default_image

3 years ago

June 22, 2021

आसिफको उदयले विकेटकिपिङमा दिएको संकेत

57 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेटमा अस्थिर विकेटकिपर समस्या पछिल्ला पाँच वर्षमा ओपनिङ पछि सर्वाधिक चिन्ताको विषय हो । युवा ब्याट्सम्यान राजु रिजालबाट सुरु हुँदै दिलीप नाथ, अनिलकुमार शाह, प्रदीप ऐरी, सुवास खकुरेल र अहिले विनोद भण्डारीमा आएर नेपालको विकेटकिपरको जिम्मेवारी अडिएको छ ।

यसबीचमा अपेक्षा अनुसार कसैको ब्याटबाट पनि नियमित रन निस्कन सकेन । सन् २०१६ मा बंगलादेशमा भएको यू-१९ विश्वकपमा राम्रो प्रभाव छाडेपछि कप्तान तथा विकेटकिपर राजु रिजाललाई सिनियर टोलीको भविष्यको रुपमा हेरिएको थियो । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिप २०१५–१७ अन्तर्गत २०१६ अप्रिलमा घरेलु मैदान टियुमा नेपालले राजु र स्पिनर सन्दीप लामिछानेलेसँगै डेब्यू गरेका थिए । तर पहिलो खेलमा ६ रनमा आउट भए । दोस्रो खेलमा उनले मौका नै पाएनन् ।

नेपालले केहि भ्रमणमा उनलाई प्रयोग गर्यो । तर नेपालले २०१७ को अन्तिममा यूएई भ्रमणमा राजुलाई बाहिर राख्दै देब्रे बाँया हाते ब्याट्सम्यान दिलीप नाथलाई पहिलो पटक मौका दियो । देब्रे हाते हुँदा रणनीतिक रुपमा पनि फाइदाको लागि दीलिपलाई समेटेको तत्कालिन कप्तान पारस खड्का र प्रशिक्षक जगत टमटाले बताएका थिए । २०१८ मा जिम्बावेमा आइसिसी एकदिवसिय विश्वकप छनोटसँगै नेपालले ओडिआई मान्यता पायो । उक्त प्रतियोगितापछि दीलिप टोली बाहिर रहे ।

ओडिआई मान्यतासँगै नेपालले उमेर समूहमा राम्रो सम्भावना देखाएका अनिललाई मौका दियो । नेदरल्यान्ड्ससँगको ऐतिहासिक खेलमा डेब्यू दिएको नेपालले अनिलमाथि धेरै समय विश्वास र धैर्यता देखाउन सकेन । अनिलले सम्भावना देखाएपनि टोलीमा निरन्तरता पाउन सकेनन् । त्यसपछि टोलीमा विनोद, प्रदीप र सुवासले पूनरागमन गर्दै उक्त भूमिकामा खेले । तर एउटा भन्दा अर्को प्रतियोगितामा टिक्न सकेनन् ।

विनोदले अन्यको तुलनामा राम्रो पूनरागमन गर्दै निरन्तरता पाएका छन् । घरेलु क्रिकेटमा पनि उनी लयमा छन् । त्रिभुवन आर्मी क्लबका कप्तान विनोदले माघमा प्रधानमन्त्री कप र फागुनमा काठमाडौं मेयर कप दुबैमा सानदार शतक प्रहार गरेका थिए । वैशाख पहिलो नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक सिरिजमा उनको लक्की मैदान मानिने टियुमा ब्याटिङमा पर्याप्त अवसर पाउन सकेनन् । पाएको अवसर पनि सदुपयोग गर्न चुके ।

अष्ट्रेलिया प्रशिक्षक डेभ ह्वाटमोर आएपछि नेपालले त्रिकोणात्मक सिरिजमा ब्याटिङमा उच्च प्रदर्शनका साथ नयाँ उत्साह र आशा थपेको छ । युवा ब्याट्सम्यान आसिफ शेख र कुशल भुर्तेलले डेब्यूका साथ उत्कृष्ट प्रदर्शन गरे । विकेटकिपरको भूमिकामा विनोद हुँदा आसिफ ब्याट्सम्यानकै भूमिकामा सिमित रहे । विनोदले दुई खेलमा कुल १५ बल खेले र १५ रन बनाए । बाउन्ड्री एउटा पनि निस्केन । विनोद सट भन्दा पनि अर्को एन्डमा रहेका सेट ब्याट्सम्यानलाई स्ट्राइक दिन बढी केन्द्रित रहे ।

नेदरल्यान्ड्सँग तेस्रो खेलमा ७ बलमा ७ रन र मलेसियासँग चौथो खेलमा ८ बलमा ८ रन बनाए । एक ओभर कुनैपनि खेलाडीलाई विपक्षी बलरलाई बुझ्न समय लाग्छ । तर टि२० विशेषज्ञका रुपमा खेल्दै आएका उनले पाएको थोरै अवसर भूमिका अनुसार पूरा गर्न भने चुकेकै हुन् । दुई खेलको प्रदर्शनकै आधारमा उनको आलोचना गर्नु न्यायपूर्ण र उचित हुँदैन ।

घरेलु क्रिकेटमा आसिफले एपिएफका लागि पनि आशालाग्दो प्रदर्शन गरेका छन् । प्रशिक्षक व्हाटमोरले उनको घरेलु प्रदर्शन हेरेर नै राष्ट्रिय टोलीमा बोलाएका थिए । उनले पहिलो सिरिजमा आफूलाई सिद्ध पनि गरे । भलै त्यो टि२० सिरिज थियो, आसिफले आफ्नो भूमिकाअनुसार प्रदर्शन गरे । ब्याटिङ प्रदर्शनमा जोड दिने हो भने विकेटकिपरको दीर्घकालीन विकल्पका रुपमा नेपाली क्रिकेटमा आसिफ शेख पक्कै देखिएका छन् ।

युवा ओपनर आसिफले त्रिकोणात्मक सिरिजमा डेब्यू गर्दै गज्जबको प्रदर्शन गरे । डेब्यू खेलमा ५४ रन बनाएका आसिफले सिरिजभर राम्रो प्रदर्शनका साथ निराश बनेको ओपनिङमा नयाँ हौसला ल्याउन सफल भए । आसिफले लगातार परिवर्तन विकेटकिपरमा दीर्घकालिन समाधानको आशा देखाएका छन् । उत्कृष्ट ओपनिङसँगै अव आसिफबाट विकेटकिपर समस्या अन्त्य हुने आशा गरिएको छ ।

आगमी टि२० विश्वकप छनोट र एकदिवसिय मान्यता २०२३ विश्वकप छनोट अव नेपालले खेल्ने प्रमुख प्रतियोगिता हुन् । उक्त प्रतियोगिता सम्म नेपालले विकेटकिपरसँगै ओपनर देखि फिनिसर सम्म उत्कृष्ट खेलाडी तयार पार्नुपर्छ । अन्यथा विश्वकपको शिखरको सफलतामा पुग्न कठिन देखिन्छ ।

पछिल्लो पाँच वर्ष आइसिसीको निलम्बनले क्यान अस्तित्वमै रहेन । क्यान नहुँदा छनोट समिति हुने कुरै भएन । त्यसैले कप्तान र प्रशिक्षकले आफ्नै रणनीतिमा खेलाडी प्रयोग गरे । प्रदर्शन कमजोर हुँदा प्रश्न गर्ने ठाउँपनि थिएन । खेलाडी आउन र जान भन्दा बढी उपलब्धी हुन सकेन ।
नेपालको विकेटकिपर अस्थिर हुनुको मुख्य कारण खेलाडीमाथि धैर्यताको कमी, आशा र अपेक्षा बढी, दीर्घकालिन योजनाको अभाव, आत्माविश्वासको कमी लगायत छन् ।

एउटा खेल र प्रतियोगितामा राम्रो प्रदर्शन गरे राष्ट्रिय टोलीमा मौका पाउने सम्मको अवस्था नेपाली क्रिकेटमा पछिल्लो समय आएको थियो । त्यसैले खेलाडी पनि पछिल्लो समय खेलाडीको बढी गैरजिम्मेवार अर्को चिन्ताको विष्या बन्न थालेको छ । उमेर समूह र घरेलु प्रतियोगिताबाट खेलाडीलाई पोक्त बनाउनुपर्छ । अझ सी, बी र ए टोली हुँदै सिनियर टोलीसम्म ल्याउन सके झनै राम्रो हुने थियो । राष्ट्रिय जर्सीको सपना सहजै होईन निकै मिहिनेत र संघर्ष गर्नुपर्ने वातावरण बनाउन आवश्यकछ ।

खेलाडीलाई राष्ट्रिय टोलीमा मौका दिँदा उदेश्य स्पष्ट हुनुपर्छ । अनिलले २ ओडिआई, १ टि२० आई र ७ लिष्ट ए खेलपछि पुन मौका पाएनन् । युवा अनिल नेपाली क्रिकेटका भविष्य हुन् भन्दै गर्दा औसत प्रदर्शनका बाबजुद उनलाई अर्को मौका दिइएन । एउटा प्रतियोगितामा भएको गल्तीबाट पाठ सिकेर अर्को खेलमा सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्ने वातावरणबाट उनलाई बन्चित गरियो । अनिल एक एक उदाहरण मात्र हुन् ।

गल्तीबाट पाठ सिक्दै राम्रो प्रदर्शन हुने हो । तर नेपालमा गल्तीबाट सिकेर त्यसलाई परिस्कृत गर्न दिने वातावरण देखिदैन । । कुनैपनि खेलाडीको प्रदर्शन राम्रो होस् वा नहोस उसलाई केहि समय मौका दिनुपर्छ । त्यो भन्दा अझ ठूलो प्रश्न राष्ट्रिय टोलीबाट लामो समय देखि खेल्दै आएका खेलाडीनै रन बनाउन सक्दैनन् भने भर्खरका युवा खेलाडीले कसरी सक्छन् उठेको थियो ।

ज्ञानेन्द्र मल्लले रन बनाउन संघर्ष गरेको बेला जसरी टोलीमा मौका र साथ पाए त्यसरीनै ओपनर र विकेटकिपरमा युवा खेलाडीले निरन्तरता पाएको भए सायद दीर्घकालिन समाधान निक्लिसकेको हुन्थ्यो । ज्ञानेन्द्र पनि पार्टटाईम विकेटकिपर हुन् । २०१२ को टि२० विश्वकप पछि उनले सिनियर टोलीमा विकेटकिपरको भूमिका भने देखिएका छैनन् ।

नेपालको अब विश्वकप छनोटमा कुन भूमिकामा कुन खेलाडीलाई लैजाने स्पष्ट रणनीति बनाउन आवश्यक देखिन्छ । विश्वकप छनोट खेल्ने खेलाडी अन्तर्राष्ट्रिय खेलको अनुभव भएको हुनुपर्छ । एउटा घरेलु प्रतियोगिता राम्रो खेल्दैमा मौका पाउने होईन । अझ सकेसम्म टि२० र एकदिवसियका लागि फरक योजनाका साथ तयार पार्न सके झनै राम्रो हुने छ ।

त्रिकोणात्मक सिरिजको प्रदर्शनले आसिफ पहिलो रोजाईमा खेल्ने सम्भावना छ । जसरी टोलीको समीकरण बनेको छ, भविष्यको लागि हेर्ने हो भने आसिफलाई ओपनरसँगै विकेटकिपरको भूमिकाबारे टोलीले सोच्नपर्ने देखिन्छ । पछिल्ला दुई घरेलु प्रतियोगितामा पनि विकेटकिपरमा सर्वाधिक उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी त्रिभुवन आर्मी क्लबका विनोद र एपिएफका आसिफ हुन् ।

एपिएफमा आसिफ र सुबास दुबैले ओपनिङ गरेका थिए । नेपाल पुलिस क्लबका अनिलको प्रदर्शन पनि त्यति राम्रो हुन सकेन । आर्मीका राजु विनोदको छाँयामा पर्दा र दिलीप लय बाहिर छन् । प्रदेशका टोलीमा पनि विकेटकिपरको प्रदर्शन राम्रो देखिदैन । लामो समयदेखि राष्ट्रिय टोलीमा रहेका विनोदको उमेर ढल्किदै छ । विश्वकपका लागि उनी प्रशिक्षकको योजनामा कस्तो भूमिकामा छन्, त्यसले नै उनको भविष्य बताउनेछ ।

आसिफले विकेटकिपरमा दीर्घकालिन समाधान बन्न सक्छन् भन्ने संकेत दिएका छन् । आगामी प्रतियोगिता र सिरिजमा नेपालले परिक्षण गरेर नतिजामा पुग्न आवश्यक छ । ब्याटिङमा सुखद सुरुवात गरेका उनलाई विकेटकिपिङको जिम्मेवारीले दबाब नपरोस् भन्नेबारे पनि सोच्न जरुरि छ । त्रिकोणात्मक सिरिजमा आसिफले जुन प्रदर्शन गरे त्यसले सम्भावनाको ढोका भने खोलेको छ । आउने दिनमा यसलाई परिस्कृत गर्दै आसिफ विकेटकिपिङको दीर्घकालीन समाधान बन्न सके नेपाललाई दोहोरो फाइदा पक्कै हुनेछ ।

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

Success

Thank you for your time.