default_image

4 years ago

September 18, 2021

नेपालले अमेरिकासँग हार्नुको पाँच कारण

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पहिलो पटक नेपाललाई ६ विकेटले पराजित गरेको छ । शुक्रबार राती नेपालले ओडिआईमा अमेरिकासँग पहिलो पटक हारेको हो । जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

अमेरिका जितमा स्टिभ टेलरले ६३ बलमा १२ चौका र ३ छक्का सहित सर्वाधिक ९२ रनको योगदान दिए । जसकरण मल्होत्रा ३२ बलमा २ चौका र ३ छक्का सहित ३६ रनमा अविजित रहे । त्यस्तै मोनांक पटेल ७० बलमा १ चौका सहित ३८ रनमा अविजित रहे । नेपालका सन्दीप लामिछाने र करण केसीले दुई दुई विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४८ ओभरमा १ सय ७४ रनमा अल आउट भएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले १ सय ५ बलमा ३ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिए । ज्ञानेन्द्र बाहेक अन्य नेपाली ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन । नेपालले खराब ब्याटिङ गर्दै अन्तिम ३४ रन जोड्दा ६ विकेट गुमाएको थियो ।

डेब्यू खेल खेलेका तीव्र गतिका बलर काइल फिलिपको बलमा आसिफ ठूलो सट खेल्ने धुनमा टप एज लागेर करिमा गोरबाट तीन रनमा क्याच आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि कुशल र ज्ञानेन्द्रले ५१ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्किने आशा देखाएका थिए । स्पिनर करिमाले १२ औं ओभरको तेस्रो बलमा कुशललाई ३६ रनमा बोल्ड आउट गरेका थिए ।

त्यसपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो । कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्का सहित ३६, गुलशन झा २८, करण केसी १२ र सन्दीप लामिछाने ११ रनमा आउट भए ।अमेरिका कप्तान सौरभ नेत्रवालकरले ९ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । काइल फिलिपले ९ ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए ।

ओमान भ्रमणमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि ओमानसँग ५ विकेटले पराजित भएको थियो । अमेरिकासँग खेलमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा कमजोर प्रदर्शन गर्यो । नेपालको हार्नुमा मैदान भित्र मात्र नभएर बाहिर लिएको निर्णय पनि रहेको छ । नेपालले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न सकेको छैन । नेपालले पहिलो पटक अमेरिकासँग ओडिआई खेलमा हार्नुमा सबैको गल्ती रहेको छ । पुरानै समस्याहरु पुन चिन्ता थप्न थालेका छन् । समग्रमा नेपालले अमेरिकासँग हार्नुका पाँच मुख्य कारण यस प्रकार छन् ।

५. कमजोर बलिङ

नेपालको कमजोर बलिङ अमेरिकाविरुद्ध पनि सुधार हुन सकेन । नेपालले उत्कृष्ट बलिङ मार्फत खेलमा जित निकाल्न सक्थ्यो । बलिङनै नेपालको प्रमुख हतियार हो । तर नेपालको बलिङनै चल्न सकेन । प्रमुख बलर सोमपाल कामी लगातार दोस्रो खेलमा विकेटबिहिन बने । गुलशन झा र सुशान भारीले पनि विकेट लिन सकेनन् । करणले दुई विकेट एक ओभरमा लिदा खेल नेपालको हारबाट निस्कि सकेको थियो ।

सन्दीपले नेपाललाई पाँचौं ओभरमा दुई सफलता दिलाएका थिए । तेस्रो सफलताको लागि नेपालले २० ओभर सम्म पुग्नु परेको थियो । तेस्रो विकेटका लागि मनांक र स्टिभ टेलरले ९७ रनको विजयी साझेदारी गरेका थिए । योगफल सानो थियो । यो अवस्थामा नेपाललाई जित लगातार विकेटले मात्र दिलाउन सक्थ्यो ।

४. टेलरको उत्कृष्ट ब्याटिङ

अमेरिका जितमा ओपनर स्टिभ टेलर नायक बने । टेलरले कुनैपनि समय नेपाली बलरलाई अमेरिकाविरुद्ध हाबी हुने मौका दिएनन् । आक्रामक ब्याटिङका गर्दै नेपाली बलिङ कमजोर सावित गर्दै टेलरले सहज जित दिलाए । उनले ६३ बलमा १२ चौका र ३ छक्का सहित ९२ रनको इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए । पाँचौं ओभरमा सन्दीपले दुई विकेट लिएपछि नेपाललाई खेलमा फर्किने अवसर थियो । तर छैटौं ओभरमा टेलरले गुलशनलाई तीन चौका र १ छक्का सहित २१ रन प्रहार गर्दै मोमेन्ट अमेरिका पक्षमा फर्काएका थिए ।

उनको आक्रामक ब्याटिङले गदै अन्य खेलाडीलाई दबाब बढ्न दिएनन् । टेलरलाई सस्तैमा आउट गर्न सकेको भए नतिजा नेपालको पक्षमा आउन सक्थ्यो । उनी आउट हुँदा अन्य खेलाडीमा दबाब बढ्थ्यो । नेपाली बलरको मनोबल उच्च हुन्थ्यो । दबाबमा विकेट गुम्ने सम्भावना बढी हुन्छ । उच्च मनोबल हुँदा बलरले थप उत्कृष्ट प्रदर्शन गर्नसक्छ । टेलरले बाउन्ड्री वा रन जोडि रहेको बलमा अर्को खेलाडी आउट पनि हुन सक्थ्यो ।

३. दुई महत्त्वपूर्ण क्याच ड्रप

नेपालले महत्वपूर्ण समयमा दुई क्याच ड्रप गरेको थियो । ओमान भ्रमणमा तुलनात्मक रुपमा फिल्डिङ केहि कमजोर देखिएको छ । स्पिनर सुशान भारीको आठौं ओभरको तेस्रो बलमा टेलरले ठूलो सट खेल्नेक्रममा लङअङमा कुशल भुर्तेलले क्याच ड्रप गरेका थिए । उक्त समय टेलर ४२ रनमा क्रिजमा थिए । सोमपाल कामीको बलमा गुलशन झाले जसकरण मल्होत्रा क्याच शून्यमा ड्रप गरे । टेलरले उक्त क्याच ड्रपपछि थप ५० रन जोडे । मल्होत्राले ३६ रनमा नटआउट रहँदै जित पक्का गराए ।

नेपाललाई विकेट चाहिएको समयमा क्याच ड्रप गर्नु ठूलो घातक बन्यो । उक्त क्याच ड्रपले बलरको मनोबल कमजोर र निराश मैदानमा देख्न सकिन्थ्यो । टेलर र मल्होत्रा प्रमुख ब्याट्सम्यानकै क्याच ड्रप भएपछि नेपालको जितको सम्भावना सकिएको थियो । खेलमा यस्ता अवसर निकै कम आउछन् । त्यो अवसर सदुपयोग गर्न सके खेलको टर्निङ प्वाइन्ट बन्ने गर्दछ । नेपालले अवसर सदुपयोग गर्न सकेन । दुई क्याच ड्रप नेपालको हारको एक कारण बन्न पुग्यो ।

२. मध्यक्रममा अनुभवी शरदको अभाव

नेपालको हारको कारण कप्तान, टिम म्यानेजमेन्ट र प्रशिक्षकले बढी लिनुपर्छ । ब्याटिङ नेपालको सधैं प्रमुख कमजोरी हो । ओमान भ्रमणमा मध्यक्रम र तल्लोक्रम अझ कमजोर देखिएको छ । तर अनुभवी ब्याट्सम्यान शरद भेषावकरलाई नेपालले प्लेइङ ११ पुन राखेन । मध्यक्रममा उनको आवश्यक धेरै देखिन्छ । तर नेपालले अमेरिकाविरुद्ध पनि शरदलाईनै प्लेइङ ११ मै राखेको थिएन । पिएनजीसँगको पहिलो खेल खेलेपछि शरद लगातार चार खेलमा बेन्चमा रहे ।

शरदलाई बेन्चमा राख्नुको कुनै सहि कारण देखिदैन । मध्यक्रम कमजोर छ । खेलाडी फ्लप छन् । तर पनि शरदले मौका पाएका छैनन् । लगातार फ्लप कुशल मल्ललाई नेपालले थप विश्वास गर्दै टोलीमा खेलाएको थियो । तर उनी शून्यमा आउट भए । कुशलले ५ खेलमा ७ रन मात्र बनाएका छन् । सुरुवाती तीन खेलमा एक एक, ओमानसँग चार र अमेरिकासँग शून्यमा आउट भए ।

शरद मध्यक्रममा हुने हो भने नेपालको प्रदर्शन फेरिन सक्छ । युवा खेलाडी दबाबमा खराब सटका साथ आउट भइरहेका छन् । शरद दबाबमा आफ्नो अनुभवको भरपूर्ण फाइदाका साथ राम्रो योगफल बनाउन सक्छन् । आवश्यक खेलाडीनै बाहिर राखेपछि ब्याटिङ झनै कमजोर बनेको छ ।

१. गैर जिम्मेवारी ब्याटिङ

नेपालको हारको मुख्य कारण ब्याट्सम्यानहरुको गैरजिम्मेवार ब्याटिङ हो । कुनैपनि ब्याट्सम्यानले जिम्मेवारी प्रदर्शन गर्न सकेनन् । सबै गैर जिम्मेवार ब्याटिङ र खराब सटलेनै नेपालको रन बन्न सकेको छैन । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल कोरिमा गोरले कभरमा एक हातले उत्कृष्ट क्याच लिएपछि आउट भएका थिए । अन्य सबै ब्याट्सम्यान गलत सट छनोटका कारण आउट भएका थिए । क्रिजमा जिम्मेवारीका साथ खेल्न सकेका छैनन् ।

निरन्तर विकेट पतन भइरहेको छ । त्यो अवस्थामा खेलाडी ठूला सटको चक्करमा विकेट गुमाइरहेका छन् । अमेरिका खेलाडीले उत्कृष्ट बलिङ गरेर भन्दा पनि ब्याट्सम्यानले आफ्नै कारण विकेट दिइरहेका थिए । सट छनोट निकै खराब थियो । जिम्मेवारी बिना राम्रो योगफल बन्न सक्दैन । स्कोरबोर्डमा राम्रो योगफल बिना जित निकै कठिन पर्छ । आगमी दिनमा पनि जिम्मेवारी प्रदर्शन बिना नेपाललाई जित कठिन पर्न सक्छ । गैरजिम्मेवार पन पछिल्लो समय नेपाललाई सबैभन्दा ठूलो चिन्ता र हारको कारण बन्दै आएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.