default_image

4 years ago

October 31, 2021

भारत र न्युजिल्यान्डबीचको खेल क्वाटरफाइनल सरह

178 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह २ मा आज न्युजिल्यान्ड र भारतबीच महत्वपूर्ण खेल हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

दुबै टोलीलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न आजको खेल जित्नै पर्ने दबाब छ । यी दुई देशको लागि यो खेल क्वाटरफाइनल सरह हुने छ । समूह २ बाट पाकिस्तानले सुरुवाती ३ खेलमानै जितका साथ सेमिफाइनल पक्का जस्तै बनाएको छ । प्रतिद्धन्द्धी हेर्दा भारत र न्युजिल्यान्ड मध्य एक सेमिफाइनलमा पुग्ने देखिन्छ । यो अवस्थामा दुबै टोलीलाई जित बाहेकको अन्य कुनै विकल्प छैन । कुनै आश्चर्य र जादुमय नतिजा नआए आजको पराजित हुने टोली समूह चरणबाटै बाहिरिने समीकरण देखिन्छ । त्यस्तैले दुबै टोली गर वा मरको अवस्थामा छन् ।

भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । न्युजिल्यान्ड पनि पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । दुबै टोली पहिलो जितका साथ महत्वपूर्ण २ अंक बटुल्न चाहन्छन् । भारतलाई शीर्षक्रमका ब्याटरले राम्रो सुरुवात दिन आवश्यक देखिन्छ । रोहित शर्मा र लोकेश राहुल ओपनरमै रहनेछन् । तर पछिल्लो समय टि२० आईमा राहुल र रोहितको प्रदर्शन कमजोर छ । अर्कोतर्फ बायाँ हाते तीव्र गतिका बलर सामू यी दुबै बलरको नतिजा खराब छ ।

पाकिस्तानसँगको खेलमा बायाँ हाते तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले दुबै ओपनरलाई आउट गरेका थिए । न्युजिल्यान्डका बायाँ हाते तीव्र गतिका बलर ट्रेन्ट बोल्ट पुन घातक बन्न सक्छन् । स्वींग बल भारतीय ब्याटरको कमजोरीको रुपमा रहँदै आएको छ । कप्तान विराट कोहलीलाई आक्रामक इनिङ खेल्न आवश्यक देखिन्छ । ऋषभ पन्त र सूर्यकुमार यादव न्युजिल्यान्डलाई घातक बन्न सक्छन् ।

भारतसँग छैटौं बलरको विकल्प छैन । हार्दिक पान्ड्या नेटमा फर्किँदै बलिङ गरि सकेका छन् । हार्दिकले बलिङ गर्न नसके भारत थप समस्यामा पर्नेछ । तीव्र गतिको बलिङ युनिटमा भारतले केहि परिवर्तन गर्नसक्छ । तीव्र गतिका बलर भुवनेश्वर कुमारको स्थानमा शार्दूल ठाकुर राम्रो विकल्प बन्नसक्छन् । ठाकुर तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता पनि राख्छन् ।

रविन्द्र जडेजा स्पिन अलराउन्डरको रुपमा रहनेछन् । तीव्र गतिका बलर जस्प्रित बुमराह भारतका प्रमुख हतियार हुन् । उनले आफ्नो सटिक योर्करमा न्युजिल्यान्डलाई निराश बनाउन सक्छन् । स्पिनर बरुण चक्रवर्तीलाईनै निरन्तरता दिने सम्भावना छ । भारतमा दबाबमा सम्हाल्लिएर खेल्न आवश्यक देखिन्छ ।

न्युजिल्यान्डका ओपनर पाकिस्तानसँग दोस्रो इनिङमा फिल्डिङ गर्न मैदान आएका थिएनन् । उनी फिट भएको बुझिएको छ । न्युजिल्यान्डले आजको खेलमा ग्लेन फिलिप्स र गुप्टिलका साथ ओपनिङ गराउन सक्छ । पहिलो खेलमा ड्याल मिचेलले ओपनिङ गरेका थिए । केन विलियम्सन न्युजिल्यान्डका प्रमुख हतियार हुन् । ब्याटिङमा उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

उनी पाकिस्तानसँगको खेलमा रन आउट हुन पुगेका थिए । डेभन कन्वे र टिम सिफर्ट मध्यक्रमका न्युजिल्यान्डका ब्याटिङ खम्बा हुन् । न्युजिल्यान्डले आजको खेलमा टिम साउथीलाई बेन्चमा राख्ने सम्भावना छ । उनको स्थानमा तीव्र गतिका बलर एडम मिल्नेले मौका पाउन सक्छन् । काइल जेमिसन अर्को विकल्प हुन् । जेमिसन तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता पनि राख्छन् । समग्रमा न्युजिल्यान्डको टोलीमा दुई परिवर्तनको सम्भावना छ ।

आजको खेलमा टसले निकै प्रभाव पार्नेछ । दुबईमा यस वर्ष १८ खेलमा लक्ष्य पछ्याउने टोली १४ पटक विजयी भएका छन् । रोहित शर्माविरुद्ध ट्रेन्ट बोल्ट, केन विलियम्सनविरुद्ध मोहम्मद शामीको ब्याटल रोचक हुनसक्छ । विलियम्सन आफ्नो उत्कृष्ट कप्तानीमा भारतलाई स्तब्ध पार्नसक्छन् ।

भारत उत्कृष्ट प्रदर्शनका साथ उपाधि जित्न चाहन्छ । तर आइसिसी प्रतियोगितामा भारतले न्युजिल्यान्डलाई पछिल्लो १८ वर्षमा हराउन सकेको छैन । गत जुनमा भारतलाई ८ विकेटले हराउँदै न्युजिल्यान्डले टेस्ट च्याम्पियनसिप उपाधि जितेको थियो । शैली फरक भएपनि मनोबलले भने धेरै प्रभाव पार्नेछ । २०१९ को एकदिवसिय विश्वकप सेमिफाइनलमा भारतलाई हराउँदै न्युजिल्यान्डले फाइनलमा स्थान बनाएको थियो । सिरिजहरुमा कमजोर प्रदर्शन गरेपनि आइसिसी प्रतियोगितामा न्युजिल्यान्डले उच्च प्रदर्शन गर्दै आएको छ ।

हेड टु हेड :

न्युजिल्यान्ड र भारतबीच कुल १६ टि२० आई खेल भएको छ । दुबै टोली ८–८ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच टि२० खेलमा न्युजिल्यान्डले भारतलाई हराउन सकेको छैन । टि२० विश्वकपमा यी दुई टोलीबीच दुई खेल भएको छ । जसमा दुबै खेलमा न्युजिल्यान्ड विजयी भएको छ । न्युजिल्यान्ड २००७ मा १० रन र २०१६ मा ४७ रनले विजयी भएको थियो ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ३ खेलमा ३ मानै जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । ३ खेलमा २ मा जित र १ मा हार सहित समान ४ अंक भएपनि नेटरनरेटको आधारमा दक्षिण अफ्रिका तेस्रो स्थानमा छ ।

श्रीलंका ३ खेलमा १ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।

सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । नामिबिया १ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । अंक बिहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।

भारतको टोली :

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), लोकेश राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), ईशान किशन (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन आश्विन, शार्दूल ठाकुर, बरुण चक्रवर्ती, जस्प्रित बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शामी

न्युजिल्यान्डको टोली :

केन विलियम्सन (कप्तान), टोड एश्टल, ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, मार्टिन गुप्टिल, काईल जेमिसन, ड्र्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, मिचेल सान्टनर, टिम सिफर्ट (विकेटकिपर), ईस सोधी, टिम साउथी र एडम मिल्ने ।

यो पनि पढ्नुहोस् : भारतले न्युजिल्यान्डसँग खेल्नुअघि सुधार गर्नुपर्ने तीन कमजोरी

पाकिस्तानसँग हारपछि भारतीय टोलीमा देखाएका पाँच दुविधा

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.