default_image

4 years ago

September 14, 2021

जतिन्दरको शतकमा नेपालमाथि ओमानको सानदार जित

181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर जतिन्दर सिंहको शतकमा ओमानले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालमाथि ५ विकेटको सानदार जित हात पारेको छ ।

नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
ओमानको जितमा जतिन्दर सिंहले ६२ बलमा १२ चौका र ६ छक्का सहित सर्वाधिक १ सय ७ रनको विष्फोटक शतकीय इनिङ खेल्दै सहज जित दिलाए । जतिन्दरले कुशल मल्ललाई चौका प्रहार गर्दै ६० बलमा शतक प्रहार गरेका थिए । जतिन्दर ओमानबाट ओडिआईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

त्यस्तै मोहम्मद नदिम ६५ बलमा २ चौका र १ छक्का सहित ३८ रनमा अविजित रहे । उनले विक्रम सोबलाई छक्का प्रहार गर्दै खेल सकाएका थिए ।

त्यसअघि जतिन्दरले आक्रामक ब्याटिङ गर्दै दोस्रो इनिङको सुरुवातदेखि नै ओमानलाई बलियो स्थितिमा पुर्याएका थिए । दोस्रो ओभरमा तीव्र गतिका बलर विक्रम सोबले दुई चौका र १ छक्का सहित कुल १८ रन खर्चेका थिए । पाँचौं ओभरमा सोमपाल कामीलाई जतिन्दर सिंहले ३ चौका र ३ छक्का सहित एकै ओभरमा ३० रन प्रहार गरेका थिए । आठौं ओभरमा करणले २० रन खर्चेका थिए । ओमान सामू नेपाली बलर निरिह सावित बने ।

चौथो ओभरको चौथो बलमा तीव्र गतिका बलर करण केसीले सोहिब खानलाई विनोद भण्डारीबाट ७ रनमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । स्पिनर सुशान भारीले ११ औं ओभरको चौथो बलमा अयान खानलाई १८ रनमा आसिफ शेखबाट क्याच आउट गराए । खानले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

जिशान मकसुदलाई स्पिनर कुशल मल्लले ४ रनमा आसिफबाट क्याच गराउँदै ओमानको रनको गति कम गराएका थिए । जतिन्दरलाई कुशल मल्लले २६ औं ओभरको तेस्रो बलमा रोहितबाट क्याच गराउँदै पेभिलिएन फर्काएका थिए । नेपाली मुलका विकेटकिपर सुरज कुमार १६ बलमा ४ चौका सहित २० रनमा क्याच आउट भए ।

सोमपाल कामीले ४ ओभरमा १ मेडन सहित ३८ रन खर्चिदा विकेट लिन सकेनन् । विक्रम सोबले २.१ ओभरमा २९ रन खर्चे । कुशल मल्लले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । करणले ५ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । सुशान भारीको नाममा एक विकेट रह्यो ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४७.४ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो । नेपालका लागि आसिफले १ सय १२ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ९० रनको योगदान दिए । आसिफ बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ३६ औं ओभरको तेस्रो बलमा तीव्र गतिका बलर बिलाल खानले योर्कर बलमा बोल्ड गरेपछि आसिफ करिअरको पहिलो शतक बनाउनबाट १० रनले चुकेका थिए । त्यसअघि आसिफले ६४ बलमा आफ्नो ओडिआई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए ।

आसिफले दोस्रो ओभरको चौथो बलमा खाता नखोल्दै जीवनदान पाएका थिए । कलिमुल्लाह बलमा मोहम्मद नदीमले क्याच ड्रप गरेपछि आसिफ डक आउट हुनबाट बचेका थिए । जुन जीवनदान ओमानलाई भारी पर्यो । नेपालले खाता नखोल्दै ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर बिलाल खानको पहिलो ओभरको दोस्रो बलमा कुशल विकेटकिपर सुरज कुमारबाट शून्यमा क्याच आउट हुन पुगेका थिए ।

कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । मोहम्मद नदीमको बलमा ज्ञानेन्द्र नेस्टर धम्बाबाट क्याच आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले ५८ रनको साझेदारी गरेका थिए । त्यसपछि कुनैपनि ब्याट्सम्यानले राम्रो साझेदारी र प्रदर्शन गर्न सकेनन् । रोहित कुमार पौडेल ३४ बलमा २० रनमा क्याच आउट भए । स्पिनर नेस्टर धम्बाको बलमा विकेटकिपर विनोद भण्डारी ६ रनमा जतिन्दर सिंहबाट क्याच आउट भए ।

सोमपाल कामी ७ रनमा रन आउट भएका थिए । ३४ औं ओभरको अन्तिम बलमा बिलाल खानले कुशल मल्ललाई ४ रनमा बोलड आउट गरेपछि नेपालको ठूलो योगफलको सम्भावना सकिएको थियो । कुशल यसअघिका तीनै खेलमा एक एक रनमा आउट भएका थिए । कुशल आउट हुँदा नेपाल १४६–६ को कमजोर अवस्थामा पुगेको थियो ।

विक्रम सोबलाई बिलाल खानले दुई रनमा बोल्ड आउट गर्दै नेपालमाथि पूर्ण रुपमा ओमानलाई हाबी बनाए । सन्दीप लामिछाने १० बलमा १ चौका र १ छक्का सहित १६ रनमा रन आउट भए । करण केसीले तल्लोक्रममा ४८ बलमा १ चौका र १ छक्का सहित २१ रनमा आउट भए । अन्तिम विकेटका लागि करण र सुशान भारीले २३ रनको साझेदारी गरेका थिए ।

ओमानका तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा १ मेडन सहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नेस्टर धम्बाले दुई र मोहम्मद नदीम र कप्तान जिशान मकसुदले एक एक विकेट लिए । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेलमा सेप्टेम्बर १७ मा अमेरिकासँग खेल्ने छ । ओमानले सेप्टेम्बर १६ मा अमेरिकासँग खेल्ने छ ।

विश्वकप लिग-२ अंक तालिका

ओमान ११ खेलमा ९ मा जित र २ मा हार सहित १९ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । नेपाल ६ खेलमा ३ मा जित र ३ मा हार सहित ६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.