्रिकेटमा सनसनी मच्चाएको थियो । एसिया कपको पूर्व च्याम्पियन भारतलाई १९ रनले हराउँदै नेपाली युवा टोलीले इतिहास रचेको थियो ।
पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएपछि नेपालको सेमिफाइनल यात्रा कठिन बनेको थियो । तर, समूह चरणका दुवै खेलको नतिजा आफु अनुकल आएपछि नेपाल अन्तिम चारमा पुगेको थियो । बंगलदेशले भारतलाई स्तब्ध पार्नुअघि नेपालले मलेसियालाई ८ विकेटले हराइसकेको थियो ।
लगातार दुई जितपछि पनि नेपालको अघिल्लो चरणको यात्रा निश्चित थिएन । तर, जब बंगलादेशले भारतलाई पराजित गर्यो, त्यसपछि नेपाल सोझै अघिल्लो चरण पुगेको थियो । नेपाल इस्टर्न रिजनको च्याम्पियनका रुपमा एसिया कपका लागि छनोट भएको थियो ।
एसिया कपको उपाधिका लागि भने आइतबार पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । समूह चरणमा यी दुई टेली एकै समूहमा थिए । जसमा अफगानिस्तान समूह विजेता र पाकिस्तान उपविजेताका रुपमा अघि बढेको थियो । पाकिस्तानले सेमिफाइनलमा बंगलादेशलाई हराएको थियो ।