default_image

4 years ago

October 20, 2021

टि२० विश्वकप उपाधि जित्न सक्ने पाँच टोली

196 views

0 Bookmark

एजेन्सी – टि२० विश्वकप २०२१ आइतबारदेखि संयुक्त अरव इमिरेट्स (युएई) र ओमानमा सुरु हुँदैछ । अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म चल्ने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । झण्डै एक महिना चल्ने प्रतियोगिताबाट एक टि२० विश्वकप च्याम्पियन बन्नेछ । पहिलो चरणको समूह ए र बी को खेलपछि सुपर १२ का खेलहरु सुरु हुनेछन् ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । समूह बी का खेलहरु ओमानमा हुनेछन् । नामिबिया र पपुवा न्युगिनीले टि२० विश्वकपमा डेब्यू गर्दैछन् । पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

टि२० विश्वकप पाँच वर्षपछि हुन लागेको छ । अन्तिम पटक टि२० विश्वकप भारतमा २०१६ मा भएको थियो । सन् २००७ देखि सुरु भएको टि२० विश्वकपका ६ संस्करण सकिएका छन् । वेस्टइन्डिज दुई पटक च्याम्पियन बन्दा, भारत, श्रीलंका, इंग्ल्यान्ड र वेस्टइन्डिजले एक एक पटक उपाधि जितेका छन् । भारतले २००७, पाकिस्तानले २००९, इंग्ल्यान्डले २०१० र वेस्टइन्डिजले २०१२ र २०१६ को विश्वकप टि२० उपाधि जितेका थिए । २०१४ श्रीलंका च्याम्पियन बनेको थियो ।

सबै टोलीले टि२० विश्वकपको लागि आफ्नो तयारी पूरा गरेका छन् । सबै टोलीले आफ्नो अन्तिम टोली घोषणा गरि सकेका छन् । पछिल्लो एक वर्षको प्रदर्शन निकै महत्वपूर्ण हुनेगर्दछ । कुनैपनि टोली कस्तो छ त्यसमा रहेका खेलाडीलाई हेरेर पूर्व अनुमान गर्न सकिन्छ । पछिल्लो समयको अन्तर्राष्ट्रिय प्रदर्शन, खेलाडीको लय, प्रतियोगिता हुने स्थानको अवस्था, कप्तानी नेतृत्व, टोली सन्तुलन लगायत धेरै पक्षले नतिजामा प्रभाव पार्ने गर्दछ । विशेष गरि खेलाडीको लय र क्षमता बढी निर्भर हुन्छ । टि२० विश्वकप २०२१ मा सहभागि सबै टोलीको विभिन्न पक्ष अध्ययन गर्दा यी पाँच टोली विश्वकप उपाधिका सर्वाधिक बलिया दाबेदार देखिन्छन् ।

५. न्युजिल्यान्ड

न्युजिल्यान्ड कागजी रुपमा सधैं औसत टोलीमा पर्दछ । तर मैदान र आइसिसी प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्नेगर्दछ । टोली सन्तुलन, एकता र उत्कृष्ट नेतृत्व न्युजिल्यान्डको खुबी हो । कुनैपनि टोली च्याम्पियन बन्न उत्कृष्ट खेलाडीनै हुनुपर्छ भन्ने छैन । टोलीमा भएका खेलाडीलाई राम्रोसँग सदुपयोग गर्न सकेपनि च्याम्पियन टोली बन्न सक्छ । त्यसको लागि सबैभन्दा पहिला कप्तानी क्षमता उत्कृष्ट हुनुपर्छ ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन वर्तमान समयका उत्कृष्ट कप्तानमा हुन् । उनको कप्तानीमा यसै वर्ष न्युजिल्यान्डले भारतलाई हराउँदै टेस्ट च्याम्पियनसिप उपाधि जितेको थियो । २०१९ मा सबैलाई आश्चर्य पार्दै एकदिवसिय फाइनलमा स्थान पक्का गराएका थिए । फाइनलमा इंग्ल्यान्डसँग सुपर ओभर बराबर हुँदा बाउन्ड्री काउन्टको आधारमा पराजित हुन पुगेको थियो ।

२०१६ मा विलियम्सनकै कप्तानीमा न्युजिल्यान्डले समूह विजेताको रुपमा सेमिफाइनल खेलेको थियो । शान्त स्वभाव र माष्टर माइन्ड भएमा विलियम्सन प्रदर्शनमात्र नभएर कप्तानीमा पनि खेल जिताउन सक्ने गुण भएका खेलाडी हुन् । उदाहरणीय कप्तान विलियम्सन आफ्नो नेतृत्वमै शक्तिशाली टोलीलाई घुँडा टेकाउँदै आएका छन् ।

न्युजिल्यान्डले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । मार्टिन गुप्टिल, ग्लेन फिलिप्स, विलियम्सन र डेभन कन्वे प्रमुख ब्याटर हुन् । यसअघि न्युजिल्यान्डको ब्याटिङ कमजोर रहँदै आएको थियो । फिलिप्स र कन्वेको आगमनले न्युजिल्यान्डको ब्याटिङ मजबुत बनेको छ । फिलिप्स र कन्वेले प्रदर्शन अन्तर्राष्ट्रिय र फ्रेन्चाइज लिगमा लोभलाग्दो छ ।

गुप्टिल र विलियम्सन अनुभवी खेलाडी हुन् । गुप्टिल टि२० आईमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडीमा पर्दछन् । टिम सिफर्ट, ड्याल मिचेल मध्यक्रम सम्हाल्नेछन् । काइल जेमिसन, जेम्स निशम, मिचेल सान्टनर र मार्क च्यायम्पान अलराउन्डरको रुपमा छन् । निसम र जेसिमन तीव्र गतिको बलिङसँगै तल्लोक्रममा आक्रामक सट प्रहार गर्ने गर्दछन् ।

न्युजिल्यान्डको तीव्र गतिको बलिङ आक्रामण पनि उत्कृष्ट र विश्वस्तरिय छ । ट्रेन्ट बोल्ट, लोकी फर्गुसन, टिम साउथी जस्ता विश्वस्तरिय तीव्र गतिका बलर छन् । फर्गुसनको बलमा गती छ भने बोल्टमा स्वींग । जेमिसन बाउन्सरका लागि माहिर छन् । निसमले पनि राम्रो बलिङ गर्ने गर्दछन् । स्पिनरमा ईश सोधी र मिचेल सान्टर छन् । सोधी राम्रो लयमा छन् । ड्याल मिचेल, टोड एस्टल पार्टटाईमको रुपमा छन् ।

न्युजिल्यान्ड क्रिकेटको एकता र खेल भावना उनीहरुको संस्कारनै हो । विलियम्सनको उत्कृष्ट कप्तानी, टोली सन्तुलन, विश्वस्तरिय तीव्र गतिको बलिङ आक्रामण र टिम एकताले गर्दा न्युजिल्यान्डले सबैलाई आश्चर्य पार्दै उपाधि जित्नसक्छ । सुपर १२ को समूह बी मा रहेको न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाउन भारत वा पाकिस्तान मध्य एकलाई भने पछि पार्नुपर्ने हुन्छ ।

न्युजिल्यान्डले २००७ र २०१६ मा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । टेस्ट च्याम्पियनसिपको उपाधिसँगै उच्च मनोबलमा रहेको न्युजिल्यान्डले टि२० विश्वकपको उपाधि पनि जित्नसक्छ ।

४. पाकिस्तान

टि२० विश्वकप यूएईमा भारतले आयोजना गर्दैछ । यूएई पाकिस्तानको घरेलु मैदान हो । त्यसैले सर्वाधिक फाइदा पाकिस्तानले उठानउने देखिन्छ । विश्वकप हुने मैदान र पिचबारे पाकिस्तानका खेलाडीलाई राम्रोसँग थाहा छ । पाकिस्तानका सबै खेलाडी त्यहाँ खेलेर निखारिएका छन् । त्यसै अनुसार टिम निर्माण, रणनीति र योजना बनाएर खेल्नेछन् । अन्य टोलीलाई भन्दा पाकिस्तानलाई अतिरिक्त फाइदा हुनेछ । २००९ मा श्रीलंका टिम चढेको बस कराँचीमा बम विष्फोट भएपछि पाकिस्तानले यूएईलाई घरेलु मैदान बनाउँदै आएको छ । पाकिस्तान सुपर लिग पनि युएईमा हुँदै आएको छ ।

पाकिस्तानका ओपनर बाबर आजम र मोहम्मद रिजवान उत्कृष्ट लयमा छन् । २०२१ मा रिजवानले १४ इनिङमा १ शतक र ७ अर्धशतक सहित ७ सय ५२ रनका साथ सर्वाधिक रन बनाउने सूचिमा शीर्षस्थानमा छन् । १४ इनिङमै बाबरले १ शतक र ४ अर्धशतक सहित ५ सय २३ रन बनाएका छन् ।

यी दुबैले राम्रो साझेदारी गर्दै ठूलो योगफलको आधार तय गर्नसक्छन् । १५ खेलमा ओपनिङ गर्दा यी दुई जोडीले तीन पटक शतकीय र तीन पटक ५० माथिको साझेदारी गरेका छन् । यी दुई ब्याटरले आफ्नो उच्च प्रदर्शनमा पाकिस्तानको जित सहज बनाउन सक्छन् । दुबै ब्याटरमा क्लास र जिम्मेवारी छ ।

राम्रो सुरुवात पाएपछि मध्यक्रममा शोएब मलिक र मोहम्मद हफिज जस्ता अनुभवी ब्याटरले सम्हाल्दै इनिङलाई अधि बढाउन सक्छन् । दबाबमा अनुभवी खेलाडीले राम्रो प्रदर्शन गर्न सक्छन् । हफिजले पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । युवा ब्याटर हैदर अली, फखर जमान, आसिफ अलीले आक्रामक ब्याटिङका साथ ठूलो योगफल बनाउन सक्छन् ।

स्पिन अलराउन्डर शादब खान र इमाद वासिम पनि राम्रो ब्याटिङको क्षमता राख्छन् । तीव्र गतिको बलिङ आक्रमणमा शाहिन शाह अफ्रिदी, हसन अली, हरिस रौफ, मोहम्मद जुनियर हुँदा उत्कृष्ट छ । जुनियर वाउन्सरको लागि माहिर छन् । अर्कोतर्फ पाकिस्तानसँग इख छ । पाकिस्तान भारत र न्युजिल्यान्डलाई विश्वकपमा हराउन चाहन्छ । न्युजिल्यान्डले अघिल्लो महिना पाकिस्तान भ्रमण गरेपनि सिरिज नखेली फर्किएको थियो । भारत र पाकिस्तानले आन्तरिक राजनीतिको कारण सिरिज खेल्दैनन् ।

पाकिस्तानको टोलीमा इख र जोश बढी छ । त्यो मैदानमा पोख्न चाहन्छ । पाकिस्तानलाई सेमिफाइनलमा पुग्न भारत र न्युजिाल्यान्ड मध्य एकलाई पछि पार्नुपर्छ । पाकिस्तानले २००९ को फाइनलमा श्रीलंकालाई हराउँदै टि२० विश्वकप च्याम्पियन बनेको थियो ।

३.भारत

भारत कागजी रुपमा सधैं बलियो टोली हो । सिरिज, आइसिसीको प्रतियोगितामा लिगमा राम्रो प्रदर्शन गरेपनि नकआउटमा चुक्दै आएको छ । विश्व क्रिकेटमा आफ्नो दबदबा कायम गर्दै आएको भारतलाई विश्वकप उपाधि आवश्यकनै बनि सकेको छ । भारतीय टोलीमा सन्तुलन बढी छ । ब्याटिङमा विराट कोहली, रोहित शर्मा, ईशान किशन, सुर्यकुमार यादव र लोकेश राहुल जस्ता चर्चित म्याच विनर ब्याटर छन् । कोहली र रोहित प्रमुख ब्याटर हुन् । कोहली र रोहित टि२० क्रिकेटका सर्वाधिक सफल खेलाडीमा पर्दछन् ।

रोहित टि२० आईमा चार शतक प्रहार गर्ने एक्लो कप्तान हुन् । रोहित क्रिजमा जमेपछि ठूलो इनिङ खेल्ने गर्दछन् । रोहितले १ सय ११ खेलमा ४ शतक र २२ अर्धशतक सहित २ हजार ८ सय ६४ रन बनाएका छन् । विराट कोहलीले ९० खेलमा २८ अर्धशतक सहित कुल ३ हजार १ सय ५९ रन बनाएका छन् । राहुलले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पछिल्लो तीन वर्षमा भारतबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आइपिएलमा लगातार रन बनाउँदै आएका छन् । राहुलमा जिम्मेवारी छ । राहुलको लयलाई रोक्न विश्वका जुनैसुकै टिम र बलरलाई कठिन पर्ने देखिन्छ ।

सूर्य र इशान आक्रामक ब्याटिङका लागि चिनिन्छन् । विकेटकिपर ऋषभ पन्त, हार्दिक पान्ड्या र रविन्द्र जडेजा जस्ता आक्रामक ब्याटर हुन् । पन्त र हार्दिक टि२० स्पेलिष्ट मानिन्छन् । यूएई स्पिनर सहयोगी मानिएको छ । भारतले आफ्नो टोलीमा रविन्द्रन आश्विन, बरुणचक्रवर्ती र राहुल चाहर स्पिनरको रुपमा छन् । तीव्र गतिको बलमा जस्प्रित बुमराह, मोहम्मद शामी, भुवनेश्वर कुमार र शार्दूल ठाकुर छन् ।

Kohli and Bumrah

योर्कर बलका लागि माहिर बुमराह बर्तमान क्रिकेट टोलीका सर्वोत्कृष्ट खेलाडीका हुन् । टोलीमा यस पटक पूर्व कप्तान महेन्द्रसिंह धोनी सल्लाहकारको रुपमा छन् । भारतलाई तीनै विश्वकप उपाधि जिताएका एक सफल कप्तान टोलीमा हुँदा कमजोरी सुधारमा राम्रो सल्लाह दिनसक्छन् । भारतले सन् २००७ को विश्वकपमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।

२. इंग्ल्यान्ड

इंग्ल्यान्ड वर्तमान विश्व क्रिकेटको एक उत्कृष्ट टोली हो । पछिल्लो पाँच वर्षमा इंग्ल्यान्डले विश्व क्रिकेटमै खेल्ने शैलीमा परिवर्तन ल्याएको छ । २०१९ को एकदिवसिय विश्वकप च्याम्पियन इंग्ल्यान्ड टि२० विश्वकप जित्न चाहन्छ । इंग्ल्यान्डको मुख्य खुबी ब्याटिङ हो । उनीहरुको ब्याटिङ शैली अन्य टोलीको भन्दा फरक रहँदै आएको छ ।

दबाब, खराब सुरुवात र कमजोर अवस्थामा पनि आक्रामक ब्याटिङको क्षमता राख्ने गर्दछन् । इंग्ल्यान्ड २०१६ को विश्वकपको फाइनलमा पराजित भएको थियो ।

इंग्ल्यान्ड ब्याटिङमा विशाल योगफल बनाउन र पूरा गर्नसक्छ । जस बटलर, जेसन रोय, जोनी बेयरस्टो, ओईन मोर्गन, लियाम लिभिङस्टोन र डेविड मलान जस्ता विश्वस्तरिय टि२० प्रमुख ब्याटर टोलीमा छन् । बटलर र रोय दुबै आक्रामक ब्याटिङका लागि परिचित छन् । ठूला सटका लागि माहिर यी दुई ब्याटरले पावर प्लेमा उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् । मलान, लिभिङस्टोन र मोर्गन ठूला सट र इनिङको लागि परिचित छन् । लिभिङस्टोन र मलानले इंग्ल्यान्डबाट लगातार उत्कृष्ट प्रदर्शन पनि गर्दै आएका छन् ।

मोईन अली, टम करन, डेविड विल्ली, क्रिस वोक्स जस्ता अलराउन्डर टोलीमा छन् । आदिल राशिद प्रमुख स्पिनर हुन् । मार्क वुड,वोक्स, विल्ली, टायमल मिल्स तीव्र गतिका बलर हुन् । इंग्ल्यान्डले २ सय २० माथिको योगफल सफल रुपमा दुई पटक पूरा गरेको छ । इंग्ल्यान्डको ब्याटिङमा गहिराई र विष्फोटक ब्यारटको बाहुल्यता छ ।

स्टार अलराउन्डर बेन स्टोक्स र जोफ्रा आर्चर टोलीमा नहुँदा केहि असर पर्नसक्छ । अर्कोतर्फ मोर्गनको कप्तानी पनि उत्कृष्ट मानिन्छ । उत्कृष्ट ब्याटिङ र कप्तानीमा इंग्ल्यान्ड उपाधिको बलियो दाबेदार देखिन्छ ।

१. वेस्टइन्डिज

वेस्टइन्डिज टि२० क्रिकेटमा विश्वकै सवैभन्दा खतरा टोली हो । विश्वका टि२० स्टार ब्याटर र अलराउन्डर वेस्टइन्डिजमा छन् । हार्ड हिटर र विष्फोटक ब्याटरको बाहुल्यता छ । वेस्टइन्डिज विश्वको त्यस्तो टोली हो जसका प्लेइङ ११ मा रहेका सबै खेलाडी ब्याटिङबाट खेल जिताउन सक्ने खुबी राख्छन् । आन्द्रे फे्लेचर, लेन्डन सिमन्स, इविन लेविस ओपनरको रुपमा छन् । निकोलस पुरन, शिम्रन हेटमायर र क्रिस गेल छन् । गेल सर्वाधिक अनुभवी खेलाडी हुन् । आफ्नो अनुभवको भरपूर्ण फाइदा उठाउन सक्छन् । सिमन्स र लेविसले पछिल्लो समय उच्च प्रदर्शन गर्दै आएका छन् ।

सुनिल नारायण र जेसन होल्डर जस्ता विश्व स्तरिय फ्रेन्चाइज लिगमा राम्रो गर्ने खेलाडी टोलीमा अटाउन सकेका छैनन् । आन्द्रे रसेल र कप्तान काइरन पोलार्ड जस्ता विश्व चर्चित म्याच विनर अलराउन्डर हुन् । दुवै हार्ड हिटर हुन् । एकै ओभरमा यी दुई ब्याटरले खेल मोड्न सक्छन् । विष्फोटक ब्याटिङका लागि माहिर यी दुई ब्याटर डेथ ओभरमा असम्भव मानिएको खेललाई पनि जितमा बदल्ने गर्दछन् । रसेल र पोलार्ड क्रिजमा हुनसम्म टोलीको जितको आशा कायमै रहने गर्दछ ।

रसेल र पोलार्ड एक्लै खेल जिताउन सक्ने खुबी भएका खेलाडी हुन् । यी दुई बाहेक फबिएन एलेन, ड्वेन ब्राभो र रोश्टन चेश अलराउन्डरको रुपमा छन् । एलेन फिल्डिङ मार्फत पनि खेल मोड्न सक्छन् । ब्राभो डेथ ओभर स्पेलिष्टनै मानिन्छन् । युवा स्टार म्याककोयले त्यतिनै राम्रो प्रर्दशन गर्दै आएका छन् । म्याककोयको आगमनले तीव्र गतिको बलिङ युनिट मजबुत बनेको छ । अष्ट्रेलियालाई पाँच टि२० आई सिरिजमा पराजित गर्न म्याककोयले उच्च प्रदर्शन गरेका थिए । रसेल, ब्राभो, पोलार्ड र म्याकोय तीव्र गतिको बलिङ सम्हाल्ने छन् ।

स्पिनरमा हेडन वाल्श जुनियर छन् । जुनियरले वेस्टइन्डिजको टोली र फ्रेन्चाइज क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । वेस्टइन्डिजको टोलीमा पूरन, लेविस, गेल, हेटमायर बायाँ हाते ब्याटर छन् । जसको कारण पनि वेस्टइन्डिजलाई अतिरिक्त फाइदा मिल्नसक्छ ।

अर्कोतर्फ विश्व टि२० फ्रेन्चाइज लिगमा वेस्टइन्डिजका खेलाडी पहिलो रोजाईमा पर्ने गर्दछन् । यूएईको पिच बारे राम्रोसँग जानकार छन् । आइपिएल, पिएसएल, टि१० लिग लगायतका फ्रेन्चाइज लिग युएईमा खेल्दै आएका छन् ।

वेस्टइन्डिजले पछिल्लो समय फिल्डिङमा पनि व्यापक परिवर्तन गरेको छ । टि२० ब्याटरको बाहुल्यता भएको वेस्टइन्डिज उत्कृष्ट ब्याटिङमा जित निकाल्न सक्छ । टि२० खेलनै ब्याटिङमा बढी निर्भर हो । वेस्टइन्डिजले २०१२ र २०१६ मा टि२० विश्वकप उपाधि जितेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.