default_image

3 years ago

March 7, 2021

डायमन्ड गर्ल कृपाको आर्मी अध्याय

सुबास हुमागाईं, काठमाडौं भलिबलमा कृपा अधिकारीको नाम लिँदा न्यु डायमन्डसँगको उनको नाता स्वतः जोडिएर आउँछ । १२ वर्षसम्म न्यु डायमन्डको जर्सीमा खेलेकी कृपाले तीन वर्षअघि अकस्मात क्लबबाट भौतिक नाता भने तोड्नुपर्यो । नेपालगन्जमै भएको प्रधानमन्त्री कपमा न्यु डायमन्डको जर्सीमा अन्तिम पटक उत्रेकी उनै कृपा तीन वर्षपछि सोहि प्रतियोगिताको सातौं संस्करणमा आइतबार पूर्व टोलीविरुद्ध पहिलो पटक खेल्ने […]

119 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

भलिबलमा कृपा अधिकारीको नाम लिँदा न्यु डायमन्डसँगको उनको नाता स्वतः जोडिएर आउँछ । १२ वर्षसम्म न्यु डायमन्डको जर्सीमा खेलेकी कृपाले तीन वर्षअघि अकस्मात क्लबबाट भौतिक नाता भने तोड्नुपर्यो । नेपालगन्जमै भएको प्रधानमन्त्री कपमा न्यु डायमन्डको जर्सीमा अन्तिम पटक उत्रेकी उनै कृपा तीन वर्षपछि सोहि प्रतियोगिताको सातौं संस्करणमा आइतबार पूर्व टोलीविरुद्ध पहिलो पटक खेल्ने तयारीमा छिन् ।

न्यु डायमन्डकी दोस्रो ब्याचकी खेलाडी कृपाले खेलमा हासिल गर्न बाँकी केहि थिएन । तर खेलमा नै लागेर भविष्य सुनिश्चित गर्ने आधार नदेखेपछि उनले नेपाली खेलकुदमा व्याप्त एउटै विकल्प अंगालिन, विभागमा आबद्धता । नेपाली सेनाको सहायक सेनानी पदमा खुल्ला प्रतिस्पर्धामा भिडेकी कृपाले २०७५ वैशाखमा नाम निकालेपछि न्यु डायमन्डबाट अकस्मात बिदा हुनु परेको थियो । त्यसबेला उनको बिदाइको क्रममा नरोकिएको आँशुले पनि धेरै कुरा बयान गरेको थियो ।

क्लबसँग भौतिक रुपमा टाढा हुँदा क्लबमा कोहि दुखी थिएनन्, कारण न्यु डायमन्डकी चेली नयाँ व्यवसायिक यात्राका लागि छनोट भएकी थिइन् । साथ छुट्दा खल्लो त लाग्छ नै, तर डाइमन्ड परिवारले गर्वको अनुभुति गर्यो । त्यसको पछाडिको कारण थियो कृपाको सफलताले भलिबल परिवारमा मात्र नभएर नयाँ पुस्तामा नै सकारात्मक सन्देश दिन सफल रह्यो ।

कक्षा २ देखि न्यु डायमन्डमा पढेकी कृपाले तीन वर्षपछि भलिबल खेल्न थालेकी थिइन् । पढाइमा अब्बल उनलाई भलिबलमा लागेको वर्ष नै परिक्षामा दोस्रो भएपछि घरबाट खेल्न दिइएन । तर भलिबलको नसा लागिसकेको उनी ३ महिना नबित्दै पुन: कोर्टमा फर्किइन् । यसपटक प्रशिक्षक कुमार राईले कृपाका अभिभावकलाई उनको पढाइमा कुनै असर नपर्ने भन्दै सम्झाएपछि खेलमा फर्कने बाटो बन्यो । प्रशिक्षक राईले भनेझैं कृपाको पढाइ पनि बिग्रिएन र उनले भलिबलमा पनि प्रगति गरिन् ।

स्कुलमा पढ्दै गर्दा नै उनी सिनियर टोलीको नै सेटरको रुपमा स्थापित भइन् । न्यु डायमन्डमा १२ वर्ष बिताउँदा उनले भलिबलको कखरा सिक्नेदेखि राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नेसम्म अवसर पाइन् । घरेलु भलिबलमा टोलीलाई उपाधि दिलाउने त छँदै छ, उत्कृष्ट सेटरका रुपमा विधागत उपाधिको ट्रफी अझै पनि उनीसँग थुप्रै छ ।

नैकाप काठमाडौंमा बसोबास गर्दै आएकी कृपा गोर्खा देउरालीको स्थायी बासिन्दा हुन् । उनले आज पनि आफ्नो पहिचान भने भलिबलबाट नै बनेको स्वीकार्छिन् । ‘म चिनिएको नै भलिबलबाट हो । अहिले लामो समय व्यस्ततापछि कोर्टमा फर्कन पाउँदा खुसी छु । मैले न्यु डायमन्डको लागि अन्तिम खेल यहीं नेपालगन्जमा खेलेको थिएँ । आर्मीको लागि डेब्यु गर्ने अवसर पनि नेपालगन्जमै जुर्यो । र अब पुनरागमन गर्न पनि नेपालगन्जबाट नै टोलीको कप्तानी गर्दैछु,’ कृपाले सुनाइन् ।

पाँचौ संस्करण न्यु डायमन्डबाट खेलेपछि आर्मीमा भर्ती भएकी उनले २०७५ अन्तिममा भएको आठौं राष्ट्रिय खेलकुदमा पहिलोपटक आर्मीबाट खेलेकी थिइन् । आर्मी प्रशिक्षणको बिचमा नै आएर खेलेकी उनको प्रदर्शन अपेक्षित थिएन । त्यसबेला न्यु डायमन्डकै खेलाडीको बाहुल्यता रहेको बागमती प्रदेशविरुद्ध भने उनी खेलेकी थिइन् । न्यु डायमन्डविरुद्ध भने उनी पहिलो पटक कोर्टमा उत्रंदै छिन् ।

(बायाँबाट : कृपा, प्रतिभा माली र पनामिका राईको हालको तस्बिर र बाल्यकालको तस्बिर)

‘सानो उमेरदेखि नै न्यु डायमन्डबाट खेल्दै आएको छु, माया त हुन्छ नै । तर कोर्टभित्र त्यसो नहोला । म आर्मीबाट खेल्दैछु र आफ्नो टोलीलाई जिताउन खेल्नेछु । कोर्टबाहिर सधैं न्यु डायमन्डको लागि मेरो छुट्टै सम्मान रहनेछ तर खेल भनेपछि विपक्षीकै भावनाले उत्रिने हो,’ उनले भनिन् ।

कृपाको कप्तानीमा आर्मीले प्रधानमन्त्री कपमा दुई खेल खेल्दै राम्रो सुरुवात गरेको छ । आर्मीले पहिलो खेलमा लुम्बिनी युनाइटेडलाई सहजै पराजित गर्दा एपिएफविरुद्ध भने कडा प्रतिस्पर्धामा हार बेहोर्यो । कृपा आफैं प्रशिक्षणमा आएको तीन साता हुँदैछ ।

‘माघको अन्तिम साता मेरो आर्मी प्रशिक्षण सकिएको हो । त्यसपछि फागुन पहिलो सातादेखि नियमित भलिबल प्रशिक्षणमा छु । पहिलाजस्तो नै लयमा आउन समय लाग्ला । अहिले आफूले सक्दो प्रयास गर्दैछु । नयाँ जिम्मेवारी पाएको छु, उत्साहित पनि छु,’ उनले थपिन् ।

कृपाका अनुसार आर्मीको टोलीले पछिल्लो दुई वर्षमा निकै सुधार गरेको छ । त्यसो त आर्मीका तीन खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदको रजत पदक विजेता टोलीमा पनि थिए । मिडल ब्लकर सुनिता खड्कासँगै साफिया पुन र जानकी भण्डारी राष्ट्रिय टोलीमा थिए । अहिले कृपाको आगमनपछि जानकी भने आर्मीको बेन्चमा सिमित छिन् । तर कृपाले आर्मीको टोलीमा निकै सुधार भएको पाएकी छिन् ।

‘म न्यु डायमन्डबाट खेल्दा आर्मीको टिम खासै राम्रो थिएन । अहिले २ वर्षको अन्तरमा आर्मीले धेरै सुधार गरेको छ । मैले प्रशिक्षणमा पनि खेलको स्तर बढेको महसुस गरेको छु । आर्मीको टोलीले अहिले जुनसुकै टोलीलाई पनि हराउने क्षमता राख्छ । यो टिमले अझै सुधार गर्ने मैले देखेको छु,’ उनले सुनाइन् ।

कृपाले न्यु डायमन्डबाट खेल्दा उनलाई पढाइ र खेलकुद सँगै बढाउनुपर्ने दबाब थियो । अहिले आर्मीमा आउँदा आफ्नो विभागको ड्युटी र खेलमा सन्तुलन गर्नुपर्ने दबाब छ । तर उनी अहिले भने आफ्नो प्राथमिकता के हो भन्नेमा प्रष्ट छिन् ।

‘आर्मीमा प्रवेश गरेको आर्मीमै करिअर बनाउन हो । मेरो जिम्मेवारी आर्मीको ड्युटी गर्नु हो । मेरो पेशा नै आर्मी भएपछि प्राथमिकतामा विभागको ड्युटी नै रहन्छ । आर्मीको ड्युटी र कोर्षपछि मात्र भलिबल मेरो प्राथमिकतामा रहन्छ । अहिलेको अवस्था हेर्दा दुवैलाई सँगै लाग्न सक्छु भन्ने आशा छ,’ उनले अनुभव साटिन् ।

कृपालाई सानो उमेरमा पढ्न दबाब भएजस्तै अहिले भने ड्युटीका लागि दबाब छैन । उनी आफैं निर्णय लिन सक्ने क्षमतामा छिन् । ‘पहिला घरबाट पढ्न दबाब हुन्थ्यो । पढाइ अलिकति बिग्रने बितिकै खेलेर बिग्रियो भन्ने हुन्थ्यो । अहिले पेशा र खेलको सवाल छ र आफैं बुझ्न सक्ने भएको छु,’ उनले थपिन्, ‘अब ड्युटी र विभागको कोर्षलाई समय दिनुपर्ने हुन्छ । दुवैलाई सँगै लग्नु भनेको दुईवटा डुंगामा खुट्टा राख्नुझैं हो । पहिला पढाइ र खेल सँगै लगेजस्तो अहिले आफ्नो ड्युटी र खेल बढाउने प्रयास गर्नेछु ।’

कृपाको भलिबलमा उपस्थितिलाई लिएर उनको विभाग पनि सकारात्मक छ । कृपा आफैं पनि अब महिला भलिबललाई आफ्नो उपस्थितिमा अझै माथि लग्ने प्रयासमा छिन् । विभागको सहयोगले उनी आर्मीको टोली अझ सशक्त बनाउन लागेकी छिन् ।

‘विभाग मेरो खेलसँग संलग्नतालाई लिएर एकदम सकारात्मक छ । अझ अहिले म भलिबलमा आएपछि खेललाई नै सहयोग हुने बुझेको छु । केटाहरुमा आर्मीको टोली पहिलादेखि नै राम्रो छौं । महिलामा पनि टोलीमा भरपुर क्षमता छ । अब म आफैं आबद्ध भएपछि नजिकबाट नियाल्न पाएको छु । आफ्नो स्थानबाट सक्दो माथि लाग्ने प्रयास गर्नेछु,’ उनले सुनाइन् ।

नेपाली खेलकुदमा हरेक खेलाडीको लक्ष्य विभागमा आबद्ध हुने हुन्छ । तर विभागका ठुलो पदमा भने खेलाडीको संख्या औंलामा गन्न सकिन्छ । कृपाका अनुसार विभागमा खेलाडी बनेर आउँदा ठूलो पदमा पुग्न सबै पक्षमा राम्रो हुनुपर्छ । खेलाडीको पहिचान त त्यहाँ पुग्न सहज बनाउने आधार मात्र हुन्छ ।

‘माथिल्लो पदमा छनोट हुन पढाइसँगै अन्य पक्षमा पनि राम्रो हुनुपर्छ । म पढाइमा राम्रो थिएँ, अरु म जस्ता राम्रा धेरै थिए । तर मलाई भलिबल खेलाडी भएका कारण पक्कै सहज भयो । खेलको मध्यमबाट विभाग र राष्ट्रलाई थप योगदान दिन सक्छु भन्ने थियो । सायद त्यो देखेर पनि विभाग प्रभावित भयो होला,’ उनले भनिन् ।

कृपाका अनुसार विभागमा आबद्ध भएपछि खेल त छँदैछ, विभागको ड्युटी र नियमप्रति पनि उत्तिकै ध्यान पुर्याउनुपर्छ । ‘विभागको सदस्य भएपछि विभाग पहिला अनि खेलाडी पछि हो । यहाँको नियम मान्नु खेलाडीको लागि कठिन छैन । एक कुशल खेलाडीलाई विभागमा रहेर अझ सहज हुने मेरो बुझाइ छ,’ उनले प्रष्ट पारिन् ।

कृपा आर्मीको ट्रेनिङमा रहँदा महिला भलिबल टोलीले इतिहासकै ऐतिहासिक सफलता हासिल गर्यो । राष्ट्रिय टोलीबाट खेलिसकेकी उनले आर्मीको ट्रेनिङमा रहेकाले छनोटमा नै सहभागी हुन पाइनन् । तर टोलीले उपाधि जित्दा उनी निकै खुसी थिइन् । ‘उपाधि जितेको देख्दा मलाई एकदम खुसी लग्यो । नयाँ अनुहार सम्मिलित टोलीले उपाधि जित्दा अझ हर्षित भएँ । मैले आफैं प्रत्यक्ष हेर्न नपाएपनि रेकर्डमा पनि खेल हेरें । पहिलो उपाधि अनि घरेलु मैदानमा रजत पदक जित्दा एकदम खुसी लाग्यो,’ उनले सुनाइन् ।

कृपाको लक्ष्य आर्मी बन्नु थियो, त्यसमा उनी सफल भइन् । तर आफूले देखेको अर्को सपना अन्य खेलाडीले पूरा गर्दा भने पूर्ण सन्तुष्ट हुन नसकेको उनले स्वीकार गरिन । ‘मलाई आर्मी बन्नु थियो, बनें र एकदम सन्तुष्ट भएँ । तर मान्छे पूर्ण सन्तुष्ट नहुने रहेछ भन्ने टोलीको सफलता देखेर बुझें । त्यो खुसीको क्षणमा कता कता आफू पनि त्यहाँ भइदिए हुन्थ्यो जस्तो लाग्यो । आफू नभएपनि नेपालले जित्दा मन बुझाएँ,’ उनले हाँस्दै सुनाइन् ।

राष्ट्रिय टोलीको ऐतिहासिक सफलतामा साथ नभएपनि आउने अध्याय लेख्न भने उनी तयार छिन् । यसका लागि उनी आफ्नो तर्फबाट पूरा मिहिनेत गर्ने बताउँछिन् । ‘हरेक खेलाडीझैं मलाई पनि राष्ट्रिय टोलिबाट खेल्ने चाहना छ । अहिले टोलीमा पर्न निकै प्रतिस्पर्धा छ । मैले आफूलाई छनोटमा सिद्ध पारेपछि त्यसबारे सोच्ने हो,’ उनले भनिन्, ‘म टोलीमा खेल्न योग्य छु र पर्छु भने आफ्नो तर्फबाट शत प्रतिशत मिहिनेत गर्नेछु । म अहिले टोलीका लागि योग्य देखिन्न भने पनि आफ्नो मिहिनेत जारी राख्ने नै छु ।’

अहिले राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले सेटरको भूमिका निर्वाह गरिरहेकी छिन् । अरुणा प्राकृतिक रुपमा सेटर नभएपनि टोलीमा आवश्यकता परेपछि त्यो भूमिकामा खेलेकी थिइन् । कृपापछि न्यु डायमन्डबाट अरुणाले नै सेटरको भूमिका निर्वाह गरिरहेकी छिन् । कृपा सेटरको भूमिकामा अन्यले पनि न्याय गर्न सकेको बताउँछिन् ।

‘उपाधि जिताउने खेलाडीबारे मैले केहि भन्नु नपर्ला । अझ आफ्नो प्राकृतिक पोजिसन नभएपनि त्यो किसिमको प्रदर्शन गर्नु वास्तवमै राम्रो हो । टोलीको सफलतामा सेटरको भूमिका निकै महत्त्वपूर्ण हुन्छ, म आफैंले यसबारे बुझेको छु,’ उनले भनिन् ।

कृपा आफू सेटर पोजिसनमा सानैदेखि अभ्यस्त रहेकाले टोलीमा फर्कनेमा आत्मविश्वास राख्छिन् । ‘म सानैदेखि सेटरको भूमिकामा थिएँ । यसअघि पनि राष्ट्रिय टोलीबाट पनि खेलिसकेको छु । भलिबल जानेदेखि नै यहीं भूमिकामा खेलेको कारण पनि म राम्रो खेल्न सक्छु भन्ने आत्मविश्वास छ । अझै केहि समय प्रशिक्षणमा बसिरहने हो भने टोलीमा पर्ने सम्भावना देख्छु । हेरौं प्रदर्शन र रणनीति कस्तो हुनेछ,’ उनले थपिन् ।

वर्तमान परिपेक्षमा विभाग जानु नै खेलाडीका लागि सुरक्षित मार्ग बनेको छ । कृपा पनि यो अवस्थाबारे जानकार छिन् । उनी आफू विभागमा नै जाने दृढ लक्ष्यसहित अघि बढेकी थिइन् । तर सबै खेलाडी विभागमै जान चाहन्छन् भन्ने हुँदैन । यसबारे सम्बन्धित पक्षले उचित कदम चाल्नुपर्ने उनको बुझाइ छ ।

‘अहिलेको अवस्थामा सिभिल खेलाडी भएर खेलाडी जीवन बाच्ने सम्भावना कम छ । भलिबल मात्र नभएर अन्य खेलमा पनि त्यस्तै छ । खेलाडी विभागमा गएपछि आर्थिक रुपमा ढुक्क हुन सकिन्छ । जीवन चलाउन पैसाकै आवश्यकता पर्छ ,’ उनले भनिन्, ‘सिभिलमा आफैं काम गरेर खेललाई पनि निरन्तरता दिन कठिन छ । विभागमा रहे खेलमा लाग्न एक किसिमको सहजता छ ।’

उनले थपिन् ‘अब हरेक खेलको संघ होस् या नेपाल सरकार, खेलाडीको भविष्य सोचेर दीर्घकालीन योजना अघि सार्नुपर्छ । नेपालमा खेलाडी नभएका होइनन्, तर भएका प्रतिभालाई उचित व्यवस्थापन हुन सकेको छैन । खेलाडीको मनोबल बढाउने र अवसर दिने हो भने, विभागमा नै जानुपर्ने अवस्था आउने थिएन ।’

April 26, 2024

लुम्बिनी र कर्णाली फाइनलमा , बागमती बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमसँग ३ विकेटले पराजित हुँदा बागमती प्रदेश रन रेटको आधारमा वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपको लिग चरणबाट बाहिरिएको छ। जितले बागमती अंक तालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने थियो। तर हारले रन रेटको आधारमा बाहिरिएको हो। बागमतीको हारमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश फाइनलमा प्रवेश गर्न सफल भएका छन्। कम स्कोर‌को […]

April 26, 2024

न्यु डायमण्डलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो। साविक उपविजेता समेत रहेको […]

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

Success

Thank you for your time.