default_image

4 years ago

September 11, 2021

पुनरागमनमा रोहित रवाफ

214 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

नेपाललाई पपुवा न्युगिनी (पिएनजी) विरुद्ध दुवै ओडिआई खेलमा जित दिलाउन युवा ब्याट्सम्यान रोहित कुमार पौडलले महत्त्वपूर्ण प्रदर्शन गरे । पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा १ सय ५१ रनको कीर्तिमानी जित निकाल्दा रोहित नेपालबाट दुबै खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान थिए ।

पहिलो खेलमा १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ८२–७ को कमजोर अवस्थामा पुगेको थियो । नेपालको अन्तिम आशाका रुपमा रोहित र सोमपाल कामी थिए । रोहितले सोमपालसँग आठौं विकेटका लागि ५२ रनको साझेदारी गर्दै नेपाललाई अप्रत्याशित हारबाट बचाएका थिए । टोलीलाई जित्नको लागि एक रन चाहिएको अवस्थामा रोहित ४१ रनमा बोल्ड आउट भएका थिए ।

दोस्रो खेलमा रोहितले चौथो नम्बरमा ब्याटिङ गर्दै करिअरकै उत्कृष्ट ब्याटिङ गरे । अनुभवी खेलाडी शरद भेषावकर र आरिफ शेखलाई बेन्चमा रहँदा दीपेन्द्रसिंह ऐरी चोटले खेल्न सकेनन् । रोहितले त्यो भूमिका अझ भरपूर्ण रुपमा निर्वाह गरे । दुवै ओपनर तीन तीन रनमा आउट भएपछि मैदान आएका रोहितले कप्तान ज्ञानेन्द्र मल्लसँग तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । कलिलो उमेरमै धैर्यता र परिपक्वताको नमुना प्रदर्शन गर्दै जिम्मेवारीपूर्ण ब्याटिङका साथ पिएनजीलाई चुनौतीपूर्ण लक्ष्य दिएका थिए ।

रोहित ४९ औं ओभरको चौथो बलमा स्कुप सट खेल्नेक्रममा टोनी उराबाट लेगमा क्याच आउट भएपछि शतकबाट चुकेका थिए । व्यक्तिगत रुपमा ठूलो उपलब्धिबाट चुकेपनि टोलीलाई भने सुरक्षित योगफलमा पुर्याएपछि आउट भएका थिए । रोहित १ सय २३ बलमा २ चौका र ३ छक्का सहित ८६ रनमा आउट भएका थिए । पहिलो पटक डे नाइट ओाडिआई खेल खेलेका रोहितले अल अमरेत क्रिकेट मैदानको उच्च तापक्रममा अन्तिम सम्म डटेर लागि परे ।

चौथो ओभरको पाँचौ बलमा कुशल भुर्तेल आउट भएपछि क्रिजमा आएका रोहित इनिङ सकिन ८ बल बाँकी रहँदा आउट भएका थिए । लगभग पुरै इनिङ भर उनी क्रिजमा रहँदै पिएनजीका बलरलाई दबाबमा राखेका थिए । स्लो आउटफिल्ट, उच्च तापक्रम अनि लगातार विकेट पतनको दबाबका बाबजुद १९ वर्षिय रोहितले परिपक्क प्रदर्शन गरे ।

१९ महिनापछि रोहितले टोलीमा सानदार प्रदर्शनका साथ पूनरागमन गरेका थिए । रोहितले पछिल्लो पटक २०२० फेब्रुअरीमा ओमानविरुद्ध खेलेका थिए । टियु मैदानमा ओमानविरुद्ध पहिलो खेलमा कप्तान जिशान मकसुदको बलमा रोहित फस्ट स्लिपमा खवर अलीबाट पहिलो बलमै क्याच आउट भएपछि टोली बाहिर रहँदै आएका थिए । दोस्रो खेलमा रोहितको स्थानमा नेपालले अमेरिकाविरुद्ध कुशल मल्ललाई मौका दिएको थियो ।

कुशलले डेब्यूमै कीर्तिमानी अर्धशतक प्रहार गरेपछि बाँकी खेलमा रोहितको ढोका बन्द भएको थियो । एसिसी इस्टर्न रिजन टि२० एसिया छनोटको लागि नेपाली टोली थाईल्यान्ड भ्रमण गर्दा उनी टोलीमै थिएनन् । वैशाखमा घरेलु मैदान टियुमा भएको त्रिकोणात्मक टि२० आई सिरिजमा बन्द प्रशिक्षणमै थिएनन् ।

रोहित टिममा पर्न नसक्नुमा प्रदर्शन हुन नसकेको बताउँछन् । ‘त्यो समयमा मैले राम्रो प्रदर्शन गरेको थिइनँ । टिमबाट बाहिर हुँदा नराम्रो त लागिनै हाल्छ । तर मलाई किन बाहिर छु भन्ने थाहा थियो,’ हाम्रो खेलकुदसँग कुरा गर्दै रोहितले भने, ‘मैले आफ्नो गल्तीहरु सुधार गरेर ब्याटिङमा अझ उत्कृष्ट गर्ने गरी आउँछु भन्ने सोचेको थिए । टिममा नपर्दा आफ्नो गल्ती सुधारमै निरन्तर ध्यान दिएको थिए ।’

रोहित अहिले सबै कुरा सामान्य राख्न खोजिरहेको बताउँछन् । ‘अहिले सबै सामान्य राख्न खोजिरहेको छु । बलमा बढी केन्द्रित छु । मेरो विशेष ध्यान मैदानमा बल हेरेर खेल्नेमा छ । अरु पहिला भन्दा खासै केहि फरक छैन । मेरो दिमागमा टिमलाई केहि योगदान गर्न सक्छु भन्ने हुन्छ । टिम म बाट जस्तो चाहन्छ त्यस्तै खेल्दैछु’, रोहितले भने ।

रोहित एक समय शतक नजिक थिए । तर रोहितले व्यक्तिगत शतक भन्दा टोलीको योगफललाई प्राथमिकतामा राखे । ‘शतकको आशा त थियो । तर करण दाइ र मेरो साझेदारी राम्रो भयो । करण दाइले ठूलो सट प्रहार गरिरहनु भएको थियो । त्यसैले मैले मेरो शतक भन्दा पनि दाइलाई स्ट्राइक दिने प्रयास गरें । पाएको बललाई म आफै हान्ने सोचमा थिए,’ उनले भने ।

‘शतकबाट चुक्दा दुःख त लागिहाल्छ । तर टिमले जित्यो । त्यो हामीलाई धेरै महत्वपूर्ण भयो, ‘त्यसैमा उनले थपे, ‘आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्ने छु । अब आउने खेलहरु हाम्रो लागि निकै महत्वपूर्ण छन् । सबै खेल जित्दै ८ अंक बटुल्न उत्कृष्ट प्रदर्शन गर्नेछौं ।’

मस्कटको अल अमरेत क्रिकेट मैदानको तापक्रम ३५ डिग्री माथि छ । १ सय २३ बल खेलेका उनले २ चौका र ३ छक्का सहित ८६ रन जोडेका थिए । रोहितले बाउन्ड्रीबाट २६ रन जोड्दा बाँकी ६० रन डबल सिंगल डबलबाट थियो । युवा स्टार रोहितले अन्तिम समय सम्म क्रिजमा टिक्दै उक्त उच्च तापक्रममा रन बनाउनु पक्कै सामान्य कुरा भने थिएन । अन्तिम सम्म उनको जोश र क्षमतामा कुनै कमी आएको थिएन । सुरुवातमा जसरीनै तीव्र रुपमा दौडिएर डबल सिंगल रन जोडेका थिए ।

गतवर्ष ओमानविरुद्ध शून्यमा आउट भएपछि गल्ती सुधार गर्ने अवसर पाएनन् । त्यसपछि उनलाई बन्द प्रशिक्षणमै पर्न कठिन भयो । पछिल्ला दुई घरेलु प्रतियोगितामा औसत प्रदर्शनका साथ रोहितले पूनरागमनको संकेत दिएका थिए । त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्ने रोहितले काठमाडौं मेयर्स कपमा एपिएफविरुद्ध ५६ रनको इनिङ खेलेपछि पूनरागमनको सहज भएको थियो ।

प्रमुख ब्याट्सम्यान पारस खड्काको सन्न्यास र कोरोना महामारीले गर्दा १७ खेलाडी ओमान भ्रमण गर्ने भएपछि उनलाई अन्तिम टोलीमा स्थान बनाउन सहज भएको थियो । उपकप्तान दीपेन्द्रसिंह ऐरी घाइते हुँदा सुरुवातमै प्लेइङ ११ मौका अवसर मिल्यो । र उक्त अवसरको महत्त्व बुझ्दै भरपुर फाइदा उठाए ।

जिम्मेवारी र परिपक्क ब्याटिङ रोहितबाट पहिलो पटक भएको भने होईन । नेपाललाई ओडिआई मान्यता दिलाउन २०१८ मा डिभिजन–२ र विश्वकप छनोट प्रतियोगिता निर्णायक खेलमा रोहितनै नायक बनेका थिए । केन्याविरुद्ध गर वा मरको अवस्थामा १ सय ७८ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल एक समय ८२–५ को कमजोर अवस्थामा पुगेको थियो । छैटौं विकेटका लागि रोहितले आरिफ शेखसँग ८७ रनको उत्कृष्ट साझेदारी गर्दै नेपालको सम्भावना कायमै राखेका थिए । रोहितको ४७ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।

एकदिवसिय विश्वकप ग्लोबल छनोटमा ओडिआई मान्यताको लागि निर्णायक खेलमा रोहितले हङकङविरुद्ध प्लेयर अफ द म्याच प्रदर्शन गरेका थिए । नेपालले ओडिआई मान्यता पाउन हङकङलाई जित्नै पर्ने थियो । उता अफगानिस्तान हङकङकसँग डकवर्थ लेविस पद्धतिको आधारमा ३० रनले पराजित भएपछि समूह बी को तालिका रोमान्चक बनेको थियो । अफगानिस्तानलाई अघिल्लो चरणमा पुग्न नेपालले खेल जित्नै पर्ने हुन्थ्यो ।

हङकङले प्रस्तुत गरेको १ सय ५४ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २० ओभरमै नेपाल ६६–५ को संकट अवस्थामा पुगेको थियो । रोहितले छैटौं विकेटका लागि सोमपाल कामीसँग ८९ रनको अविजित साझेदारी प्ले अफमा पुर्याएका थिए । रोहित ८६ बलमा ५ चौका सहित ४८ रनमा अविजित रहँदै प्लेयर अफ द म्याच बने । १६ वर्षिय रोहितको खेलबाट प्रभावित हुँदै अफगानिस्तानका तत्कालिन कप्तान अस्गर अफगानले आफूले खेल्ने ब्याट उपहार दिएका थिए । त्यसपछि नेपालले पिएनजीलाई प्ले अफमा पराजित गर्दै नेपालले ऐतिहासिक ओडिआई मान्यता पाएको थियो ।

नेपाली क्रिकेटमा पछिल्लो समय थुप्रै युवा प्रतिभाहरु देखिएका छन् । राष्ट्रिय टोलीमा युवा खेलाडीकोनै बाहुल्यता छ । तर युवा खेलाडीको गैर जिम्मेवार पन सर्वाधिक ठूलो चिन्ता विषय हो । रोहितमा सुरुवात देखिनै जिम्मेवारी ब्याटिङ गर्दै आएका छन् । उनी टोलीको आवश्यकता अनुसार आफ्नो भूमिका निर्वाह गर्ने गर्दछन् । हतपत आफ्नो विकेट गुमाउँदैनन् । दबाबमा रन जोड्न निकै सिपालु छन् ।

त्यसैले १६ वर्षको कलिलो उमेरमै परिवक्क र जिम्मेवारी प्रदर्शनले डिभिजन–२ मा नामिबियाविरुद्ध डेब्यू गरेका थिए । डेब्यू खेलमै उनले १७ रन जोड्दै नेपाललाई एक विकेटको महत्वपूर्ण जित दिलाउन सहयोग गरेका थिए । त्यसपछि रोहित नेपाली टोलीको पहिलो रोजाईमानै खेले । नेदरल्यान्ड्सविरुद्ध दोस्रो ओडिआई खेलमा रोहितले डेब्यू गरेका थिए ।

रोहितले २०१९ को मा युएईसँग तीन ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा ५८ बलमा ७ चौका सहित ५५ रन बनाउँदै विश्व कीर्तिमान कायम गरेका थिए । १६ वर्ष १ सय ४६ दिनमा ओडिआईमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी बन्दै विश्व क्रिकेटमा राम्रो चर्चा कमाएका थिए । रोहितले पाकिस्तानका चर्चित ब्याट्सम्यान शाहिद अफ्रिदी र भारतका सचिन तेन्दुलकर जस्ता ब्याट्सम्यानको कीर्तिमान तोडेका थिए । उक्त कीर्तिमान गतवर्ष कुशल मल्लले अमेरिकाविरुद्ध १५ वर्ष ३ सय ४० दिनमा अर्धशतक बनाउँदै तोडिसकेका छन् ।

रोहितको यू१९ ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदाएका युवा स्टार हुन् । नेपाल क्रिकेट संघ (क्यान) आइसिसीको निलम्बनमा पर्दा तत्कालिन यू१९ प्रशिक्षक विनोद दासले २०१६ मा ट्यालेन्ट हन्टमार्फत टोली निर्माण गरेका थिए । रोहितको पछिल्लो समय खेल्ने शैलीमा केहि परिवर्तन देख्न सकिन्छ । सुरुवातमा रोहित आक्रामक ब्याटिङका लागि निकै चर्चित युवा स्टार थिए ।

सन् २०१६ को यू१९ एसिया कपमा भारतविरुद्ध रोहितले ९३ बलमा ७ चौका र २ छक्का सहित ६६ रनको अविजित इनिङ खेल्दै सबैको ध्यानआफू तिर केन्द्रित गरेका थिए । तीव्र गतिका बलर कमलेश नगरकोटीलाई अन्तिम ओभरमा ३ चौका र २ छक्का सहित एकै ओभरमा २४ रन जोडेपछि उनको चर्चा नेपाली क्रिकेटमा चुलिएको थियो ।

रोहितले सन् २०१७ को एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैहरवा ग्ल्याडियटर्सबाट खेल्दै उत्कृष्ट प्रदर्शनका साथ सिनियर टोलीमा स्थान बनाएका थिए । लिग खेलमा ललितपुरविरुद्ध भैरहवालाई अन्तिम १२ बलमा जितको लागि २९ रन चाहिँएको थियो । १५ वर्षिय रोहितले नेपाली क्रिकेटका चर्चित तीव्र गतिका बलर महबुब आलमलाई १९ औं ओभरमा तीन चौका र १ छक्का सहित १९ रन जोडेपछि टोलीको जित र सिनियर टोलीको ढोका सहज बनेको थियो । सन् २०१९ को क्वालिफायरमा ललितपुर प्याट्रियटर्सलाई पराजित गर्न रोहितले १७ बलमा १ चौका र २ छक्का सहित २८ रनको इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।

रोहितलाई ओमान भ्रमणमा राम्रो अवसर छ । सुरुवाती दुई खेलको प्रदर्शनले विश्वकप लिग २ मा अमेरिका र ओमानविरुद्ध पनि पहिलो रोजाईमा खेल्ने लगभग निश्चित छ । जुन पाएको मौकामा रोहित चुक्नु हुँदैन । अर्कोतर्फ रोहित नेपाली क्रिकेटका भविष्य हुन् । एक गल्तीको कारण कुनैपनि खेलाडीलाई टोलीमा हटाउने हतार गर्नु हुँदैन । नेपाली क्रिकेटमा ब्याटिङ सुधार गर्ने हो भने रोहित जस्ता भविष्य मानिएका खेलाडीमाथि धैर्यता र विश्वास देखाउन निकै आवश्यक देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.