default_image

5 years ago

September 6, 2020

जमैकाको हारमा सन्दीपको औसत प्रर्दशन

139 views

0 Bookmark

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सम्मिलित जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २८ औं खेलमा बार्बाडोस ट्राइडेन्ससँग ७ विकेटले पराजित भएको छ ।

योसँगै जमैकाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै पाँचौ स्थानमा रहेर यस सिजन सम्पन्न गरेको छ ।

तीव्र गतिका बलर ओशान थोमसले पहिलो ओभरको पहिलो बलमै ओपनर जोनसन चाल्र्सलाई शून्यमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । इनसाइड एज लागेर बोल्ड आउट हुन पुगेका थिए । अर्का तीव्र गतिका बलर प्रेस्टन म्याकस्वीनले दोस्रो ओभरको दोस्रो बलमा शम्राह ब्र्रूक्सलाई ५ रनमा बोल्ड आउट गर्दै जमैकालाई राम्रो सुरुवात दिलाए । तर बार्बाडोसका कप्तान जेसन होल्डर र जोनाथन कार्टरले तेस्रो विकेटका लागि ९० रनको साझेदारी गर्दै टोलीलाई जितको आधार तय गरेका थिए ।

१३ औं ओभरको तेस्रो बलमा सन्दीपले होल्डरलाई ६९ रनमा एलबिडब्लू आउट गर्दै जमैकालाई खेलमा फर्काउन प्रयास गरेपनि अन्य बलरको साथ पाउन सकेनन् । होल्डरले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै जितको आधार तय गरे । कार्टर ४४ बलमा ४ चौका सहित ४२ रनमा अविजित रहे । मिचेल सान्टनार २१ बलमा ३ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहँदै जित पक्का गरे । सन्दीपले ४ ओभरमा २६ रन खर्चेर एक विकेट लिए । ओशान थोमस र प्रेस्टन म्याकस्वीनले एक एक विकेट लिए ।

त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जमैकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । जमैका अलराउन्डर आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ४ चौका र ५ छक्का सहित ५४ रनको योगदान दिए । अन्तिम ओभरको पाँचौ बलमा राशिद खानले रसेललाई विकेटकिपर जोनसन चाल्र्सबाट स्टम्पिङ आउट गराएका थिए ।

त्यसअघि राशिदकै १८ औं ओभरको अन्तिम बल ठूलो सट खेल्ने धुनमा रसेल मिस हुँदै स्टम्पमा लागेपनि बेल नखस्दा आउट भएनन् । जमैकाले ओपनर जर्मेन ब्ल्याकवुडलाई पहिलो पटक ओपनिङ गराएको थियो । टि२० क्रिकेटमा पहिलो पटक ओपनिङ गरेका ब्ल्याकवुडले उत्कृष्ट ब्याटिङ गर्दै सिपिएलमा पहिलो अर्ध शतक प्रहार गरे । ब्ल्याकवुडले ७४ रनको महत्वपूर्ण इनिङ खेले ।

१७ औं ओभरको चौथो बलमा कप्तान जेसन होल्डरले बोल्ड आउट गर्नुअघि ब्ल्याकवुडले ५९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । जमैकालाई ओपनर ब्ल्याकवुड र ग्लेन फिलिप्सले ५१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । आठौं ओभरको तेस्रो बलमा फिलिप्सलाई जोशुवा विशोपले १७ रनमा क्याच आउट गराउँदै साझेदारी तोडे । १३ औं ओभरको तेस्रो बलमा आसिफ अलीलाई हेडन वाल्शले जोनसन चाल्र्सको हातबाट ५ रनमा समाताए ।

त्यसपछि मैदानमा आएका रसेलले ब्ल्याकवुडसँग मिलेर तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । कप्तान रोभमान पवेल ५ रनमा अविजित रहे । बार्बाडोसका जोशुवा विशोप, हेडन वाल्श, जेसन होल्डर र राशिद खानले एक एक विकेट लिए ।

सन्दीपको चार ओभर

जमैकाले सन्दीपलाई नवौं औं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बलमा कार्टरले दुई रन लिए । सन्दीपले दोस्रो बलमा दुई र तेस्रोमा एक रन खर्चिए । चौथो बलमा होल्डर एक रन जोडे । पाँचौमा एक र छैटौ बलमा दुई रन खर्चिए । समग्रमा सन्दीपले पहिलो ओभरमा ९ रन खर्चिए ।

११ औं ओभरको पहिलो बलमा सन्दीपले होल्डरलाई डट राख्दा दोस्रो बलमा एक रन खर्चिए । तेस्रो बलमा लेग वाईका रुपमा एक रन खर्चिए । चौथो बल डट राखे । पाँचौमा एक रन खर्चिदा अन्तिम बल डट राखे । सन्दीपले दोस्रो ओभरमा दुई रन मात्र खर्चिए ।

१३ औं ओभरको पहिलो बलमा कार्टरले दुई रन लिए । दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा वाईड गरेका सन्दीपले लगत्तै होल्डरलाई ६९ रनमा एलविडब्लू आउट गर्दै जमैकालाई महत्वपूर्ण सफलता दिलाए । चौथो बल मिचेल सान्टनारलाई डट राखे । पाँचौ बलमा एक रन दिदा अन्तिम बलमा कुनै रन दिएनन् ।

सन्दीपको १५ औं ओभरको पहिलो बलमा सान्टनारले लङ अनमा उत्कृष्ट छक्का प्रहार गरे । दोस्रो बलमा दुई रन खर्चिए । तेस्रो बलमा एक रन खिए । चौथो बलमा रन दिएनन् । पाँचौ बलमा एक रन खर्चिए । अन्तिम बल पनि सन्दीपले डट राखे ।

अंक तालिका

अपराजित ट्रीनबेगो नाइट राइडर्स ९ खेलमा १८ अंकका साथ शीर्ष स्थानमा छ । एक खेल खेल्न बाँकी रहेको नाइट राइडसले सेमिफाइनलमा जमैकासँग खेल्ने छ । गुयना एमेजन वारियर्सले लिग चरणका पूरै १० खेल खेलि सक्दा ६ मा जित र ४ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ ।

सेन्ट लुसिया जुक्स ९ खेलमा ५ मा जित र ४ मा हार सहित १० अंक जोड्दै तेस्रो स्थानमा छ । दोस्रो सेमिफाइनलमा जुक्स र सेन्ट किट्स भिड्ने छन् ।

जमैका ९ खेलमा ३ मा जित र ५ मा हार सहित ७ अंक जोड्दै चौथो स्थानमा छ । एक खेल वर्षाको कारण नतिजा विहिन बनेको थियो । साविक विजेता बार्बाडोस १० खेलमा ३ मा जित र ७ मा हार सहित ६ अंकका साथ पाँचौ स्थानमा रहेर बाहिरियो । ९ खेलमा १ मा मात्र जित निकाल्न सकेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटस पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.