default_image

6 years ago

June 28, 2019

विदेशबाट बुबाले डेरा लिएरै क्रिकेट सिक्न भनेपछि..

122 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

नेपाल यू-१९ टोलीका लेग स्पिनर तिलक भण्डारी काठमाडौं आएको दुई वर्ष पुग्दैछ । सानो उमेरदेखि नै क्रिकेटप्रति लगाव भएका तिलक क्रिकेट सिक्न भनेर नै बुटवलबाट काठमाडौं आएका हुन् । जापानमा रहेका बुबा पदमराज भण्डारीले क्रिकेट सिक्ने इच्छा भए डेरा लिएरै भएपनि काठमाडौं जान भनेपछि तिलक राजधानी पसे । केहि महिनाअघि यू-१६ राष्ट्रिय टोलीमा परेका तिलक गत साता यू-१९ राष्ट्रिय टोलीको अन्तिम १४ मा पर्न सफल भए ।

तिलक भण्डारी

नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोलीले पछिल्लो एक वर्ष लेग स्पिनर बिनानै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो । सन्दीप लामिछानेले यू-१९ टोलीबाट नखेल्ने निर्णय लिएपछि टोलीमा लेगस्पिनरको खोजि सुरु भयो । यसबीचमा प्रशिक्षक विनोद दासले थुप्रै प्रतिभाको प्रर्दशन र क्षमता हेरिरहे । तर, दासले आफुले चाहेको जस्तो प्रतिभा भेट्टाउन सकेनन् ।

गत मंगलबार मलेसियामा हुने एसीसी इस्टर्न रिजन यू१९ प्रतियोगिताको लागि नेपालले १४ सदस्य टोली घोषणा गर्यो । टोलीमा पहिलो पटक तीन नयाँ अनुहारलाई मौका दिइयो । लेग स्पिनर तिलक भण्डारी पनि ती नयाँ अनुहार मध्यका एक हुन् ।

एक महिना अघि थाइल्यान्डमा सम्पन्न एसीसी यू१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि नेपाललाई जिताउन लेग स्पिनर तिलक भण्डारीको प्रर्दशन महत्त्वपूर्ण थियो । एसीसी इस्टर्न रिजनमा तिलकले ५ खेलमा मात्र ३ विकेट हात पारे । तर यसक्रममा उनले प्रति ओभर २.२७ रनको दरमा आफ्नो इकोनोमी राखे । त्यहि प्रर्दशनबाट प्रभावित हुँदै प्रशिक्षक विनोद दासले उनलाई जेठ अन्तिमबाट सुरु भएको यू१९ टोलीको बन्द प्रशिक्षणमा बोलाएका थिए ।

इस्टर्न रिजन यू-१६ ट्रफीसाथ तिलक

बन्द प्रशिक्षणपछि दासले यू१९ तथा घरेलु फ्रेन्चाइज लिग खेलिसकेका बायाँ हाते स्पिनर सुर्य तामाङलाई टोली बाहिर राख्दै तिलकलाई मौका दिए । लेग स्पिनर टोलीको मुख्य आवश्यकता पनि थियो । दासका अनुसार तिलकलाई आगामी  वर्षलाई समेत मध्यनजर गर्दै यू१९ टोलीमा मौका दिईएको हो ।

तिलकले गत चैत्रमा काठमाडौंमा भएको यू१६ क्रिकेट लिगमा प्रदेश ३ लाई उपाधि दिलाउँदा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यहि उत्कृष्ट प्रर्दशनसँगै उनले यू१६ इस्टर्न रिजनको लागि बन्द प्रशिक्षण हुँदै अन्तिम १४ सदस्य टोलीमा स्थान पक्का गरे । त्यस्तै तिलकले वैशाखमा भएको मनमोहन मेमोरियल अन्तर प्रदेश यू१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि प्रदेश ३ बाट प्रतिनिधित्व गर्दै उत्कृष्ट लय कायम राखे ।

गुल्मीको सोतामा जन्मिएका तिलक बुबा पदमराज र आमा अम्बिका भण्डारीको कान्छो सन्तान हुन् । पछि उनको परिवार बुटवल बसाईं सर्यो । सानै उमेरदेखि विद्यालयमा टेनिस बलले क्रिकेट खेल्ने तिलक बेला बेलामा साथीहरुसँग बाहिर क्रिकेट खेल्न जान्थे । उनले धेरै समय टेनिस बलले नै क्रिकेट खेले । बिरलै मात्र ड्युज बलले अभ्यास गर्ने अवसर मिल्थ्यो ।

‘बुबा नेपालमा रहँदा क्रिकेटमा सामान्य रुपमा खेल्ने गर्थे । बुबाले पनि क्रिकेट खासै ध्यान नदिएकाले प्रशिक्षण गर्ने सोच नै आएन । नेपालले लगातार सफलता हात पार्दै गयो । मेरो पनि क्रिकेटप्रति लगाव बढ्दै गयो,’ तिलकले थपे, ‘बुबालाई क्रिकेट सिक्ने भनेपछि डेरा लिएर भएपनि काठमाडौं नै गएर राम्रोसँग क्रिकेट सिक्न भन्नुभयो । यहाँ केसीटीसीमा दुई वर्षदेखि लगातार प्रशिक्षण गरें । यू-१६ छनोटमा राम्रो प्रदर्शन गरेपछि यहाँसम्म आइपुगेको छु ।’ उनको बुबा पदमराज जापान पुगेको ६ वर्ष भएको छ ।

साधारण क्रिकेट खेल्ने तिलक आफ्नो क्रिकेट यात्रालाई अझ उचाई दिनको लागि बुबाको निर्देशन अनुसार काठमाडौं पसे । विगत दुई वर्षदेखि उनी नेपाली राष्ट्रिय क्रिकेट टिमका उप कप्तान ज्ञानेन्द्र मल्लले सञ्चालन गरेको काठमाडौं क्रिकेट टेनिङ सेन्टरमा प्रशिक्षणरत छन् । उनलाई क्रिकेट खेल्न घर परिवारबाट पनि त्यतिनै साथ छ । खेलप्रति मिहिनेत र लगावले नै उनले यू-१६ उमेर समूह हुँदै छोटो समयमा नै यू-१९ टोलीमा स्थान बनाउन सफल भएका छन् ।

अष्ट्रेलियाका महान लेग स्पिनर शेन वार्नबाट प्रभावित तिलक सानै उमेरदेखि लेग स्पिन बलिङ गर्न थालेको बताउँछन् । पछिल्लो समय नेपाली लेग स्पिनर सन्दीप लामिछानेबाट उनी धेरै प्रभावित बनेका छन् । सन्दीपलाई निरन्तर पछ्याइरहेको बताउछन् । हाल तिलक नाइटिङगल कलेजमा कक्षा ११ मा अध्ययनरत छन् ।

यू-१६ इस्टर्न रिजन च्याम्पियन टोली

यू-१९ टोलीमा परेका तिलक आफ्नो लागि ठूलो अवसर अगाडी रहेको बताउँछन् । ‘ विनोद सरले भनेपछि यू१९ टोलीमा परेको थाहा पाएँ । धेरै खुसी भएँ र उत्तिकै नर्भस पनि । यो मेरा लागि सबैभन्दा ठूलो अवसर हो । यसको भरपुर सदुपयोग गर्न सक्दो मिहिनेत गर्नेछु,’ उनले भने ।

उमेर समूहको क्रिकेटमा बामे सर्दै गरेका तिलकले यस अवसरबाट घरेलु क्रिकेटको बाटो कोर्ने लक्ष्य राखेका छन् । ‘ उमेर समूहको यू-१९ मा अवसर पाएको छु । यहाँ राम्रो प्रदर्शन गर्न सके घरेलु क्रिकेट खेल्ने अवसर पाइन्छ । सिनियर टोलीबाट खेल्नु मेरो सपना हो । त्यसका लागि घरेलु क्रिकेटमा प्रदर्शन गर्न जरुरि छ । यसका लागि आफ्नो सक्दो प्रयास गर्नेछु,’ तिलकले थपे ।

तिलकसँगै नेपाल यू-१९ राष्ट्रिय क्तिकेट टोली आइतबार मलेसिया प्रस्थान गर्दैछ । नेपालले जुलाई २ देखि १० सम्म चल्ने एसीसी यु-१९ इस्टर्न रिजन प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । उपाधि दावेदार मानिएको नेपालले समुह ‘ए’ मा सिंगापुर, म्यानमार र चीनसँग समुह चरणमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समुह ‘बी’ मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन् ।

नेपालले पहिलो खेल जुलाई २ मा म्यानमारसँग खेल्ने छ । त्यस्तै ५ जुलाईमा सिंगापुर, ६ जुलाईमा चीनसँग प्रतिस्पर्धा गर्ने छ । दुवै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा ९ जुलाईमा हुने छ । यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्ने छन् । यू-१९ एसिया कप २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.