default_image

4 years ago

September 17, 2021

अमेरिकामाथि लगातार चौथो जित निकाल्ने नेपालको लक्ष्य

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओाडिआई सिरिज अन्तर्गत तेस्रो खेलमा आज अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ पछि ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाल अमेरिकामाथि लगातार चौथो जित निकाल्ने सोचमा छ । अमेरिका नेपाल र ओमानसँग सुरुवाती दुबै खेलमा पराजित भएको छ । अमेरिका नेपालमाथि पहिलो जित निकाल्ने सोचमा छ । पछिल्ला ६ खेलमा अमेरिकाले लगातार हार बेहोरेको छ ।

नेपालले २०२० फेब्रुअरीमा टियु मैदानमा भएको प्रतिस्पर्धामा अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । भारतीय मुलका खेलाडीको बाहुल्यता भएको अमेरिका दोस्रो खेलमा ओमानसँग पराजित भएपनि कडा चुनौती दिएको थियो । १ सय ७९ रनको विजयी लक्ष्य ओमानले ४९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपालले आज टोलीमा दुई परिवर्तन गर्ने सम्भावना छ । युवा अलराउन्डर कुशल मल्लको स्थानमा अनुभवी ब्याट्सम्यान शरद भेषावकरलाई मौका दिने सम्भावना छ । कुशलले मौका पाएका चार खेलमा खराब प्रदर्शन गरेका थिए । सुरुवाती तीन खेलमा एक एक रनमा आउट भएका कुशल ओमानविरुद्ध ४ रन मात्र बनाउन सकेका थिए । त्यसैले उनलाई विश्राम दिने सम्भावना बढी छ । शरदको आगमनले मध्यक्रम ब्याटिङ मजबुत बन्ने छ ।

मध्य गतिका बलर विक्रम सोबलाई पनि बेन्चमा राख्ने सम्भावना छ । ओमानसँग नेपालका तीनै मध्यगतिका बलरले खराब प्रदर्शन गरेका थिए । तीन बलरले सुरुवाती १० ओभरमा १ सय ८ रन खर्चेका थिए । सोमपाल कामी, करण केसी र विक्रम सोब तीनैको प्रदर्शन खराब थियो । सोमपाल र करण ब्याटिङ राम्रो गर्ने गर्दछन् ।

अर्कोतर्फ यी दुई खेलाडी पहिलो रोजाईका बलर हुन् । त्यसैले विक्रमलाई बेन्चमा राख्दै युवा तीव्र गतिका गुलशन झालाई डेब्यू दिन सक्छ । गुलशन तीव्र गतिसँगै बाउन्सरका लागि सिपालु छन् । अ‍ोमानविरुद्ध पेटमा दुखाईको कारण बलिङ गर्न नसकेका सन्दीप प्रशिक्षणमा जोडिएका छन् ।

ओमानसँग खेलमा आसिफ शेख ९० रनको योगदान दिएका थिए । युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पहिलो खेलमा अमेरिकालाई हराउन रोहितले अविजित ६२ रनको इनिङ खेलेका थिए । ओपनर कुशल भुर्तेलले ८४ रनको योगदान दिएका थिए । यी तीनै युवा खेलाडीबाट नेपालले ब्याटिङमा ठूलो आसा गरेको छ । कप्तान ज्ञानेन्द्र मल्ल, विकेटकिपर विनोद भण्डारी र शरद भेषावकरलाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक र दबाब छ ।

तल्लोक्रममा सोमपाल कामी र करण केसीबाट नेपाल उत्कृष्ट अन्त्य चाहन्छ । करण ठूला सटका लागि परिचित छन् । स्पिनरमा सन्दीप लामिछाने र सुशान भारी रहने छन् । ओमानसँगको खेलमा सन्दीपले बलिङ गरेका थिएनन् । तर उनी पूर्णरुपमा फिट भई सकेका छन् ।
अमेरिका शीर्षक्रमका ब्याट्सम्यान मोनांक पटेलले नेपालविरुद्ध एक सय रनको शतकीय इनिङ खेलेका थिए । भारतीय मुलका मोनांक नेपाललाई पुन घातक बन्न सक्छन् ।

पिएनजीसँग ६ बलमा ६ छक्का सहित १ सय ७३ रनको अविजित शतकीय इनिङ खेलेका जसकरण मल्होत्रा नेपालविरुद्ध पहिलो खेलमा पनि चल्न सकेका थिएनन् । उनी चलेको खण्डमा नेपाललाई जितको लागि कठिन पर्न सक्छ । स्टिभ टेलर, निसर्ग पेटल र करिमा गोरे नेपाललाई टाउको दुखाईका खेलाडी बन्न सक्छन् । कप्तान सौरभ नेत्रवालकार अमेरिका प्रमुख बलर हुन् ।

हेड टु हेड

नेपाल र अमेरिकाबीच तीन ओडिआई खेल भएको छ । तीनै खेलमा नेपाल विजयी भएको छ । गत वर्ष पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । नेपालले २०१० को डिभिजन फाइभको फाइनलमा अमेरिकालाई पाँच विकेटले हराउँदै उपाधि जितेको थियो । नेपाल लिग खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको थियो ।

नेपालले २०१२ को डिभिजन फोरमा अमेरिकालाई ३२ रनले पराजित गरेको थियो । २०१३ को डिभिजन ३ मा नेपाल अमेरिकासँग ९४ रनले पराजित भएको थियो । २०१५ को टि२० विश्वकप छनोटमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । २०१७ को एकदिवसिय अभ्यास खेलमा भने नेपाल पाँच विकेटले पराजित भएको थियो । समग्रमा नेपाल अमेरिकामाथि हाबी हुँदै आएको छ ।

मौसम :

नेपाल र अमेरिकाबीच खेल हुने अल अमरेत मैदानको आजको तापक्रम उच्चमतम ३५ र न्युनतम ३० डिग्री सेल्सियस सम्म हुनेछ । वर्षाको सम्भावना छैन ।

खेलको प्रत्यक्ष प्रसारण नेपालमा एक्सन स्पोर्ट्समा हेर्न सकिने छ । त्यस्तै इन्टरनेटमा आइसिसी टिभीबाट पनि हेर्न सकिने छ ।

नेपालको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अभिनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल

अमेरिकाको टोली : सौरभ नेत्रावलकर (कप्तान), अभिषेक पराडकार, डोमिनिक रिखी, एल्मोर हचिन्सन, गजानन्द सिंह, जसकरण मल्होत्रा, करिमा गोरे, मोनांक पटेल, निसर्ग पटेल, नोशतुश केंजीगे, स्टिभ टेलर, सुशान्त मोदानी, सन्जय कृष्णमुर्ती, काइल पिलिप

विश्वकप लिग-२ अंक तालिका

ओमान १२ खेलमा १० मा जित र २ मा हार सहित २० अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । नेपाल ६ खेलमा ३ मा जित र ३ मा हार सहित ६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.