default_image

4 years ago

September 14, 2021

अमेरिकाविरुद्ध नेपालका चार कीर्तिमान

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।

अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल ८७ बलमा २ चौका र ३ छक्का सहित ६२ रनमा अविजित रहँदै नेपालको जित पक्का गराए । ओपनर कुशल भुर्तेलले ९३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए । विकेटकिपर विनोद भण्डारी ४८ बलमा २ चौका र १ छक्का सहित ३७ रनमा क्याच आउट भए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । अमेरिका विकेटकिपर मोनांक पटेलले १ सय १४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेपनि टोलीले जित्न सकेन । अमेरिकाविरुद्ध खेलको क्रममा नेपालका बनेका चार कीर्तिमानहरु यस प्रकार छन् ।

४. ज्ञानेन्द्रको ओडिआईमा सर्वाधिक कप्तानी

अमेरिकासँगको खेलसँगै ज्ञानेन्द्र नेपालबाट ओडिआईमा सर्वाधिक खेलमा कप्तानी गर्ने कप्तान बनेका छन् । ज्ञानेन्द्रले नेपालबाट ७ ओडिआईमा कप्तानी गर्दा ५ मा जित र २ मा हार बेहोरेका छन् । पूर्वकप्तान पारस खड्काले ६ खेलमा कप्तानी गर्दा ३ जित र ३ मा हार बेहोरेका छन् ।

३. ओडिआईमा ओपनरको रुपमा कुशलको उच्च प्रदर्शन


अमेरिकालाई पराजित गर्न कुशल भुर्तेलले सर्वाधिक रन बनाएका थिए । उनी नेपालबाट ओपनरको रुपमा एकै खेलमा सर्वाधिक धेरै रन बनाउने खेलाडी हुन् । यसअघि नेपालको ओपनरको रुपमा सर्वाधिक धेरै रन ओमानविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लले ५६ रन बनाएका थिए । कुशलले ओपनिङ गर्दै ८४ रन बनाए । जुन नेपाली ओडिआईको तेस्रो ठूलो रन हो । यसअघि एकै खेलमा सर्वाधिक रन पारसको नाममा छ । पारसले २०१९ मा युएईविरुद्ध १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । रोहितले यसै साता पपुवा न्युगिनीविरुद्ध दोस्रो खेलमा ८६ रन बनाउँदै दोस्रो स्थानमा रहेका थिए ।


२. पहिलो र पाँचौ विकेटका लागि उच्च साझेदारी

अमेरिकालाई पराजित गर्न नेपालबाट दुई कीर्तिमानी साझेदारी भएका थिए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ६६ रनको साझेदारी गरेका थिए । जुन पहिलो विकेटका लागि नेपालबाट भएको सर्वाधिक ठूलो साझेदारी हो । यसअघि पहिलो विकेटका लागि विनोद भण्डारी र ज्ञानेन्द्र मल्लले युएईविरुद्ध २०१९ मा ६१ रनको साझेदारी गरेका थिए ।

अमेरिकालाई पराजित गर्न विनोद र रोहित कुमार पौडेलले पाँचौ विकेटका लागि ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । यसअघि पाँचौ विकेटका रुपमा सर्वाधिक ठूलो साझेदारी पारस खड्का र रोहितले २०१९ मा यूएईविरुद्ध ५४ रनको गरेका थिए । समग्रमा नेपाली ओडिआईको तेस्रो ठूलो साझेदारीमा पर्दछ । नेपालबाट ओडिआईमा सर्वाधिक ठूलो साझेदारी ८९ रन छ । पिएनजीविरुद्ध दोस्रो खेलमा ज्ञानेन्द्र र रोहितले तेस्रो विकेटका लागि गरेका थिए ।


१. रोहितको कीर्तिमानी अर्धशतक

अमेरिकालाई ५ विकेटले हराउन रोहित नायक बन्दै ८७ बलमा २ चौका र ३ छक्का सहित ६२ रनमा अविजित रहनेक्रममा दुई नयाँ कीर्तिमान बनाएका थिए । रोहित नेपालबाट ओडिआईमा तेस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै उनी नेपालबाट ओडिआईमा लगातार दुई अर्धशतक प्रहार गर्ने पनि पहिलो खेलाडी हुन् । ओडिआईमा नेपालबाट कुल नौ खेलाडीले अर्धशतक प्रहार गरेका छन् । तीन अर्धशतक प्रहार गर्ने रोहित एक्लो खेलाडी हुन् ।

रोहितपछि पारस खड्का र ज्ञानेन्द्र मल्लको नाममा दुई दुई अर्धशतक छ । तर लगातार दुई अर्धशतक यसअघि ओडिआईमा नेपालबाट थिएन । ओडिआईमा हालसम्म नेपालका ९ खेलाडीले अर्धशतक बनाएका छन् । सोमपाल कामी, सुवास खकुरेल, शरद भेषावकर, कुशल मल्ल, विनोद भण्डारी, कुशल भुर्तेलको नाममा १-१ अर्धशतक छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.