default_image

4 years ago

September 10, 2021

सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित

265 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लेगस्पिनर सन्दीप लाछिमानेले घातक बलिङगर्दै करिअरकै उत्कृष्ट प्रदर्शन गर्दा नेपालले पपुवा न्युगिनीमाथि कीर्तिमानी जित हात पारेको छ । नेपालले पिएनाजीलाई दोस्रो ओडिआई खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिलो खेलमा २ विकेटको जित हासिल गरेको नेपालले सिरिज २-० ले जितेको छ ।

नेपाली क्रिकेटको ओडिआईमा यो नै सर्वाधिक ठूलो जित हो । जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पिएनजी १९.१ ओभरमा ८२ रनमा अल आउट भयो । यसअघि नेपालको ओडिआईमा सर्वाधिक ठूलो जित यूएईविरुद्ध २०१९ मा १ सय ४५ रनको रहेको थियो ।

ओपनर लेगा सियाकालाई तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको तेस्रो बलमा ४ रनमा बोल्ड आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अर्का तीव्र गातिका बलर विक्रम सोबले कप्तान असाद भालालाई चौथो ओभरको पाँचौं बलमा विकेटकिपर विनोद भण्डारीबाट एक रनमा क्याच गराउँदै पिएनजीलाई ११–२ को अवस्थामा पुर्याए ।

दशौं ओभरको चौथो बलमा टोनी उरालाई रोहितले १९ रनमा रन आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाए । उराले ३५ बलमा २ चौका प्रहार गरे । त्यसपछि सन्दीप पिएनजीको ब्याटिङ ध्वस्त बनाएका थिए । सन्दीपले १२ औं ओभरको दोस्रो बलमा चार्ल्स अमिनीलाई १६ रनमा एलबीडब्लू आउट गरे । अमिनिले २५ बलमा १ चौका प्रहार गरे । सन्दीपले विकेटकिपर किप्लिङलाई ४ रनमा बोल्ड आउट गर्दा पिएनजी १३.४ ओभरमा ५२–५ को दयनीय अवस्थामा पुगेको थियो ।

सन्दीपले १६ औं ओभरको अन्तिम बलमा सेसे बाउलाई ११ रनमा बोल्ड आउट गरेपछि नेपाल जिततर्फ उन्मुख भएको थियो । सन्दीपले १८ औं ओभरको गौडी टोकालाई १० रनमा क्याच आउट गराए । यसै ओभरको अन्तिम बलमा चन्द सोपरलाई शून्यमा बोल्ड आउट गर्दै दोस्रो पटक ओडिआईमा पाँच विकेट लिन सफल भए । सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिए । सोमपाल कामी, विक्रम सोब र सुशान भारीले एक एक विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा २ सय ३३ रनमा अल आउट भएको थियो । नेपालका लागि युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले १ सय २३ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ८६ रनको योगदान दिए । करण केसीले तल्लोक्रममा २६ बलमा २ चौका र ४ छक्का सहित ४२ रनको आक्रामक इनिङ खेल्दै आउट भएका थिए । सातौं विकेटका लागि रोहित र करणले ६६ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

रोहितले ७९ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरेका थिए । यसअघि पिएनजीविरुद्ध पहिलो खेलमा नेपाललाई संघर्षपूर्ण दुई विकेटको जित दिलाउन रोहितले सर्वाधिक महत्वपूर्ण ४१ रनको इनिङ खेलेका थिए । शुक्रबारको खेलमा मिडअनमा टोनी उराले क्याच ड्रप गरेपछि रोहितले ब्यक्तिगत ३७ रनमा जीवनदान पाएका थिए ।

तेस्रो ओभरको पहिलो बलमै ओपनर आसिफ शेख तीन रनमा क्याच आउट हुन पुगेका थिए । तीव्र गतिका बलर काबुआ मोरियाको बलमा आसिफ सेसे बाउबाट क्याच आउट भएका थिए । तीव्र गतिका बलर नर्मन भानुआको चौथो ओभरको पाँचौं बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर किप्लिङ डोरीयाबाट तीन रनमा क्याच आउट भएपछि नेपालले खराब सुरुवात गरेको थियो । कुशल आउट हुँदा नेपाल ९–२ को कमजोर अवस्थामा थियो ।

उक्त खराब सुरुवात गरेको नेपालका लागि रोहित र ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ८९ रनको कीर्तिमानी साझेदारी गरेका थिए । नेपाली ओडिआई इतिहासमा यो कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि ओडिआईमा नेपालबाट सर्वाधिक ठूलो साझेदारी छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले गत वर्ष अमेरिकाविरुद्ध गरेको ८४ रन थियो ।

ज्ञानेन्द्र ७० बलमा ३ चौका र २ छक्का सहित ४५ रनमा एलबीडब्लू आउट भए । मध्य गतिका बलर चन्द सोपरले २५ औं ओभरको पहिलो बलमा एलबीडब्लू आउट गरेपछि ओडिआई करिअरको तेस्रो अर्धशतक बनाउन ज्ञानेन्द्र पाँच रनले चुकेका थिए । विनोद भण्डारी १७ रनमा रन आउट हुन पुगे । ३५ औं ओभरको दोस्रो बलमा नर्मन भानुआको डाइरेक्ट थ्रोमा विनोद दुर्भाग्य पूर्ण रन आउट भएका थिए ।

युवा ब्याट्सम्यान कुशल मल्ल एक रनमा क्याच आउट भए । लेगस्पिनर चाल्र्स अमिनिको गुगली बलमा ठूलो सट खेलेका कुशल एज लागेर फस्ट स्लिपमा सेसे बाउबाट क्याच आउट हुन पुगेका थिए । सोमपाल कामी ठूलो सर्ट खेल्ने धुनमा डिप मिडविकेटबाट सोपरबाट ११ रनमा क्याच आउट हुन पुगे ।

व्यक्तिगत १८ रनमा सेसे बाउले क्याच ड्रप गर्दा करणले जीवनदान पाएका थिए । रोहित र करण ४९ औं ओभरम लगातार आउट भएका थिए । करण तेस्रो बलमा ठूलो सर्ट खेल्ने धुनमा कप्तान असाद भालाबाट क्याच आउट भएका थिए । रोहित स्कुप सट खेल्नेक्रममा टोनी उराबाट समानिएपछि आफ्नो करिअरकै पहिलो शतक बनाउन चुकेका थिए ।

नेपालले अन्तिम एक रन जोड्दा चार विकेट गुमाएको थियो । एक समय नेपाल ४८।२ ओभरमा २३२–६ को अवस्थामा थियो । तर थप एक रन जोड्न चार विकेट गुमाउँदै अल आउट भयो ।

पिएनजीका काबुआ मोरियाले १० ओभरमा १ मेडन सहित २६ रन खर्चेर २ विकेट लिए । चन्द सोपरले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । नर्भन भानुआ २ र चाल्स अमिनिले एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.