default_image

5 years ago

September 4, 2020

अष्ट्रेलिया र इंग्ल्यान्डबीचको पहिलो टि२० आज

199 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटका दुई पावर हाउस अष्ट्रेलिया र इंग्ल्यान्डबीचको तीन खेलको टि२०आई सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार राती १०ः४५ पछि साउथह्याप्टनमा सुरु हुनेछ ।

अष्ट्रेलिया टि२० आई वरीयतामा शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा छन् । अष्ट्रेलियालाई शीर्षस्थानमा कायम राख्न यस सिरिजमा चुनौती छ । इंग्ल्यान्डलाई शीर्षस्थानमा उक्लिने अवसर रहेको छ । अष्ट्रेलियामा आक्रामक ब्याट्सम्यानको रुपमा डेविड वार्नर, आरोन फिन्च र ग्लेन म्याक्सवेल छन् । यता इंग्ल्यान्डमा कप्तान ओईन मोर्गन, टम ब्यान्टन र जस बटलर पनि त्यतिनै आक्रामक ब्याटिङका लागि परिचित छन् ।

अष्ट्रेलियाको टोलीमा वर्तमान समयका सर्वाधिक तीव्र गतिमा बलिङ गर्न सक्ने योर्करका सिपालु मिचेल स्टार्क हुँदा इंग्ल्यान्डमा वाउन्सर परिचित जोफ्रा आर्चर छन् । विश्व क्रिकेटका उत्कृष्ट यी दुई टोलीबीचको प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ ।

ओपनर आरोन फिन्च र डेभिड वार्नरले टोलीलाई राम्रो सुरुवात दिन प्रयास गर्ने छन् । आक्रामक ब्याटिङका लागि चर्चित यी दुई ब्याट्सम्यान क्रिजमा लामो समय टिके विशाल योगफल अष्ट्रेलियाले सहजै बनाउन सक्छ । तेस्रो नम्बरका स्टिभ स्मिथ र चौथो नम्बरमा मार्नस लाबुसेनको सम्भावना छ ।

टेष्ट र ओडिआईमा निरन्तर उच्च प्रर्दशन गर्दै आएका लाबुसेन टि२० आईको डेब्युको प्रतिक्षामा छन् । अभ्यास टि२० खेलमा शतक प्रहार गरेका लाबुसेनलाई अष्ट्रलियाले मिचेल मार्शको स्थानमा मौका दिने सम्भावना देखिन्छ । पाँचौ नम्बरमा अष्ट्रेलियाले आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई मैदान उतार्ने सम्भावना छ ।

म्याक्सवेलबाट उत्कृष्ट आक्रामक रुपमा ठूलो इनिङको आशा गरिएको छ । लाबुसेनलाई मौका नदिएको खण्डमा चौथो नम्बरमा उतार्ने छ । विकेटकिपर एलेक्स केरी र अलराउन्डर मार्कस स्टोइनिसले तल्लोक्रममा ब्याटिङ गर्ने छन् । यी दुवै राम्रो लयमा रहेका छन् ।

स्पिनरमा एडम जम्पाको स्थान पक्कापक्कि छ । नाथन लायन र एस्टन अगर मध्य एकलाई मौका दिने छ । यता तीव्र गतिको बलरको रुपमा मिचेल स्टार्क र प्याट कमिन्सको स्थान पनि बलियो हुँदा रिले मेरीडिथ र ड्यानियल स्याम्स मध्य एकको डेब्युको सम्भावना छ ।

यता घरेलु टोली इंग्ल्यान्डले टि२० टोलीमा जो रुटलाई मौका दिएको छैन । इंग्ल्यान्डको रणनीति आगमी विश्वकप केन्द्रित देखिन्छ । ओपनिङ युवा ब्याट्सम्यान टम ब्यान्टन र जोनी बेयरस्टोले गर्ने छन् ।

पाकिस्तानबिरुद्धको सिरिजमा उच्च प्रर्दशन गरेका युवा आक्रामक ब्याट्सम्यान ब्यान्टनबाट इंग्ल्यान्डले त्यस्तै सुरुवात चाहान्छ । तेस्रोमा डेविड मलान र चौथो नम्बरमा कप्तान ओईन मोर्गनले गर्ने छन् । मोर्गनको ब्याटिङ इंग्ल्यान्डलाई निकै महत्वपूर्ण हुने छ । उत्कृष्ट लयमा रहेका मोर्गनलाई रोक्न अष्ट्रेलियाका बलरलाई कठिन पर्न सक्छ ।

पाँचौ नम्बरमा विकेटकिपर जस बटलरले गर्ने छन् । पाकिस्तानविरुद्ध टेष्ट सिरिजमा ‘म्यान अफ द सिरिज’ चुनिएका बटलर टि२० सिरिजमा त्यहि प्रर्दशनलाई निरन्तरता दिन खोज्ने छन् । छैटौं नम्बरमा मोईन अलीले ब्याटिङ गर्ने गर्दछन् ।

इंग्ल्यान्डले तीव्र गतिका बलरका रुपमा क्रिस जोर्डन, जोफ्रा आचर र मार्क वुडलाई उतार्न सक्छ । स्पिनरमा आदिल राशिद हुने छन् । ब्यक्तिगत कारण बेन स्टोक्स टोलीमा उपलब्ध नहुँदा साम करनलाई अलराउन्डरको रुपमा खेलाउन सक्छ ।

पछिल्लो पटक यी दुई देशले सन् २०१८ मा एक मात्र टि२० आई खेल खेलेका थिए । जसमा इंग्ल्यान्ड २८ रनले विजयी भएको थियो । उक्त खेलमा इंग्ल्यान्डले ५ विकेटको क्षतिमा २ सय २१ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया १ सय ९३ रनमा समेटिएको थियो ।

अष्ट्रेलिया र इंग्ल्यान्डबीच हालसम्म कुल १६ टि२० आई खेल भएका छन् । जसमा अष्ट्रेलिया ९ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एक खेल नतिजा विहिन भएको थियो । अष्ट्रेलिया कप्तान आरोन फिन्च टि२० आई करिअरमा दुई हजार रन पूरा गर्न ११ रनले पछि छन् ।

फिन्चले सन् २०१३ मा इंग्ल्यान्डविरुद्ध १ सय ५६ रनको उत्कृष्ट इनिङ खेलेपछि अष्ट्रेलियाले ६ विकेटको क्षतिमा २ सय ४८ रन बनाएको थियो । फिन्चले पछिल्लो पटक इंग्ल्यान्डविरुद्ध सन् २०१८ मा ८४ रन जोडेका थिए । फिन्च इंग्ल्यान्डलाई घातक बन्न सक्छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.