4 years ago
August 4, 2021
भूपेन्द्र जिसी, काठमाडौं
पारस खड्का, नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान र खेलाडी । यस्ता व्यक्तित्व जसले राष्ट्रिय क्रिकेट टोली मात्र नभएर नेपाली क्रिकेटलाई निकै कठिन परिस्थितिबाट अगाडि बढाउँदै टि२० विश्वकप र ओडिआई मान्यता सम्मको सफलता दिलाए । नेपाली क्रिकेटमा युगान्तकारी परिवर्तन ल्याउन मैदान भित्र र बाहिर उत्तिकै डटेर लागेका पारसले मंगलबार आश्चर्य रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । र उनको करिअर ग्राफ हेर्ने हो भने सफलताले भरिपूर्ण करिअरको अन्त्य भने निरस रह्यो ।

पारस नेपाली क्रिकेट इतिहासका खम्बा हुन् । नेपालले विश्व क्रिकेटमा जतिपनि ठूला उपलब्धि हात पारेको छ त्यसको असली नायक हुन् पारस । उच्च प्रदर्शन र कुशल नेतृत्व क्षमताले भरिपूर्ण । नेपाली क्रिकेटलाई लगातार सफलता दिलाउँदै समर्थकलाई एकपछि अर्को खुसी दिए । मैदानमा उत्रेपछि सायदै आशाका केन्द्र पारसको आकस्मिक बहिर्गमनले समर्थकमाझ निराशा छाएको छ ।
अकस्मात आएको यस निर्णयले उनको बिदाइ केहि निरस भएको आँकलन गर्न सकिन्छ । पारसले पछिल्लो दशकमा मैदानभित्र दिएको योगदानलाई समर्थकले कम्तिमा पनि मैदानमै पुगेर बिसाउन चाहन्थे । त्यसो त पारस आफैंले पनि यस्तै सोचा राखेको हुनुपर्छ, तर कोरोना महामारी र पछिल्लो समय क्रिकेट गतिविधि नै नहुनुले त्यसो हुन सकेन ।
पारस नेपाल मात्र नभएर एसोसियट टोलीकै स्टार अलराउन्डर हुन् । विकासोन्मुख क्रिकेट राष्ट्रका लागि उदाहरणीय कप्तान हुन् । क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नै पछिल्लो एक दशक यताकै सर्वोत्कृष्ट एसोसिएट खेलाडीमध्यमा समेटेका पारसले सामाजिक सञ्जालको पोष्टमार्फत सन्न्यासको घोषणा गरे ।
झट्ट हेर्दा र सुन्दा पत्याउनै गाह्रो । तर यो यथार्थ र सत्य थियो । नेपालका खेलाडी, पदाधिकारी र क्रिकेटप्रेमी समर्थक मात्र नभएर खेलमा कमै ध्यान दिने आम दर्शकले पनि उनको सन्न्यासबारे चासो लिए । एसोसिएट क्रिकेटका केहि खेलाडीले व्यक्तिगत रुपमा नै पारससँग खेल्न पाएकोमा खुसी व्यक्त गर्दै उनलाई शुभकामना दिए ।

पारस नेपाली युवा पुस्ताका लागि खेलाडी मात्र नभएर एक उदाहरणीय व्यक्तित्व हुन् । जति स्तरीय खेलमा पारसको ब्याटिङ, बलिङ र फिल्डि थियो । उनको नेतृत्व क्षमताले उनलाई एक सफल कप्तानी र कुशल व्यवस्थापकको रुपमा स्थापित गर्यो । मैदानभित्र पारसले सायदै कुनै खोट लगाउने कुनै ठाउँ दिए ।
पारसले आफ्नो खेलाडी करीअरमा टि२० विश्वकप, ओडिआई मान्यता हासिल गर्दै नेपाललाई टेस्ट मान्यताको दावी गर्ने हैसियतमा पुर्याएका छन् । अहिलेको अवस्थामा नेपाललाई टि२० विश्वकप र ओडिआई मान्यता उपलब्धि भन्दापनि आवश्यकता बनिसकेको छ । तर दशकअघि नेपालको लागि यहि नै सपना थियो । सायद धेरैले त्यो स्तर पुग्न सक्नेमा शंका नै व्यक्त गरे ।
पारसलाई नेपाली क्रिकेटमा ‘वान म्यान आर्मी’अर्थात एकल योद्धा समेत भन्ने गरिन्थ्यो । क्यान विवादमा फसेर प्रतिबन्धमा परेपछि पारसको नाम क्रिकेटकै पर्यायको रुपमा रहयो । उनले यसबीचमा गरेको योगदान हेर्दा पारस विनाको नेपाली क्रिकेट इतिहास अपूरो नै हुन्छ । मैदान बाहिर पनि आवश्यकता पर्दा टोलीका लागि अग्रसर पारसले फेरी एकपटक टोलीलाई नै अघि राख्दै आफू बिदा भए ।
नेपालबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बनेका अधिकांश कीर्तिमान पारसकै नाममा छन् । सिमित स्रोत र साधनकाबीच नेपाललाई एक पछि अर्को ठूलो सफलता दिलाउने विश्व क्रिकेट जगतकै उदाहरणीय कप्तान पारसको अन्त्य भव्य बिदाइ र राष्ट्रिय सम्मानका साथ गर्नुपर्ने थियो । क्यानले अब पारसको बिदाई कसरी गर्न त्यो हेर्न बाँकी छ । तर २०१९ मा कप्तानी छाडेको शैलीलाई दोहोर्याउँदै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएका छन् । महान् खेलाडीले सामान्य शैलीमा आफ्नो करीयर विश्राम गरेका छन् ।

पारसको उमेर र प्रदर्शनलाई हेर्ने हो भने उनले केहि हतार गरेजस्तो पनि देखिन्छ । गत फागुनमा काठमाडौं मेयर्स कपमा बागमी प्रदेशबाट त्रिभुवन आर्मी क्लबविरुद्ध सानदार शतकका साथ राम्रो लयको संकेत पनि दिएका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि चोटका कारण पछिल्लो समय केहि विश्राममा रहेपनि उनले लय गुमाएका थिएनन् ।
सन् २००२ मा यूएईमा भएको यू१५ एसिया कपबाट पारसको नेपाली क्रिकेटमा यात्रा सुरु भएको थियो । सन् २००३ मा नै उनले यू१९ टोलीमा स्थान बनाउन सफल रहे । त्यसको एक वर्षपछि नै उनले मलेसियाविरुद्ध खेलाडी सिनियर राष्ट्रिय टोलीबाट डेब्यू गरे । पारसले नेपालबाट २००४, २००६ र २००८ मा लगातार तीन यू१९ विश्वकप खेले ।
सन् २००४ मा बंगलादेशमा भएको यू१९ विश्वकपमा पारसले ५ खेलमा ८३ रन बनाउँदा ४ विकेट लिएका थिए । २००६ को यू१९ विश्वकप कनिष्क चौगाईंको कप्तानीमा पारसले श्रीलंका यू१९ विश्वकप खेले । नेपालले प्लेट फाइनलमा न्युजिल्यान्डलाई एक रनले हराउँदै नेपालले पहिलो पटक उपाधि जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए । उक्त यू१९ खेलमा पारसले १ सय ५ रन बनाएका थिए । बलिङतर्फ ७ विकेट लिएका थिए ।
नेपालले प्लेट च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २ रनले पराजित गरेको थियो । उक्त विश्वकपमा समूह चरणमा टेस्ट टोली जिम्बावेविरुद्ध पारसले ९ ओभरमा १ मेडन सहित २८ रन खर्चेर ४ विकेट लिएका थिए । २००८ मा मलेसियामा भएको यू१९ विश्वकपमा पारसले नेपालको नेतृत्व गरे । पारसले ६ खेलमा १ सय १३ रन बनाउँदा १२ विकेट लिदै सानदार प्रदर्शन गरेका थिए ।

नेपाल प्लेट फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो । जिम्बावेविरुद्ध र अष्ट्रेलियाविरुद्ध ४ विकेट लिदै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले २००८ को डिभिजन पाँच लगायत सिनियर टोलीका सबै खेल खेलिनै रहे । उमेर समूह कप्तानीबाट तत्कालिक प्रशिक्षक रोय डास लुकाकुले पारस भविष्यको कप्तान बताई सकेका थिए ।
२००९ मा तत्कालिन कप्तान विनोद दासलाई प्रतिस्थापन गर्दै एसीसी टी२० एलिट कपमा मलेसियाविरुद्ध पारसले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गरेका थिए । दुर्भाग्य उक्त खेलमा नेपाल ६ विकेटले स्तब्ध भएको थियो । सन् २०१० मा घरेलु मैदानमा भएको आइसिसी वल्ड डिभिजन पाँचको उपाधि दिलाउदै पारसले नयाँ आयम दिए । घरेलु मैदान टियुमा अमेरिकालाई पाँच विकेटले हराउँदै नेपाललाई पहिलो पटक आइसिसीको पहिलो ठूलो उपाधि जिताएका थिए । नेपाली क्रिकेट विकासमा उक्त उपाधि टर्निङ प्वाइन्ट मानिन्छ ।
२०११ डिसेम्बरमा नेपालमा भएको एसिसी टि२० ट्रफीमा पनि पारसले उत्कृष्ट प्रदर्शन गरेका थिए । पारसले सन् २०१२ मा मलेसियामा भएको आईसीसी वोल्ड क्रिकेट लिग डिभिजन फोर–४ को उपाधि जिताए । फाइनलमा अमेरिकालाई ८ विकेटले पराजित गरेको थियो । त्यसैवर्ष वर्ष अक्टोबरमा यूएईमा भएको एसीसी टफी इलिटको उपाधि पनि पक्का गराए ।
जुन प्रतियोगितामा पारसको प्रदर्शन सर्वोत्कृष्ट रह्यो । नेपालले फाइनलमा अन्तिम ओभरमा १२ रन चाहिँएको अवस्था ११ रन जोड्दै युएईसँग संयुक्त रुपमा उपाधि बाँडेको थियो । जसक्रममा करीअरको पहिलो शतक प्रहार गर्नेक्रममा पारसले कुवेतविरुद्ध ७७ बलमा १ सय ६ रनको अविजित इनिङ खेलेका थिए । हङकङविरुद्ध ६१ इनिङ खेलेका थिए । सेमिफाइनलमा मलेसियालाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाउन पारसले ८९ रनको कप्तानी इनिङ खेलेका थिए । पारस प्रतियोगिता प्लेयर अफ द सिरिज चुनिए ।
२०१२ मा यूएईमानै भएको टि२० विश्वकप ग्लोबल छनोटमा पारसले हङकङविरुद्ध ६६, बर्मुडाविरुद्ध ६५, पपुवा न्युगिनीविरुद्ध ६२ रनको इनिङ खेलपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा सातौं स्थानमा रहँदै बाहिरिएको थियो । २०१३ मा यूएईमा भएको टि२० ग्लोबल छनोटमा नेपालले इतिहास रच्न सफल भयो । पारसको प्रदर्शन महत्त्वपूर्ण थियो ।

पहिलो खेलमा डेनमार्कलाई ५ विकेटले हराउन ४८ रन जोडेका पारसले दोस्रो खेलमा केन्यालाई पराजित गर्न ५४ रनको अविजित इनिङ खेलेका थिए । विश्वकपमा स्थान बनाउन निर्णायक क्वाटरफाइनल खेलमा पारसले हङकङविरुद्ध ४६ रनको प्लेयर अफ द म्याच इनिङ खेलेका थिए । जुन खेलमा नेपालले हङकङलाई पाँच विकेटले हराउँदै पहिलो पटक टि२० विश्वकपमा स्थान पक्का गर्यो ।
२०१४ मा नेपालले बंगलादेशमा भएको टि२० विश्वकपमा पहिलो पटक सहभागिता मात्र जनाएन सानदार प्रदर्शनका साथ फर्किएको थियो । उत्कृष्ट प्रदर्शनका साथ हङकङ र अफगानिस्तानलाई पराजित गर्दा बंगलादेशसँग हार्न पुगेको थियो । उक्त विश्वकपमा पारसको कप्तानी र प्रदर्शन दुबै सानदार रह्यो । जुन विश्वकप नेपाली क्रिकेट मात्र नभएर खेलकुदले नै पाएको सर्वाधिक ठूलो सफलता थियो ।
त्यसअघि सन् २०१३ मा बर्मुडामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रि-३ को उपाधि जिताउँदै पारसले नेपालको विश्व क्रिकेटमा ठूलो सम्भावना रहेको देखाए । एक पछि अर्को सफलता दिलाउने क्रममा पारसले सन् २०१४ मा मलेसियामा भएको डिभिजन ३ को उपाधि पनि नेपालको नाममा लेखाए ।
विश्वकपपछि नेपाली क्रिकेटको लोकप्रियता ह्वात्तै बढ्यो । पारसले पनि यति धेरै लोकप्रियता बढ्ला भनेर कहिले नसोचेको बेला बेलामा बताउने गर्दछन् । मैदानभित्र खेलाडीले उत्कृष्ट प्रर्दशन गरिरहँदा यता नेपाल क्रिकेट संघ (क्यान) भद्रगोल बनिरहेको थियो । खेलाडीनै क्यानविरुद्ध आन्दोलनमा उत्रनुपर्ने वातावरण सिर्जना भयो । सन् २०१५ मा आइसीसी टि ट्वान्टी विश्वकप छनोटमा खराब प्रर्दशन गर्दै बाहिरिएपछि नेपाली क्रिकेट केहि समय सुनसान जस्तै बन्न पुग्यो । तर कप्तान पारस आत्तिएनन् ।

अनेक चरणका विवादपश्चात २०१६ मा नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा पर्यो । क्यान निलम्बन भएपनि पारसले आइसिसीसँग राम्रो समन्वय गर्दै कुनैपनि प्रतियोगिता खेल्नबाट बञ्चित हुन दिएनन् । २०१६ मा नेपालले पहिलो पटक क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा खेल्न पायो । जसमा एमसीसीलाई ४१ रनले पराजित गर्दै सनसनी मच्चायो । लर्ड्स खेलेपछि सबै खेलाडीले सपना जस्तो लागेको बताएका थिए ।
क्यान निलम्बनमा परेपनि आईसीसीको समन्वयमा नेपालले आईसीसी विश्व क्रिकेट लिगमा सन् २०१५ देखि २०१८ सम्म प्रतिस्पर्धा गर्यो । जसअन्तर्गत सन् २०१६ मा कीर्तिपुर मैदानमा आईसिसी विश्व क्रिकेट च्याम्पियन्स लिग अन्तर्गत नामिबियासँगको दोस्रो खेलमा कप्तान पारसले शतक प्रहार गर्दै सहज जित दिलाए ।
घरेलु मैदान चारैतिर खचाखत दर्शकम सामू २ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा पारसले ९४ बलमा ५ चौका र ७ छक्का सहित १ सय ३ रनको उत्कृष्ट इनिङ खेले । कमजोर ब्याटिङको इतिहास बोकेकोए नेपालले उक्त लक्ष्य पछ्याउने कमैले आशा राखेका थिए । तर पारसले हजारौं समर्थकलाई निराश हुन दिएनन् ।
दुई वर्ष सम्म चलेको च्याम्पियनसिपमा पारसले १ शतक र ३ अर्धशतक सहित कुल ४ सय ८ रन बनाएका थिए । ८ राष्ट्र सम्मिलित आईसीसी विश्व क्रिकेट च्याम्पियन्स लिग नेपाल सातौं स्थानमा रहेपछि शीर्ष चारमा रहेर सोझै एकदिवसिय विश्वकप छनोट खेल्ने अवसर नेपाल गुमायो ।

सन् २०१८ मा नामिबियामा भएको डिभिजन २ मा कप्तान पारस खड्काले नेपाललाई शीर्ष स्थानमा रहँदै जिम्बावेमा हुने एकदिवसिय विश्वकप छनोटमा स्थान पक्का गरे । जसअन्तर्गत फाइनलमा यूएईविरुद्ध १ सय ३ बलमा ३ चौका र ८ छक्का सहित १ सय १२ रनको अविजित शतकीय इनिङ खेलेका थिए । दुर्भाग्य २ सय ७८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ७ रनले पराजित भएको थियो । त्यसै प्रतियोगितामा क्यानडाविरुद्ध रोमाञ्चक जित पारसको करीअरमा सधैं यादगार रहि रहने छ । प्रतियोगितामा सर्वाधिक रन बनाउने क्रममा पारसले ६ खेलमा २ सय ४१ रन जोडे ।
२०१८ मार्चमा भएको आईसीसी एक दिवसिय विश्वकप छनोटमा १० टोली सहभागि प्रतियोगितामा नेपाल आठौं स्थानमा रहेपछि पहिलो पटक वान डे अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त गर्यो । नेपालले हङकङ र पप्पुवा न्युगिनीलाई हराउँदै पहिलो पटक मार्च १५ मा वान डे मान्यता पक्का गर्यो । जुन एक दशकदेखि नेपालले देखोको सपना थियो । ओडीआई मान्यता पाउन पारसको कप्तानी पनि उत्तिकै उत्कृष्ट थियो । पारस चल्थें त नेपालले जित्थ्यो । पारस चल्दैन थिए त नेपालले हाथ्र्यो । त्यसैले त पारसलाई वान म्यान आर्मी भनिन्थ्यो ।
नेपालले सन् २०१८ अगष्ट १ मा नेदरल्यान्डसँग ओडीआई डेब्यू गर्दै इतिहास रच्यो । पहिलो खेलमा नेपाल ५५ रनले पराजित हुन पुग्यो । दोस्रो खेलमा रोमान्चक १ रनको जित निकाल्दै नेपालले पहिलो ओडीआई जितको इतिहास रच्यो । पहिलो ओडीआई जिताउन कप्तान पारसले ५१ रन बनाउनुको साथै महत्वपूर्ण १ विकेट लिए । अन्तिम बलमा रोमान्चक जित दिलाएको तीन वर्षपछि अगष्ट तीनमानै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । त्यसैले अगष्ट तीन नेपाली किकेटका लागि अझ विशेष बनेको छ ।
पारसले २०१९को सुरुवातमै नेपाललाई अर्को एतिहासिक सफलता दिलाए । यूएईसँगको तीन ओडीआई सिरिज २–१ ले जिताउदै इतिहास रचे । पारसल तेस्रो खेलमा १ सय १५ रनको शतकीय इनिङ खेल्दै नेपालबाट ओडीआईमा शतक पुरा गर्ने पहिलो ब्याट्सम्यान समेत बने । त्यस्तै यूएईसँगको तीन टि२० सिरिज पनि २–१ ले जित्दै इतिहास रच्न सफल भयो ।

नेपालले २०१८ अक्टोबरमा आईसीसी वोल्ड टि ट्वान्टी एसिया रिजन बी को उपाधि जित्यो । जुन नेपालले टि२० प्रतियोगितामा जितेको पहिलो ट्रफी थियो । २०१९ जुलाईमा सिंगापुरमा सम्पन्न आईसीसी टि ट्वान्टी विश्वकप एसिया छनोटमा खराब प्रर्दशन गर्दै बाहिरिएपछि भने खेलाडी,समर्थक र शुभचिन्तक सबै निराश बने । सम्भवत उनको करीअरमा नेपालले हासिल गरेको खराब नतिजामध्यमा थियो । कतार र सिंगापुरसँग पराजित हुँदै बाहिरिनु परेको थियो ।
त्यसअघि नेपालले सिंगापुर,जिम्बावेसँगको त्रिकोणात्मक सिरिजमा मध्यम प्रर्दशन गरेको थियो । सिंगापुरलाई ९ विकेटले पराजित गर्नेक्रममा पारस खड्काले १ सय ६ रनको अविजित इनिङ खेल्दै इतिहास रचेका थिए । पारस नेपालबाट टि ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । लक्ष्य पछ्याउने क्रममा टि ट्वान्टी आईमा शतक प्रहार गर्ने विश्वको पहिलो कप्तान पनि बने ।
त्यसकै एक सातापछि पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिजमा पनि पारसले प्रर्दशन उत्कृष्ट प्रदर्शन गरे । प्राप्य कप्तान र खेलाडी आफ्नो र टोलीको प्रर्दशन खराब भएमा, उमेर ढल्किदै गएमा, अर्को उत्कृष्ट कप्तान वा युवा खेलाडी देखिएमा राजीनामा दिने गर्दछन् । तीन वर्ष क्यानमा लागेको आइसिसी निलम्बन सशर्त फुकुवा भएको २४ घण्टा बित्न नपाउँदै पारसले असोज २७ मा कप्तानी छाडेका थिए । २०१९ अक्टोबर १० मा ओमानविरुद्ध खेलनै पारसले नेपालका लागि गरेको अन्तिम कप्तानी खेल बन्यो ।
नेपाली क्रिकेटमा एक दशक लामो यात्रा गर्ने उनी एक्लो कप्तान हुन् । सर्वाधिक कप्तानी, रन, उपलब्धि, पहिलो ओडिआई शतक, टि२० आई शतक, टि२० आई र ओडिआई सिरिज लगायत जतिपनि सफलता आउँछ त्यससँगै पारसको नाम जोडिएको हुन्छ । पारस विना नेपाली क्रिकेट कहिल्यै पूरा हुने छैन ।

पारसले कप्तानी छाडेपछि पारसले १३ औं दक्षिण एसियाली खेलकुद साग, २०२० को सुरुवातमा नेपालमा भएको ओमान र अमेरिकासँग आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज हुँदै मार्चमा एसिसी इस्टर्न रिजन खेलेका थिए । थाईल्यान्डविरुद्ध २०२० मार्च ४ मा खेलेको खेल नै उनको अन्तिम अन्तर्राष्ट्रिय खेल बनेको छ ।
पारसले नेपालका लागि १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टि२० खेलेका छन् । पारसले ओडिआईमा २०१८ अगष्ट ए मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए । अन्तिम ओडिआई खेल घरेलु मैदानमा अमेरिकाविरुद्ध २०२० फेब्रुअरी १२ मा खेले । पारसले ओडिआईमा एक शतक सहित कुल ३ सय १५ रन बनाएका छन् । पारसले ओडिआईमा ९ विकेट लिदा उत्कृष्ट प्रदर्शन ४–२६ छ ।
पारसले ३३ टि२० आई खेलमा १ शतक र ४ अर्धशतक सहित कुल ७ सय ९९ रन बनाएका छन् । ८ विकेट लिएका छन् । टि२० विश्वकपमा बंगलादेशविरुद्ध टि२० आईमा डेब्यू गरेका पारसको अन्तिम खेल थाईल्यान्डविरुद्ध रह्यो । लिष्ट ए मा पारसले ३ शतक र ९ अर्धशतक सहित कुल १ हजार ४ सय ९७ रन बनाउँदा २६ विकेट लिएका छन् । पारसले टि२० क्रिकेटमा कुल २८ विकेट लिदा १ हजार ३ सय १७ रन जोडेका छन् ।
पारस नेपाली क्रिकेटका महान् खेलाडी हुन् । पारसले क्यानसँग कुनै छलफल विनानै सन्न्यासको घोषणा गरे । पारस क्यान नेतृत्वमा जान चाहन्छन् । वर्तमान क्यानका पदाधिकारीसँग क्यानको सम्बन्ध राम्रो छैन । तरपनि क्यानसँग छलफल गर्दै राम्रो बिदाईका साथ सन्न्यास लिन पाएको सुनमा सगन्ध हुन्थ्यो । कुनैपनि खेलाडीको लागि डेब्यू र सन्न्यास पल निकै महत्वपूर्ण र कठिन हुन्छ । डेब्यूमा जति हर्ष हुन्छ सन्न्यासमा त्यतिनै पिडा ।

अब नेपाली क्रिकेटमा ७७ नम्बरको जर्सीमा पारस देखिने छैनन् । उनको त्यो उचाई, प्रदर्शन र कप्तानीको अभाव खड्किन सक्छ । दुई वर्षपछि हुने क्यान निर्वाचनको लागि असोज अघिनै पारसले सन्न्यास लिइसकेको हुनुपर्ने थियो । त्यसैले पारसले नेपालबाट खेल्ने ईच्छा हुँदाहुँदै पनि सन्न्यासको घोषणा गरेका आँकलन गर्न सकिन्छ ।
पारसले कम्तिमा २०२३ को ओडिआई मान्यता सम्म खेल्नुपर्ने देखिन्थ्यो । २०२३ मा आडिआई मान्यतालाई निरन्तरता दिँदै पारसले सन्न्यास लिएको भए अझ राम्रो हुन्थ्यो । पछिल्लो समय युवा खेलाडीले राम्रो संकेत दिएका छन् । एक खेलाडीमा मात्र निर्भर छैन भन्ने सन्देश दिएका छन् । तर पारसको अनुभव अहिलेका युवा खेलाडीको लागि निकै आवश्यक देखिन्छ ।
क्रिकेट विकासको लागि पारसले खेलाडी खेलेर मात्र नहुने बताउँदै आएका छन् । क्यानमा पनि कुशल नेतृत्व हुनुपर्ने लगातार माग उठाउँदै आएका छन् । मैदानमा पारसको जस्तै क्यानमा नेतृत्वको पर्खाइमा नेपाली क्रिकेट छ । पारस त्यो आवश्यकता पूरा गर्न चाहन्छन् । पारसको अबको मुख्य लक्ष्य दुई वर्षपछि चुनाव जित्ने हुनेछ । त्यसको सहज छैन र त्यति धेरै कठिन पनि छैन । विकास भएन भनेर निराश बनेको जिल्ला र प्रदेशको मन र विश्वास भने जित्न आवश्यक देखिन्छ । जुन कुरा पारसलाई राम्रोसँग थाहा छ र त्यहिँ तयारीको लागिनै सन्न्यास लिएका हुन् ।

डिभिजन पाँचबाट नेतृत्व समालेका पारसले आफूले छोड्दा ओडिआई टोली मात्र बनाएका छैनन् । एसोसियटको प्रमुख दाबेदार टोलीमा उभ्याएका छन् । टेस्टको सपना देखाएका छन् । विश्वले नेपाली क्रिकेटलाई हेर्ने नजर फेरिदिएका छन् । व्यावसायिक फ्रेन्चाइज लिगमा विदेशी टोलीको नजरमा नेपाली खेलाडी पर्ने स्तरमा पुर्याएका छन् । नेपाली क्रिकेटमा खेलाडीको रुपमा पारस युगमो अन्त्य भएको छ । तर क्यानमा भने सुरु हुनेछ । खेलाडी जीवनमा जस्तै क्यानमा नेतृत्व सफलता पूर्वक निर्वाह गर्न सके नेपाली क्रिकेटले थप नयाँ उचाई छिट्टै लिनेछ ।
क्यानमा कुशल नेतृत्व नहुँदा पारसले आफ्नो खेलाडी जीवनमा थुप्रै समस्या सामना गरे । तर पारसले अब आउने खेलाडीमा त्यो अभाव हुन नदिने प्रयास गर्नेछन् । नेपाली टोलीबाट सन्न्यास लिँदै क्यान नेतृत्वमा गएर क्रिकेटलाई अर्को स्तरमा लाग्ने उनको सपना छ । खेलाडी जीवनमा जस्तै अर्को इनिङमा प्रवेश गर्न लागेको उनको सफलताको कामना सबैले गर्नेछन् । नेपाली क्रिकेटका धरोहर पारसलाई नेपाल मात्र नभएर विश्व क्रिकेटलेनै मैदानमा भने पक्कै मिस गर्नेछ ।
यो पनि : पारसले सन्न्यास लिनुका पाँच कारण
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]