default_image

4 years ago

October 30, 2021

नेपालमा चल्न नसकेका पाकिस्तानका फिनिसर आसिफ

149 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ मा अफगानिस्तानलाई ५ विकेटले हराउँदा पाकिस्तानका आसिफ अलीले फिनिसिङको उत्कृष्ट नमुना पेस गरे । पाकिस्तानको पछिल्ला दुवै जितमा निर्णायक भुमिकामा आसिफ नै रहे । तर यिनै आसिफ नेपालमा एभरेष्ट प्रिमियर लिगमा भने फ्लप रहेका थिए ।

ग्रुप २ को मा रहेको पाकिस्तानले लगतार तेस्रो खेलमा जित निकाल्नेक्रममा शुक्रबार राती अफगानिस्तानलाई पराजित गर्दै सेमिफाइनल यात्रा बलियो बनाएको छ । शुक्रबार राती पाकिस्तानले जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जितको लागि अन्तिम १२ बलमा २४ रन आवश्यक परेको थियो । आसिफले १९ औं ओभरमा तीव्र गतिका बलर करिम जन्नतलाई ४ छक्का प्रहार गर्दै पाकिस्तानलाई अफगानिस्तानसँग अप्रत्याशित हारबाट जोगाएका थिए ।

तीव्र गतिका बलर करिज जन्नतलाई १९ औं ओभरको पहिलो बलमै आसिफले लङअफमा सानदार छक्का प्रहार गरेका थिए । दोस्रो बलमा रन जोड्न सकेनन् । तेस्रो बलमा मिडविकेटमा सानदार छक्का प्रहार गरेपछि पाकिस्तान जिततर्फ अघि बढेको थियो । चौथो बल जन्नतले डट राखे । पाँचौं बलमा जन्नतले योर्कर फ्याँलेपनि लङअफमा आसिफले सानदार छक्का प्रहार गर्दै जित सहज बनाएका थिए । अन्तिम बलमा छक्का प्रहार गर्दै खेल एक अगावै जिताएका हुन् ।

अघिल्लो महिना सम्पन्न चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सलाई उपाधि दिलाउन अफगानिस्तानका अलराउन्डर करिम जन्नतले उच्च प्रदर्शन गरेका थिए । आसिफले पनि इपिएल खेलिसकेका छन् । तर प्रदर्शन भने सम्झनलायक छैन ।

अफगानिस्तानविरुद्ध आसिफ ७ बलमा ४ छक्का सहित २५ रनमा अविजित रहे । यसअघि दोस्रो खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्न आसिफले अन्तिममा उत्कृष्ट फिनिसिङ गरेका थिए । पाकिस्तानले १ सय ३५ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १८.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो । आसिफले उत्कृष्ट अन्त्य गर्दै १२ बलमा १ चौका र ३ छक्का सहित २७ रनमा अविजित थिए ।

न्युजिल्यान्डविरुद्ध पाकिस्तानलाई जितको लागि अन्तिम २४ बलमा ३७ रन चाहिएको थियो । १७ औं ओभरको दोस्रो र तेस्रो बलमा टिम साउथीलाई छक्का प्रहार गर्दै पाकिस्तानको जित दिलाएका थिए । आसिफले १९ औं ओभरको तेस्रो बलमा ट्रेन्ट बोल्टलाई छक्का र चौथो बलमा दुई रनका साथ खेल फिनिसिङ गरेका थिए ।

पहिलो खेलमा भने पाकिस्तानले भारतलाई १० विकेटले हराएपछि उनले ब्याटिङ गर्नु परेन । टि२० विश्वकपमा पाकिस्तानका नायक आसिफ २०१७ मा इपिएल खेल्न नेपाल आएका थिए । पोखरा राइनोजबाट दोस्रो संस्करणको इपिएल खेलेका उनको प्रदर्शन भने सम्झनलायक थिएन ।

इपिएलमा आसिफको त्यो खराब प्रदर्शन

आसिफले २०१७ मा शक्ति गौचनको कप्तानीमा पोखराबाट इपिएल खेल्दै खराब प्रदर्शन गरेका थिए । पोखरा इलिमिनेटरबाट बाहिरिँदा आसिफले कुनैपनि खेलमा राम्रो प्रदर्शन गर्न सकेनन् । टियुको पिच र नेपाली बलर सामू उनी निरीह जस्तै बनेका थिए । उनले कुल ६ खेलमा २२ बल खेल्दा मात्र १८ रन बनाउन सकेका थिए । जसमा उत्कृष्ट प्रदर्शन १० रन थियो । प्रतियोगिता अवधिभर २ चौका मात्र प्रहार गरेका थिए ।

चितवन टाइगर्सविरुद्ध आसिफले ब्याटिङको अवसर पाएका थिएनन् । विराटनगर वारियर्सविरुद्ध आसिफलाई स्पिनर वसन्त रेग्मीले १ रनमा बोल्ड गरेका थिए । भैरहवा ग्ल्याडियटर्सविरुद्ध आसिफलाई तीव्र गतिका बलर कृष्ण कार्कीले पुनित मिश्राबाट १० रनमा क्याच गराएका थिए । ललितपुर प्याट्रियट्ससँगको खेलमा आसिफले ६ बलमा २ रन बनाएका थिए । स्पिनर ललितनारायण राजवंशीले जयकिशन कोल्सावालाबाट स्टम्पिङ आउट गराएका थिए ।

काठमाडौं किंग्स इलेभेनसँगको खेलमा आसिफ ३ बलमा ३ रन जोड्दा विक्रम भुषालबाट रन आउट भएका थिए । ललितपुरसँग एलिमिनेटर खेलमा पवन सरार्फले आसिफ अलीलाई २ रनमा बोल्ड गरेका थिए । आसिफ इपिएलमा फ्लप थिए । उनको प्रदर्शन सम्झन लायक थिएन ।

त्यसबेला टोलीका कप्तान शक्ति गौचनले आसिफको ब्याटबाट रन निस्केपनि उनको स्तरमा शंका गर्न नमिल्ने बताएका थिए । इपिएलमा नचलेपनि टिमा भने उनले आफ्नो क्षमता देखाएको शक्तिको भनाइ थियो ।

टि२० विश्वकपमा पाकिस्तान र अफगानिस्तानबिचको खेलमा इपिएल खेलेका चार खेलाडी थिए । अफगानिस्तानका करिम जन्नत र मोहम्मद शाहजाद यस सिजनको इपिएल उपाधि चितवनलाई च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । अफगानिस्तानका रहमानउल्लाह गुर्बाजले काठमाडौंबाट इपिएल खेलेका थिए ।

आसिफले इपिएलपछि पाकिस्तानको टोलीमा डेब्यू गरेका थिए । २०१८ को पाकिस्तान कपमा पन्जाबाट उत्कृष्ट प्रदर्शन गर्दै ४ खेलमा ३ सय २८ रन बनाएका छन् । त्यसपछि मार्चमा वेस्टइन्डिजसँगको सिरिजको लागि उनी पाकिस्तानको टोलीमा परेका थिए । वेस्टइन्डिजसँगको खेलमा टि२० आईमा डेब्यू गर्दै १ रनमा आउट हुन पुगेका थिए । जुलाईमा जिम्बावेविरुद्ध ओडिआईमा डेब्यू गर्दै २५ बलमा ४ चौका र २ छक्का सहित ४६ रनको इनिङ खेलेका थिए ।

विश्वकप २०१९ को त्यो पिडादायी घटना

आसिफ २०१९ को पाकिस्तानको एकदिवसिय विश्वकप टोलीमा परेका थिए । अली विश्वकप टोलीमा पर्नुअघि छोरीको क्यानसरको कारण मृत्यु भएको थियो । छोरीको मृत्युको बाबजुद पनि उनी देशको लागि विश्वकप खेल्न इंग्ल्यान्ड पुगेका थिए । विश्वकपमा आसिफले २ खेलमा १९ रन बनाएका थिए ।

विश्वकप टोलीमा परेपछि विवादित आसिफ

पाकिस्तानले टि२० विश्वकप २०२१ मा आफ्नो अन्तिम टोली घोषणा गर्दा देशमा चर्को आलोचना भएको थियो । केहि प्रत्याशित नाम थिए । आलोचित नाम मध्यका एक आसिफ पनि थिए । पछिल्लो समय पाकिस्तानको टोलीबाट उनको प्रदर्शन राम्रो थिएन ।

कतिपयले उनलाई पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमिज राजाको आदेशमा परेको सम्म आरोप लगाएका थिए । उनलाई उत्कृष्ट प्रदर्शनको दबाब र ईख पनि छ । विश्वकप टोलीमा पर्नुअघि आसिफले अप्रिलमा पाकिस्तानको टोलीबाट खेलेका थिए ।

विश्वकप अघि उनको प्रदर्शन भने राम्रो थिएन । विश्वकप टोलीमा पर्नुअघि पछिल्लो १० टि२० आई खेलमा उनको प्रदर्शन क्रमशः २५, ३, ६, २९, १, ११, ४, ७, ५ र १ थियो । त्यसैले पनि आसिफलाई विश्वकपमा पर्ने कम आशा थियो । । पाकिस्तानको ब्याटिङ बाबर आजम र मोहम्मद रिजवानमा बढी निर्भर छ । पाकिस्तानले तल्लोक्रम र मध्यक्रममा थुप्रै खेलाडीलाई प्रयोग गरेको थियो । तर खोजे जस्तो पाउन सकेन । पाकिस्तानले फिनिसरमा आसिफका साथनै जाने निर्णय लिएको थियो ।

विश्वकपका पाकिस्तानलाई आशा जगाउँदै आसिफ

सुरुवाती दुई खेलमा आसिफले आफ्नो भूमिकामा कुनै कसर राखेका छैनन् । आफ्ना आलोचकलाई राम्रो जवाफ दिएका छन् । आसिफले मौका पाएका दुवै खेलमा उत्कृष्ट फिनिसरको भूमिका निर्वाह गरेका छन् । अव पाकिस्तानको सेमिफाइनल सम्भावना निश्चित जस्तै भएको छ । सेमिफाइनल औपचारिकता बाँकी देखिन्छ । दोस्रो घरेलु मैदान युएईको भरपूर्ण फाइदा उठाएको पाकिस्तान टि२० विश्वकप जित्ने सोचमा छ ।

आसिफको यस प्रदर्शनले पाकिस्तान अझ उत्साहित र खुसी बनेको छ । अर्कोतर्फ सुरुवाती दुई खेलले उच्च प्रदर्शनले उनको मनोबल पनि उच्च छ । यसले पाकिस्तानलाईनै फाइदा पुग्नेछ । अनि उनलाई उत्कृष्ट प्रदर्शन बाहेकको विकल्प पनि छैन । आसिफले सिमित ब्याटरमा निर्भर छैन भन्ने सन्देश पनि दिएका छन् ।

यो पनि पढ्नुहोस् : विश्वकप टोलीमा पर्नुअघि छोरीको निधन

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.