default_image

4 years ago

September 19, 2021

नेपाल विश्वकप लिग-२ को चौथो स्थानमा उक्लियो

221 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओमानमा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा दोस्रो जित हासिल गरेपछि नेपाल आइसिसी विश्वकप लिग–२ को अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

नेपालले आइतबार राती घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गर्दै नामिबिया र संयुक्त अरव इमिरेट्स (युएई) लाई पछि छाड्दै चौथो स्थानमा फड्को मारेको हो । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक जोड्दै दुई स्थान सुधार गर्दै चौथो स्थानमा छ । नेपालले ओमानलाई ओडिआईमा पहिलो पटक पराजित गरेको हो ।

अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमान ३७.१ ओभरमा १ सय २१ रनमा अल आउट हुन पुग्यो । ओमानका कप्तान जिशान मकसुदले सर्वाधिक ४१ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले चार चार विकेट लिए । जितको लागि १ सय २२ रनको विजयी लक्ष्य नेपालले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा कप्तान ज्ञानेनद्र मल्लले ५२ र आसिफ शेखले ४० रनको योगदान दिए ।

यसअघिका तीनै ओडिआई खेलमा ओमानले नेपालमाथि सहज जित हात पारेको थियो । ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिजमा नेपालले दुई खेलमा जित निकालेको छ । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो ।

अमेरिकासँग दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो । नेपाल गत भदौ ८ मा ओमान पुगेको थियो । यस त्रिकोणात्मक सिरिजको तयारीको लागि नेपालले पपुवा न्युगिनीसँग दुई ओडिआई खेल खेलेको थियो । पहिलो खेलमा नेपाल दुई विकेट र दोस्रो खेलमा १ सय ५१ रनले विजयी भएको थियो । नेपालले गतवर्ष टियु मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिजसँगै विश्वकप लिग–२ मा डेब्यू गरेको थियो ।

उक्त सिरिजमा नेपालले अमेरिकालाई दुबै खेलमा पराजित गरेको थियो । ओमानसँग दुबै खेलमा पराजित भएको थियो । त्यसपछि कोरोना महामारीको कारण विश्वकप लिग–२ का सबै खेलहरु रोकिँदै आएका थिए । नेपालले अव तालिका अनुसार २०२२ को फेब्रुअरीमा टियु मैदानमा पपुवा न्युगिनी र युएईसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने कार्यक्रम छ । नेपालले विदेशी टोलीसँग सहकार्य गर्दै त्यसअघि पनि खेल्न सक्छ ।

विश्वकप लिग-२ अंक तालिका

ओमान १३ खेलमा १० मा जित र ३ मा हार सहित २० अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १५ खेलमा ७ मा जित र ८ मा हार सहित १४ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ । नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक का साथ पाँचौं स्थानमा छ । नेट रनरेटको कारण नामिबिया नेपाल भन्दा पछि परेको हो । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै छैटौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

यस्तो छ विश्वकप यात्रा

विश्वकप लिग २ आइसिसी एकदिवसिय विश्वकप २०२३ मा हुने विश्वकप छनोट यात्रा हो । नेपालले गतवर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग २ मा डेब्यू गरेको थियो । नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्नेछन् ।

जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । प्ले अफमा च्यालेन्ज ए र बी बाट आउने शीर्ष दुई टोली गरि ६ टोलीबीच प्रतिस्पर्धा गर्ने छन् । प्लेअफबाट दुई टोलीले ग्लोबल छनोट खेल्ने अन्तिम अवसर पाउनेछन् ।

ग्लोबल छनोटमा १० टोली हुने छन् । आइसिसी विश्वकप सुपर लिगमा १२ टेस्ट टोली र नेदरल्यान्ड्स गरि कुल १३ टोली छन् । विश्वकप सुपर लिगमा १३ टोली मध्य भारत आयोजक देश हुँदा छनोट भई सकेको छ । सुपर लिग पछि अन्य शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाउने छन् । बाँकी पाँच टोलीले ग्लोबल छनोटमा झर्नेछन् ।

सुपर लिगका पुछारका पाँच टोली, विश्वकप लिग-२ का शीर्ष तीन टोली र प्लेअफका शीर्ष दुई टोली गरि कुल १० टोलीले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने छन् । जसबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

यो पनि : नेपाल फर्कने प्रशिक्षक ह्वाटमोरको इच्छा

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.