default_image

2 years ago

July 29, 2022

च्याम्पियन बनेको ५ वर्ष बित्दा पनि पुरस्कार एन्फामै उधारो

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा जारी साफ यू–२० च्याम्पियनसिप २०२२ मा नेपाल यू–२० राष्ट्रिय फुटबल टोलीले दबदबा कायम राखेको छ । लगातार दुई जितसँगै नेपाल प्रतियोगिताको फाइनल खेल्ने बलियो दावेदार बनेको छ ।

युवा खेलाडीको प्रदर्शनमा सिंगो देश रमाइरहँदा सन् २०१७ मा साफ यू–१८ च्याम्पियनसिपको च्याम्पियन बनेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले घोषणा गरेको पुरस्कार पर्खिरहेका छन् । यसअघि साफ यू–१९ र यू–१८ साफ च्याम्पियनसिपको नाममा आयोजना भएको च्याम्पियनसिप अहिले साफ यू–२० च्याम्पियनसिपको नाममा जारी छ । पहिलो दुई संस्करण नेपालले र पछिल्लो संस्करण भारतले जितेको थियो ।

यो उमेर समूह च्याम्पियनसिप पहिलो पटक साफ यू-१९ च्याम्पियनसिपको नामबाट सुरु भएको थियो। च्याम्पियनसिपको पहिलो संस्करण २०१५ मा नेपालमा भएको थियो । नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पेनाल्टीमा भारतलाई ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । यो जितसँगै नेपालले २२ वर्षपछि पहिलो पटक आफ्नै घरमा अन्तर्राष्ट्रिय ट्रफी जितेको थियो । १४ महिनाको अवधिमा बंगबन्धु कप, १३ औं साग स्वर्ण पदक र एएफसी सोलिडारिटी कप जित्न सफल भएकाले उक्त प्रतियोगितालाई नेपाली फुटबलमा सफल क्यालेन्डर वर्षको सुरुवात विन्दु पनि मानिन्छ।

त्यस्तै, दोस्रो संस्करण २०१७ मा भुटानमा साफ यू–१८ च्याम्पियनसिपको नाममा आयोजना भएको थियो। साविक च्याम्पियन नेपालले सेप्टेम्बर १७, २०१७ मा चाङ्लिमिथाङ रंगशालामा भएको फाइनलमा बंगलादेशलाई पराजित गर्दै साफको उमेर समूह च्याम्पियनसिपमा लगातार दोस्रो पटक उपाधि जितेको थियो। टोलीको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ र कप्तान अर्पण कार्की थिए । जितपछि तत्कालीन अध्यक्ष नरेन्द्र श्रेष्ठको नेतृत्वमा रहेको एन्फाले टोलीका प्रत्येक खेलाडीलाई २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।

तेस्रो संस्करण नेपालमा फेरि २०१९ मा साफ यू-१८ च्याम्पियनसिपको रूपमा भयो। भुटान र माल्दिभ्ससँगको समूहमा रहेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो । हलचोक रंगशालामा भएको पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी रोकिएको नेपाल अर्को खेलमा भुटानसँग ३-० ले पराजित हुँदै च्याम्पियनसिपबाट बाहिरिएको थियो । भारतले उपाधि जित्यो । भुटानसँगको लज्जास्पद हारपछि मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले पदबाट राजीनामा पनि दिए । हारका बाबजुद प्रतियोगिताको एक सातापछि नै एन्फाले जनही १० हजार रुपैयाँले टोलीलाई पुरस्कृत गर्यो ।

चौथो संस्करण हाल भारतमा भइरहेको छ जहाँ नेपाल अंक तालिकामा शीर्ष स्थानमा छ र फाइनल खेल्ने दावेदारी प्रस्तुत गरेको छ । चौथो संस्करणमा युवा टोलीले वर्चस्व कायम राख्दा दोस्रो संस्करण जित्ने युवा टोलीले आधा दशकअघि घोषणा गरेको पुरस्कार पाउन पर्खिरहेको छ।

नेपालले सन् २०१७ मा चाङ्लिमिथाङ रंगशालामा बलियो टोली बंगलादेशलाई हराउँदै लगातार दोस्रो पटक साफ यू–१८ च्याम्पियनसिपको उपाधि जित्दा एन्फाले टोलीका प्रत्येक खेलाडीलाई २ लाख नगद पुरस्कार दिने घोषणा गरेको थियो ।पुरस्कारको बारेमा सुनेपछि खेलाडीहरु हर्षित भए । तर पुरस्कार घोषणा भएपनि श्रेष्ठको नेतृत्वले खेलाडी पुरस्कृत गर्न सकेनन् ।

वैशाख २०७५ मा कर्माछिरिङ शेर्पा आफ्नो प्यानलसहित एन्फाको निर्वाचनमा विजयी भए । चुनाव जितेपछि उनीहरुले खेलाडीलाई पुरस्कृत गर्ने प्रतिवद्धता जनाएका थिए जसको घोषणा तत्कालीन एन्फा कार्यकारी समितिले गरेको थियो । शेर्पाको नेतृत्वमा रहेको कार्यसमिति बैठकले खेलाडीलाई पुरस्कृत गर्ने योजना बनाएको थियो तर कोभिड–१९ को महामारीका कारण रोकियो ।

एन्फाले पटक–पटक विभिन्न वहाना बनाएर खेलाडीलाई पुरस्कार रकम दिएको छैन । तर उनीहरूले अन्य प्रतियोगिताका लागि यस्तै घोषणा गरे र उनीहरूलाई रकम पनि दिएका छन् । कोभिड-१९ महामारीका कारण २०१७ का विजयी खेलाडीले भने पुरस्कार पाएनन् । टोलीका एक खेलाडीले बताएअनुसार गत वर्ष उनीहरूले आधा रकम पुरस्कार भने पाए ।

‘हामीले पुरस्कार उपलब्ध गराउन एन्फालाई पटकपटक अनुरोध गरेका थियौं। उनीहरूले हामीलाई आश्वस्त गरिरहे र बारम्बार नयाँ मितिहरू दिन थाले। अन्ततः हामीले च्याम्पियनसिप जितेको ४ वर्षपछि, अगस्ट १३, २०२१ मा एन्फाले हाम्रो खातामा आधा रकम जम्मा गर्‍यो । बाँकी रकमबारे सोध्दा एन्फाले बाँकी रकम चाँडै नै जम्मा गर्ने बताएको थियो तर हामीले अहिलेसम्म प्राप्त गरेका छैनौं,’ विजयी टोलीका एक खेलाडीले जानकारी दिए। खेलाडीले आफ्नो नाम खुलाउन चाहेनन्।

गत महिना एन्फाको चुनावमा पंकजविक्रम नेम्वाङसँग हारेपछि शेर्पाको कार्यकाल समाप्त भयो । निर्वाचनमा नेम्वाङ प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन् । एन्फाको निर्वाचन भएको दुई दिनपछि बसेको पहिलो बैठकबाट पूर्व प्रवक्ता किरण राईलाई नेम्वाङको कार्यसमितिको महासचिवमा नियुक्त गरियो । उक्त बैठकले नविन पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा पनि नियुक्त गरेको थियो, जसको नियुक्तिले एन्फामा यतिबेला ठूलो विवाद चर्किरहेको छ ।

नयाँ कार्यसमिति बैठकले खेलाडीको बाँकी रकमबारे केही भन्छ वा भन्दैन भन्नेमा शंका छ । एन्फाका नवनियुक्त महासचिव किरण राईले एन्फाले लेखापरीक्षण प्रतिवेदन नआएसम्म केही भन्न नसक्ने बताए । ‘अहिले हामीले लेखापरीक्षण गरिरहेका छौं। हामीले लेखापरीक्षण प्रतिवेदन तयार गर्न करिब २२ जना जनशक्ति प्रयोग गरेका छौं । हामीले प्रतिवेदन प्राप्त गरेपछि, ऋणको स्पष्ट दृष्टिकोण प्राप्त गर्नेछौं । त्यसपछि हामी हाम्रो बैठकमा छलफल गर्नेछौं, र म मात्र यस विषयमा कुरा गर्न सक्छु। तबसम्म म केही भन्ने अवस्थामा छैन,’ एन्फा महासचिव राईले भने ।

टोलीका अर्का खेलाडीले एन्फाले पुरस्कार घोषणा नगरेको भए आफूलाई नराम्रो लाग्ने थिएन भन्दै दुःख व्यक्त गरे । ‘एन्फाले कुनै पुरस्कार घोषणा नगरेको भए हामी दुखि हुने थिएनौं । तर सार्वजनिक रूपमा घोषणा गरिसकेपछि अपेक्षा हुनु स्वाभाविक हो । यदि पुरस्कार दिने कुनै योजना छैन भने, घोषणा नगरेको भए राम्रो हुन्थ्यो,’ खेलाडीले भने।

अहिले घरेलु खेलाडीहरु प्रायः सबै बेरोजगार छन् । एन्फाले खेलाडीलाई वर्षभर फुटबलमा व्यस्त राख्ने कुनै योजना छैन । शीर्ष तहको डिभिजन क्लबले खेलाडीलाई ४ महिना वा सोभन्दा बढी समयसम्म मात्रै सम्झौतामा राख्छ। लिग र केही मोफसल प्रतियोगिताको नहुँदा खेलाडीहरूसँग सम्झौता छैन र बेरोजगार छन् । एन्फासँग कुनै बलियो फुटबल योजना नभएका कारण धेरै राष्ट्रिय खेलाडीहरू विदेश गएका छन् भने कोही स्थानीय लिग खेल्न भारत गएका छन्।

‘एन्फा पदाधिकारीले वर्षभरिको तलब पाउँछन्, हामी खेलाडीले ४–५ महिनाको तलबमा सन्तुष्ट बस्नुपर्छ । लिगको अनिश्चित भएपछि हामीलाई न क्लबले ध्यान दिएको छ न एन्फाले । हाम्रो अतिरिक्त आम्दानी पुरस्कारबाट उत्पन्न हुन्छ। राष्ट्रलाई गौरवान्वित बनाउन आफूसँग भएका सबै थोक दिन्छौं । तर अन्तमा, हामीले पाउनु भनेको निराशा हो र बलपूर्वक विदेश जानु पर्छ,’ उनले सुनाए ।

‘हामी अहिले धेरै कठिन समय गुजारिरहेका छौं किनकि हामी बेरोजगार छौं र अहिले गर्न केही छैन । यदि एन्फाले हाम्रो पुरस्कार दिन्छ भने यसले हामीलाई धेरै मद्दत गर्नेछ किनकि हामी हाम्रा आधारभूत आवश्यकताहरू पूरा गर्न पनि संघर्ष गरिरहेका छौं,’खेलाडी निराश हुँदै थपे।

एन्फा नियुक्ति र बर्खास्तीको खेलमा व्यस्त हुँदा राष्ट्रिय टोलीका खेलाडी समेत आफ्नो भविष्य खोज्न विदेश गएका छन् । नयाँ कार्यसमितिमा फुटबलको विकासका लागि बलियो एजेण्डा देखिएको छैन । पदाधिकारीहरु आन्तरिक राजनीतिमा व्यस्त रहेकाले दोस्रो बैठक आफैं गर्न सकेका छैनन् । पूरै वर्षको फुटबल गतिविधिको योजनासहितका एजेन्डाहरू रोकिएका छन्। अध्यक्ष नेम्वाङको स्वास्थ्य समस्याका कारण साउन २ गते बस्ने भनिएको दोस्रो बैठक स्थगित भएको थियो ।

साउन ५ गते का लागि तय भएको बैठक एजेण्डासम्म नपुग्दै स्थगित भएको छ । पहिलो बैठकबाट नै नियुक्त भएका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पाँडेलाई बर्खास्त गर्न माग गर्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य सदस्यले उपस्थितिमा हस्ताक्षर गर्न मानेनन् । पाण्डेलाई बर्खास्त गर्ने विषयमा विवाद बढ्दै गएपछि अध्यक्ष नेम्वाङले जबरजस्ती बैठक स्थगित गर्नुपरेको थियो । बैठकको नयाँ मिति तय हुन बाँकी छ ।

पहिलो बैठकमा पाँडेको नियुक्तिमा सबै १९ सदस्यले सहमति र हस्ताक्षर गरेका थिए । तर सदस्यहरु एक महिना पनि आफ्नो निर्णयमा अडिग रहन सकेनन् । समितिका १९ मध्ये १३ सदस्यले पाँडेलाई बर्खास्त गर्न माग गर्दै एन्फा नेतृत्वलाई हस्ताक्षर पत्र बुझाएका छन् ।

एन्फाले गत वर्षको लिगको तयारीको रकम पनि ए, बी र सी डिभिजन क्लबलाई बुझाउन बाँकी छ। लिगका सम्बन्धित खेलका म्यान अफ द म्याचको पुरस्कार राशी पनि अझै खेलाडीले पाएका छैनन् । क्लबले नै एन्फाबाट पैसा नपाएको भन्दै ए डिभिजनका अधिकांश खेलाडीले आ–आफ्नो क्लबबाट केही महिनाको तलब पाएका छैनन् । करिब ६ महिनाअघि सकिएको लिगको रकम एफएले तिर्न नसकेपछि शीर्ष क्लबहरू पनि आर्थिक रुपमा संकटमा छन् । तर एन्फा भने अझै बैठक नै बस्न नसक्ने अवस्थामा छ ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.