default_image

2 years ago

November 5, 2021

एकै मैदानमा क्रिकेटर बुवा र कप्तान छोरा

भुपेन्द्र जिसी, काठमाडौं सुन्दा विश्वास गर्न कठिन हुन्छ, तर नाताले बाबुछोरा ५५ वर्षीय उदय थापा र १९ वर्षीय अमृत थापा धादिङ जिल्लास्तरिय टि२० क्रिकेट प्रतियोगितामा एकसाथ मैदानमा उत्रिए । धादिङ जिल्लाको टिम निर्माणको लागि धादिङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा छोरा अमृतको कप्तानीमा उत्रिएको त्रिपुरासुन्दरी क्रिकेट क्लबले राम्रो प्रदर्शन गर्यो । कुनैपनि बुबाको सपना […]

75 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

सुन्दा विश्वास गर्न कठिन हुन्छ, तर नाताले बाबुछोरा ५५ वर्षीय उदय थापा र १९ वर्षीय अमृत थापा धादिङ जिल्लास्तरिय टि२० क्रिकेट प्रतियोगितामा एकसाथ मैदानमा उत्रिए । धादिङ जिल्लाको टिम निर्माणको लागि धादिङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा छोरा अमृतको कप्तानीमा उत्रिएको त्रिपुरासुन्दरी क्रिकेट क्लबले राम्रो प्रदर्शन गर्यो ।

कुनैपनि बुबाको सपना छोरोलाई सधैं राम्रो र आफूभन्दा उत्कृष्ट बनाउने हुन्छ । सन्तानको भविष्य राम्रो बनाउन त्यसैले त आफ्नो सम्पूर्ण खुसी त्याग्न पनि तयार हुन्छन् । कतिपयले आफ्नो पूरा हुन नसकेको सपना छोराबाट साकार पार्न चाहन्छन् । छोराछोरी पनिपनि बुबाबाट आफूलाई राम्रोसाथ र सहयोग गरुन् भन्ने चाहन्छन् ।

खेलकुदमा हरेक छोराको सपना बुबाले राम्रो साथ दिउन् भन्ने हुन्छन् । बुबाको सपना पनि छोरालाई राम्रो खेलाडी बनाउने हुन्छ । तर एकसाथ खेल्ने सपना कमैले देखेका हुन्छन् र विरलैको पूरा हुन्छ । बाबु र छोरा एउटै टोलीबाट खेल खेलेको विश्वमै कमै उदाहरण छन् ।

त्रिपुरासुन्दरीबाट बाबु उदय र छोरा अमृतको जोडीले उत्कृष्ट प्रदर्शनका साथ टोलीलाई फाइनलमा पुर्याएका थिए । तर फाइनलमा भने दुवै बाबुछोरा चल्न नसक्दा त्रिपुरासुन्दरी गजुरी सामुदायिक समाजसँग २१ रनले पराजित हुँदै च्याम्पियन बन्न चुकेको थियो । बाबु छोराले मैदानभित्र प्रदर्शन र बाहिर सामाजिक सन्जालमा राम्रो चर्चा पाएका छन् ।

बाबु छोराले उच्च प्रदर्शनमा त्रिपुरासुन्दरीले फाइनल यात्रा तय गरेको थियो । फाइनलमा बलिङमा उत्कृष्ट प्रदर्शनका साथ गजुरीलाई १ सय १० रनमै समेटेपछि लक्ष्य पछ्याउँदा ८९ रनमा समेटिएको थियो । त्रिपुरासुन्दरी यी दुई बाबु छोरामा बढी निर्भर थियो । उदय १४ र अमृत ११ रनमा आउट भएपछि उपाधि जित्न सकेन ।

५५ वर्षीय उदयमा जोश, जाँगर र खेल्ने शैली युवा खेलाडीको भन्दा कम थिएन । उनले मैदानमा देखाउने हाउभाउले युवा पुस्ताका खेलाडीमा अझ उर्जा थपेको थियो । यता प्रतियोगिताका उत्कृष्ट ब्याटर चुनिएका छोरा अमृतले ५ खेलमा २ सय ३७ रन बनाउनुको साथै ५ विकेट लिए । त्रिपुरासुन्दरीले जितेका कुल चार मध्य तीन खेलमा अमृत प्लेयर अफ द म्याच चुनिए । अमृतले सेमिफाइनलमा संवाहकविरुद्ध ४४ बलमा १२ चौका र ३ छक्का सहित ८५ रनको उत्कृष्ट इनिङ खेलेका थिए । समूह चरणमा उनले शुभारम्भविरुद्ध ४१ बलमा १२ चौका र २ छक्का सहित ७२ रनको इनिङ खेलेका थिए ।

अमृतले इनिङ ओपनिङ गर्दै आक्रामक क्रिकेट खेलेका थिए । यता बुबा उदयले ५ खेलमा ९ विकेट लिएका थिए । दुवै बाबु छोराले लेगस्पिन बलिङमा विपक्षी इनिङ धराशायी बनाए । छोराले ओपनिङमा युवा जोशका साथ आक्रामक सुरुवात दिलाउँदा बुबाले मध्यक्रममा अनुभवको फाइदा उठाउँदै ब्याटिङ सम्हालेका थिए ।

उदयका अनुसार बाबुछोराको जोडि क्रिकेटमा मात्र सिमित नभएर फिटनेसका लागि ब्याडमिन्टनमा पनि जमेको छ । मैदानबाहिर नाताले बाबुछोरा भएपनि भित्र भने खेलाडीको भूमिकामा रहने उनले बताए । ‘हामी क्रिकेटमात्र होईन चन्द्रागिरीमा आफ्नो फिटनेसको लागि ब्याडमिन्टन पनि सँगै खेल्ने गर्दछौं । यहाँ छोरा कप्तान भएर खेलेको थियो । मैदानमा हुँदा हामी खेलाडीको रुपमै व्यवहार गर्छौ । घर गएपछि बाबुछोरा’, उदयले भने ।

‘हामी खेलाडीको रुपमा एक अर्कालाई लिन्छौं । अमृतले बुवा भन्दैमा मैदानमा नकराउने कुरा हुँदैन । गल्ती गरेमा सम्झाउँछ र खेलको आवश्यकता अनुसार आदेश दिन्छ । मैले पनि छोरा होईन सहकर्मी नै सम्झेर खेल्छु । आवश्यक पर्दा सल्लाह दिन्छु’, उदयले भने ।

छोरा अमृत बुवासँग मैदानमा सँगै खेल्न पाउनुलाई सौभाग्यको रुपमा लिन्छन् । ‘बुबासँगै खेल्दा एकदमै खुसी लाग्छ । सानैदेखि सिकाउनु भयो । यहाँसम्म सहयोग र साथ दिँदै आउनु भएको छ । सँगै खेल्ने दुर्लभ अवसर पाउँदा झन खुसी लाग्छ । कप्तानीमा पनि बुबाले सहयोग गर्ने गर्नुहुन्छ । यो टोली गाउँबाट आएको थियो । धेरै खेलाडीहरु ड्युज बलले पहिलो पटक खेलेका थिए,’ उनले भने ।

‘पहिला बुवा भारत र दुबईमा खेलेको अनुभव भएकाले सहयोग पनि धेरै भयो,’ छोरा अमृतले बुबासँगको खेल्दा अनुभव बताए, ‘म टिममा कप्तान भएपनि वहाँको बढी प्रभाव छ । अरु खेलाडीहरु मैले भन्दा पनि बुवाको कुरा धेरै सुन्छन् र मान्छन् । यसअघि हामी २०७३ सालमा काठमाडौंको टियु मैदानमा भएको रुस्लान टि२० कप क्रिकेट धादिङको खहरे टिमबाट पनिसँगै खेलेका थियौं,’ अमृतले भने ।

पारिवारिक समस्याले आफू विदेशिनु पर्दा क्रिकेट करिअर अघि बढाउन नपाएको अनुभव उदयले साटे । ‘सायद म त्यो समय पारिवारिक बाध्यताले विदेश नगएको भए राष्ट्रिय टोलीबाट खेलेको हुन्थें होला । मैले त्यसबेला लेगस्पिनरको रुपमा राम्रो प्रभाव छाडिसकेको थिएँ । तर मैले खेल्ने समय र अवसर पाइनँ । अहिले छोरालाई खेल भन्छु । मेरो सपना छोरालाई नेपालबाट खेलाउने चाहना छ’, उदयले भने ।

उमेरले ५५ पुगेपनि आफू खेल्न अझै सक्षम रहेको उदयको बुझाइ छ । ‘उमेरको हिसाबले धेरैले त किन खेलेको होला पनि भन्छन् । क्रिकेट खेल्ने सबै शारीरिक शक्तिले मात्र होइन, प्राविधिक र बौद्धिक पक्ष पनि छ । हाम्रोमा धेरै खेलाडीले पहिलो पटक ड्युज बल खेलेका थिए । त्यसैले मैले आफ्नो आवश्यकता देखेर खेलेको हुँ, नत्र खेल्ने थिइनँ । अब खेल्दिन पनि । मैदानमा खेल्न जादा थप नयाँ उर्जा आउँछ । मैदान बाहिर आएपछि बल्ल थकानको महसुस हुन्छ’, उनले भने ।

बुवासँग मैदानमा खेल्दा खुसीका साथसाथै केहि फरक महसुस हुने अमृत बताउँछन् । ‘मेरो लागि विशेष क्षण हो । विश्वमा बाबुछोरासँगै खेलेको कमै होलान् । सिकाउने र खेल्ने फरक हुन्छ । मैदानमा ११ जनालाई नेतृत्व गर्नुपर्छ र त्यसमध्य बुबा पनि एक हुँदा केहि खुसी र केहि नर्भस हुन्छु । मैदानमा सँगै बुवालाई पनि देख्दा गर्व महसुस हुन्छ,’ उनले सुनाए, ‘चन्द्रागिरीमा हामीलाई ब्याडमिन्टमा बाबुछोरा जोडी भनेर चिन्छन् । त्यहाँ हुने कुनैपनि ब्याडमिन्टनको प्रतियोगिता हामी छोड्दैनौं । अरुले बाबुछोरा जोडी भनेको सुन्दा झन खुसी लाग्छ ।’

उदय आफ्नो समयका राम्रो खेलाडी थिए । अझ भारतमा क्रिकेट खेलेर हुर्किएको हुँदा त्यो प्रभाव बढी थियो । त्यो समय नेपाली क्रिकेट अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि टिम निर्माणको तयारीको चरणमा थियो । तर उनले विदेशिनु परेपछि क्रिकेटमा ध्यान दिन सकेनन् ।

उदयको जन्म धादिङको त्रिपुरासुन्दी वडा नम्बर ४ भएको हो । उदय ६ वर्षको उमेरमा आफ्नो बुबासँग पढाईको सिलसिलामा भारतको बिहार गएका थिए । बुबाको सरकारी जागिर हुँदा १९ वर्ष भारतमा बसेपछि उनी नेपाल फर्किएका थिए । त्यो समयमा नेपाल आउने-जाने क्रम भने नियमित थियो ।

उदयले भारतमा ए डिभिजन लिगहरु खेले । जन्चतपुरमा जनरल अफिसबाट खेलेका थिए । २०७६ सालमा भारतीय स्पिनर वुरती वंकेटराम नेपालमा बलिङ प्रशिक्षकको रुपमा आएका थिए । कुनै समय उदय र वुरतीले सँगै खेलेका थिए । तर विभिन्न कारण नेपालका लागि खेल्न पाएनन् । आफूले खेल्न नपाएपनि छोरालाई नेपालबाट खेलाउने उनको सपना छ । सन् १९९२ तिर नेपालमा जयकुमारनाथ शाह राष्ट्रिय प्रतियोगिता र महाबीर कप हुन्थ्यो ।

उदय खेलाडी हुँदाको समयमा महावीर कप टुडिखेलमा हुने चर्चित प्रतियोगिता थियो । उदयले एंगाल क्रिकेट क्लबबाट महावीर कप खेलेका थिए । दुवै पटक फाइनल एंगाल विराटनगरसँग फाइनलमा हारेको थियो । सन् १९९६ तिर उनले राम्रो प्रभाव छाडिसकेका थिए । तर रोजगारीको कारण क्रिकेट छाडेर सन् १९९८ मा दुबई लागे । महावीर कप राम्रो गर्दा धेरैको नजरमा परिसकेका थिए । तर लय र राम्रो प्रदर्शन गरेकै समयमा विदेश जानु पर्यो । जुन समयमा नेपालको पहिलो अन्तर्राष्ट्रिय टिम भर्खर बन्दै थियो ।

नेपाल छाडेपनि दुबईमा पुगे उदयले ए डिभिजन लिग खेले र च्याम्पियन पनि बने । युएईका तीव्र गतिका बलर मोहम्मद नविद ७–८ वर्ष पहिला उनका सहकर्मी थिए । पहिलो संस्करणको पोखरा प्रिमियर लिगमा नविद नेपाल आएको बेला उदय पोखरा गएर भेटेका थिए । रोगजारीको क्रममा दुबई पुगेका उनी २०१२ मा नफर्कने गरी नेपाल आए । यसबीचमा बिदा लिएर नेपाल आउने-जाने भने चलिरहन्थ्यो ।

बुवा उदय दुबईमा खेल्दा यता छोरा अमृतमा पनि क्रिकेटप्रति लगाव र रुचि भने जागेको थियो । उदयले छोरालाई लेग स्पिनर बन्न भनेका थिए । तर सुरुवातमा अमृतले तीव्र गतिको बलर बन्ने चाहना राखे । चार पाँच वर्ष पेश बलरकै रुपमा खेलेका थिए । तर पछि बुबाकै सल्लाहमा ब्याटर बनेका थिए । उदय अब आफू क्रिकेट नखेल्ने बताउँछन् । अब उनको सोच धादिङ र नेपाली क्रिकेट विकासमा सक्दो योगदान दिने हुनेछ ।

छोरा अमृतको जन्म आमा कुमारी पिङ्की थापाबाट पहिलो सन्तानको रुपमा सन् २००१ मा कुसुन्तीमा भएको थियो । उनको एक बहिनी (अमृता) छिन् । कुसुन्तीमा बाल्यकाल केहि समय बिताए । त्यसपछि तीन चार वर्षे उमेरपछि सतुंगल बस्न थालेका थिए । बिए प्रथम बर्ष अध्ययनरत उनले कक्षा ७ मा देखि क्रिकेट सुरु गरेको बताउँछन् ।

‘त्यसबेला स्कुलबाट हप्तामा एक दिन मात्र अभ्यासको लागि जान्थें । सुरुवातमा थानकोटबाट काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) बाँसबारी पुग्थे । साताको ६ दिन नखेल्ने र एक दिन मात्र खेल्दा खासै राम्रो हुन सकेको थिएन । खासै ध्यान पनि दिन पाइएन,’ उनले सुनाए ।

क्रिकेट बुझ्दै गएपछि रुचि पनि बढ्यो । उता बुबाले दुबईबाट निरन्तर क्रिकेटबारे विभिन्न भिडियो फुटेज पठाइदिन्थे । एसइइपछि अमृतले क्रिकेट खेल्ने राम्रो समय पाए । दिउँसो कलेज र विहान एकेडेमी जान थाले । कीर्तिपुरमा रहेको हिमालयन क्रिकेट एकेडेमीमा सिक्न थाले । बुबाकै सल्लाहमा ब्याटिङमा ध्यान दिन थाले । दिनभर एकेडेमीमा ब्याटिङ गरेर बस्ने गर्दथें । जुत्ता फाट्यो भने अर्को दिन बुवाले नयाँ ल्याइदिने र ब्याट फुटेमा सरप्राइज रुपमा बुवाले नयाँ किनिदिने गरेका थिए । यसले उनमा झन खुसी र उर्जा थपियो ।

अमृतको सपना नेपालबाट खेल्ने छ । बुबाको इच्छा पुरा गर्न झन कडा मिहिनेत गर्ने उनी बताउँछन् । त्यसको लागि उनले पहिलो यू१९ क्रिकेटमा केन्द्रित छन् । अर्को महिना देखि काठमाडौंमा सुरु हुने यू१९ राष्ट्रिय प्रतियोगिताको लागि जिल्ला छनोट खेल्ने तयारीमा छन् । धादिङ जिल्ला क्रिकेट संघले क्यानको पूर्ण सदस्यता नपाउँदा जिल्ला छनोट अन्यबाट खेल्नुपर्ने बाध्यता छ । आफ्नै जिल्लाबाट छनोट खेल्न पाए सहज हुने उनी बताउँछन् ।

यू१९ जिल्ला छनोट अमृतका लागि करिअरको टर्निङ प्वाइन्ट बन्नसक्छ । त्यसको लागि उनले पाएको अवसरलाई सदुपयोग गर्दै प्रदेशको टोलीमा स्थान बनाउन सक्नुपर्छ । यू१९ राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सके उनको लागि नेपाली टोली र फ्रेन्चाइज लिगका ढोकाहरु खुल्नेछन् ।

यो पनि पढ्नुहोस् : विश्व क्रिकेटमा एकसाथ क्रिकेट खेलेका बाबु-छोराको जोडी

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

April 28, 2024

नेपाललाई वेस्ट इन्डिज ‘ए’ को मध्यम लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टि२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ६१ रनको लक्ष्य पेश गरेको छ ।  वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित […]

Success

Thank you for your time.