5 years ago
July 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डरको हरेक टोलीमा महत्त्वपूर्ण भूमिका हुन्छ । प्रमुख ब्याट्सम्यान र बलर दुवैलाई सहयोग गर्ने जिम्मेवारी भएका अलराउन्डरले आवश्यक पर्दा दुवै पक्षमा अग्रणी भूमिका खेल्ने क्षमता समेत राख्दछन् ।

ब्याटिङ र बलिङ दुवै पक्षमा योगदान दिने खेलाडी सकेसम्म कप्तानले टोलीमा धेरै नै हुन् भन्ने चाहन्छन् । तर टोली सन्तुलनमा पनि त्यतिनै ध्यान दिनुपर्ने हुन्छ । इंग्ल्यान्डका बेन स्टोक्स वर्तमान समयमा विश्व क्रिकेटका उत्कृष्ट अलराउन्डर मानिन्छन् । पारस खड्का नेपालका सफल अलराउन्डर हुन् ।
पारससँगै सोमपाल कामी र करण केसी नेपाली टोलीका नियमीत अलराउन्डर हुन् । महबुब आलमले अघिल्लो दशक एक सफल अलराउन्डरको छवि बनाएका थिए । कुनै पनि टोलीको भविष्य उमेर समूह र घरेलु प्रतियोगितामा खेलाडीले देखाउने क्षमता र प्रर्दशनले बताउने गर्दछ । पछिल्लो समय नेपाली क्रिकेटमा युवा अलराउन्डरले ठूलो सम्भावना र आशा दिलाएका छन् ।
ती अलराउन्डरलाई नेपालले राम्रोसँग सदुपयोग गर्न सक्छ वा सक्दैन त्यो हेर्न बाँकी छ । राम्रोसँग तयार पार्दै सदुपयोग गर्न सकेको खण्डमा भने नेपाली क्रिकेट अझ माथि पुग्ने देखिन्छ । नेपाली क्रिकेट टोलीमा अलराउन्डरको रुपमा भविष्य देखिएका पाँच खेलाडीबारे छोटकरीमा जानकारी ।
५. आकाश चन्द

युवा अलराउन्डर आकाश चन्द नेपाली क्रिकेटमा सम्भावना बोकेका एक खेलाडी हुन् । सुदूरपश्चिममा हुर्केका आकाशले तीव्र गतिमा बलिङ गर्नुको साथै तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । यू१९ का प्रमुख खेलाडी चन्दले सुदूरपश्चिम प्रदेशबाट गतवर्षको प्रधानमन्त्री एकदिवसिय राष्ट्रिय प्रतियोगितामा अलराउन्डर प्रर्दशन गरेका थिए ।
गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदा चन्दले ३४ बलमा समान २ चौका र छक्का सहित तल्लोक्रममा अविजित २९ रन जोडेका थिए । गत माघमा मनमोहन मेमोरियल एक दिवसिय क्रिकेट प्रतियोगितामा सेमिफाइनलमा नेपाल पुलिस क्लबविरुद्ध चन्दले ३ विकेट लिनुको साथै २ चौका र १ छक्का सहित २३ रनमा अविजित रहेका थिए ।
आकाश तल्लोक्रममा ठूला सट खेल्दै राम्रो ब्याटिङ गर्ने गर्दछन् । गतवर्ष नेपाली यु१९ क्रिकेट टोलीले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध एक दिवसिय खेल खेलेको थियो । उक्त खेलमा पनि आकशले अलराउन्ड प्रर्दशन गरेका थिए ।
जितका लागि ३ सय ३५ रनको लक्ष्य पछ्याएको नेपाली यु१९ टोलीले ९ विकेटको क्षतिमा २ सय ९६ रन बनाउँदै सबैको मन जित्न सफल भएको थियो । उक्त खेलमा चन्दले १ विकेट लिनुको साथै तल्लोक्रममा ३० रनको योगदान दिएका थिए । उक्त खेलमा २६ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए ।
दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) मा पोखरा पल्टनमा आबद्ध भएपनि डेब्यु गर्ने मौका पाएनन् । एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंस इलाभेनमा आबद्ध छन् । तीव्र गतिसँगै तल्लोक्रममा जिम्मेवारी ब्याटिङ गर्ने चन्दले छोटो समयमै राम्रो सम्भावना देखाएका छन् । तर उमेर समूह र घरेलु क्रिकेटमा अझ उत्कृष्ट प्रर्दशन गर्दै क्षमतामा निखारता ल्याउँदै जानभने आवश्यक देखिन्छ ।
४. विशाल विक्रम केसी

यू१६ का कप्तान विशाल विक्रम केसी नेपाली क्रिकेटमा अलराउन्डरको रुपमा राम्रो सम्भावना देखाएका छन् । विशालले आफ्नो कप्तानीमा गत वर्ष एसिसी इस्टर्न रिजन यू१६ को उपाधि दिलाउँदै सर्वाेत्कृष्ट खेलाडी चुनिएका थिए ।
विशालले यू१९ टोलीबाट समेत खेलिसकेका छन् । शीर्षक्रम र मध्यक्रममा ब्याटिङ गर्ने विशालले अफस्पिन बलिङ गर्ने गर्दछन् । विशालको अफस्पिन सामना गर्न विपक्षी ब्याट्सम्यानलाई कठिन हुने गर्दछ । प्रदेश पाँचबाट घरेलु क्रिकेट खेल्ने विशालले एमएम कपमा राम्रो प्रभाव छाडे ।
गतवर्ष भारतको हैदरावादमा भएको यू१९ च्यालेन्जर सिरिजमा विशालले भारत ‘ए’ विरुद्ध १ सय २६ बलमा ११ चौका सहित ७१ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । विशालले छोटो समयमै नेपाली क्रिकेटमा ठूलो सम्भावना देखाएका छन् । अर्कोतर्फ विशालले आफूलाई तयार पार्ने समय पनि राम्रो छ । अझ मिहिनेत गर्दै आफ्नो प्रर्दशनमा निपूर्णता ल्याउँदै गएको खण्डमा विशालमा ठूलो सम्भावना देखिन्छ ।
३. शेर मल्ल

यू१९ का स्पिनर शेर मल्ल एक प्रतिभाशाली अलराउन्डर हुन् । शेरले स्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । शेरले यू१९ र घरेलु लिगमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै सिनियर टोलीको ढोका ढक्ढकाई रहेका छन् । शेरले माघमा भएको एमएम कपमा मलेसिया–११ लाई ४९ रनमा अल आउट गर्न १० ओभरमा ३ मेडन सहित ११ रन खर्चेर ५ विकेट लिएका थिए ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध अभ्यास खेलमा मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ बाट ७.२ ओभरमा १ मेडन सहित १३ रन खर्चेर ४ विकेट लिदै जित पक्का गरेका थिए ।
उमेर समूहमा पनि शेरको प्रर्दशन राम्रो छ । शेरले गत जेठमा सम्पन्न एकदिवसीय प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशको कप्तानी गर्दै अलराउन्डर प्रर्दशन गरेका थिए । दोस्रो संस्करणको पिएम कपमा शेरले ४ खेलमा ११ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीमा तेस्रो स्थानमा रहेका थिए । उक्त प्रतियोगितामा शेरले कर्णाली प्रदेशविरुद्ध ७.२ ओभरमा १ मेडन सहित २१ रन खर्चेर ५ विकेट लिएका थिए ।
शेरले आफूले पाएको मौकामा निरन्तर सदुपयोग गर्दै राम्रो छाप छोडेका छन् । शेर पहिलो पटक चैतमा थाईल्यान्डमा भएको इस्टर्न रिजनको लागि सिनियर टोलीको बन्द प्रशिक्षणमा परेपनि अन्तिम १४ मा स्थान बनाउन सकेका थिएनन् । गतवर्ष भारतमा यू१९ च्यालेन्जर सिरिजमा पनि शेरले राम्रो प्रर्दशन गरेका थिए । स्पिन बलिङमा थुप्रै अप्सन (भेराइटी) उनीमा पाईन्छ ।
गतवर्ष एमसिसीविरुद्ध नेपाल यू१९ टोलीबाट उनले २ विकेट लिनुको साथै २४ बलमा ३ चौका सहित अविजित २८ रन जोडेका थिए । शेरको उमेर समूह र घरेलु क्रिकेटको प्रर्दशन हेर्दा चाडैंनै अलराउन्डरको रुपमा सिनियर टोलीमा स्थान बनाउने देखिन्छ । त्यसको लागि उनले अझ बढी मिहिनेत गर्न भने आवश्यक देखिन्छ ।
२. पवन सर्राफ

पवन सर्राफ नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका एक युवा अलराउन्डर हुन् । सिनियर टोलीबाट एक वर्ष अघिनै खेलि सकेका पवनले ओपनिङ र तल्लोक्रम दुबैमा ब्याटिङ गर्ने क्षमता राख्छन् । बलिङ स्पिन गर्ने गर्दछन् । उमेर समूहमा उत्कृष्ट प्रर्दशनका साथ पवनले गतवर्ष युएईविरुद्ध ओडिआई र टि२० आईमा डेब्यु गरेका थिए ।
पवनले नेपाली टोलीबाट लिष्ट ‘ए’ र प्रथम श्रेणी खेल पनि खेलि सकेका छन् । तर पवनले टोलीमा नियमित स्थान बनाउन भने सकिरहेका छैनन् । अर्कोतर्फ नेपाली क्रिकेट टोलीको अस्थिर ब्याटिङले पवनको भूमिका पनि अनिश्चित रहँदै आएको छ । उमेर समूहमा उत्कृष्ट प्रर्दशन गरेका पवनले फ्रेन्चाइज लिगमा पनि राम्रो प्रर्दशन गर्दै आएका छन् ।

पवन नेपाल पुलिसबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । पवन ठूलो सटको क्षमता समेत राख्ने गर्दछन् । पवनको हालसम्मको प्रर्दशन हेर्दा नेपाली क्रिकेटमा अलराउन्डरको रुपमा लामो यात्रा गर्न सक्ने सम्भावना देखाएका छन् । तर त्यसकोे लागि उनले अझ बढी मिहिनेत गर्नुको साथै जिम्मेवारी प्रर्दशन गर्न भने आवश्यक देखिन्छ ।
१. कुशल मल्ल

कुशल मल्ल नेपाली क्रिकेटमा लामो यात्रा गर्ने सम्भावना बोकेका अलराउन्डर हुन् । बायाँ हाते कुशल आक्रामक ब्याटिङ र स्पिन बलिङ गर्ने गर्दछन् । उमेर समूह र घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशनका साथ सिनियर टोलीमा स्थान बनाएका कुशलले गतवर्ष टि२० आईमा जिम्बावेविरुद्ध डेब्यु गरेका थिए ।
डेब्यु खेलमा ब्याटिङमा असफल भएपनि बलिङमा उत्कृष्ट प्रभाव जमाएका थिए । कुशलले माघमा आइसिसी विश्वकप लिग–२ मा ब्याटिङ र बलिङ दुबैमा उच्च प्रर्दशन गरेका थिए । अमेरिकाविरुद्ध ओडिआई डेब्यु खेलमा कुशलले ५१ बलमा ४ चौका र ३ छक्का सहित ५० रन बनाउँदै विश्व कीर्तिमान कायम गरेका थिए ।

आर्मीबाट घरेलु क्रिकेट खेल्ने कुशलको प्रर्दशन उत्कृष्ट छ । ठूला सट अनि टोलीको आवश्यकता अनुसार खेल्ने कुशल विपक्ष्य ब्याट्सम्यानलाई बलिङमा स्पिन बलमा घुमाउन सक्ने क्षमता राख्दछन् । उनको बलिङको सामना गर्न विपक्ष्य ब्याट्सम्यालाई कठिन पर्ने गर्दछ । १६ वर्षिय कुशलको उमेर बढ्दै जादा प्रर्दशनमा अझ निखारता आउने छ ।
कुशल टोलीको आवश्यकता अनुसार जुनसुकै क्रममा ब्याटिङ गर्ने क्षमता राख्ने गर्दछन् । ब्याटिङसँगै उनले बलिङ मार्फत पनि टोलीको जित दिलाउन सक्ने क्षमता राख्दछन् । कुशललाई धेरैले नेपाली क्रिकेट पारसको उत्तरधाकारी समेत भन्ने गर्दछन् । कुशलले लामो यात्रा गर्दै नेपाली क्रिकेट टोलीलाई नयाँ उचाईमा पुर्याउने आशा गरिएको छ ।
यो पनि पढ्नुहोस :
बलिङको भविष्य देखिएका पाँच खेलाडी
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]