1 month ago
October 4, 2025
सन्जोग चाम्लिङ राई
फुटबल प्रशिक्षक प्याट्रिक डि वाइल्ड उनको देश फर्किएको धेरै भइसक्यो । बागमतीमा बगेको पानीको के कुरा , सडकमा यो देशको खातिर जेन जी आन्दोलनकारीहरुको धेरै रगत नै बगिसकेको छ । शहादत प्राप्त शहीदहरुप्रति श्रद्धा–सुमन !
देशको नयाँ परिस्थितिमा आजको विषय पुरानो लाग्न सक्छ । अप्रासंगिक पनि लाग्न सक्छ । केही कुरा , केही छिनमै बिर्सिने त हाम्रो बानी नै हो नि !
जुलाई ९ , २०२५ को दिन एन्फाले एउटा पत्रकार सम्मेलन आयोजना गरेको थियो । अचम्मलाग्दो थियो, त्यो पत्रकार सम्मेलन । एन्फा आफ्नै एक कर्मचारीविरुद्ध पत्रकार सम्मेलन गरी भडाँस निकाल्दै थियो । एउटा कर्मचारीमाथि सिंगो संस्था खनिँदै थियो , कति लाजमर्दो ! विश्व फुटबलमा यो एउटा दुर्लभ घटना हो, जहाँ फुटबल संघ आफ्नो प्रमुख प्रशिक्षकलाई सार्वजनिकरुपमा खुइल्याउन भरमग्दुर प्रयास गर्दै थियो ।

त्यो पत्रकार सम्मेलनले पंक्तिकारलाई करिब दशक अघिको एउटा व्यक्तिगत अनुभव-घटना सम्झाएको थियो । सुनौँ है त ।
मेरो भान्जीको नाम शुभेक्षा हो । उ त्यतिखेर एक या दुई कक्षातिर पढ्थिन् । एक शनिबारको दिन, घर अगाडिको बाटोमा भाँडाकुटी खेल्दा साथीहरुसँग उनको मनमुटाव र केही क्षण झगडाजस्तो भयो । उसको दुर्भाग्य के भयो भने, उसको साथीहरु २-३ वर्ष उमेरले बढी जस्ता थिए र भान्जीको केही जोर चलेन ।
आफूले भने जस्तो नभएपछि उनी घर भित्र छिरिन् र सिधै बार्दलीमा आएर तल रहेको साथीहरुलाई सकेको जानेको गाली गरिन् । त्यसपछि उनी सन्तुष्ट भइन् । उनको अनुहारमा विजयी भाव छचल्कियो ।
जुलाई ९ को एन्फाको पत्रकार सम्मेलन र पंक्तिकारको भान्जीको घटना लगभग एउटै हो । एक थान अन्तर्वार्तामा एक थान डि वाइल्डले नेपाली फुटबलको कमजोरीहरु पत्र–पत्र ताछिदिए ।
एएफसी एसियन कप छनोटको दौरान नेपाली महिला राष्ट्रिय टिमभित्र भएको घटना विश्व फुटबलको दुनियामा सामान्य हो । त्यस्तो घटनालाई सहजरुपले सामान्य संवादमा नै आन्तरिकरुपमा हल गर्न सकिन्थ्यो । कप्तान परिवर्तन सामान्य विषय हो । असामान्य त्यतिखेर मात्र हुन्छ , जब कप्तानमा अनुपयुक्त व्यक्तिको छनोट गरिन्छ ।
यदि डि वाइल्डको माफी–अयोग्य गल्ती भएको भए , तत्काल उनलाई बर्खास्त गर्न एन्फालाई के ले रोकेको थियो ? कुरा त्यहीँ सकिन्थ्यो । एउटा कर्मचारीलाई बर्खास्त गर्न नसक्नेहरुले सडक नाटकझैँ सार्वजनिकरुपमा तमासा देखाउन जरुरी थियो र ? तमासा देखाएर के फाईदा भयो ?

तमासा देखाउने नै हो भने पहिला बर्खास्त गर्नु पर्छ कि पर्दैन ? कुन देशको फुटबल संघले सम्झौता अवधि भित्रै रहेको प्रशिक्षकलाई यस्तो दुर्व्यवहार गरेको कहाँ छ ? फगत एउटा कर्मचारी बर्खास्त गर्न नसक्ने संस्थाको हैसियत कति ? विश्वकपको संघारमै प्रशिक्षक बर्खास्तीमा परेको घटनाको उदाहरण त एन्फालाई पनि थाहा नै होला ।
टोलीको सम्पूर्ण व्यवस्थापन गर्न नियुक्त गरिएको व्यवस्थापकीय टोली , आफैँ सिंगौरी खेल्न उत्रिएपछि समस्याको हल कसले गर्ने ? व्यवस्थापन गतिलो भएको भए यस्तो घटना घट्थ्यो होला र ? टिमभित्रको यस्तै समस्याहरु हल गर्नलाई नै व्यवस्थापन टिमको नियुक्त गरिएको होइन र ?
अबदेखि प्रशिक्षक र व्यवस्थापनविच समस्या नहोस् भनेर अर्को (वैकल्पिक) व्यवस्थापन टिमको पनि सँगै नियुक्त गर्नेतिर सोच्नु पर्ने देखियो । गतिलो व्यवस्थापन टिम भएको भए उक्त घटना हामी कसैले सुइँकोसम्म पाउने थिएनौं ।
त्यो पत्रकार सम्मेलनको आयोजना आवश्यक नै थिएन । एन्फाले एउटा स्टाटस लेखेर सकिने विषयलाई ईखको नजरले हेरे पछि लाजमर्दो दृश्य हामी सबैले देख्न पुग्यौँ ।
प्रिय पाठक ,
आजको लेखको लागि खासमा भन्दा केही सोच र तयारी नै थिएन । विषय हल्काफुल्का थियो । नेपाली फुटबलको लागी त्यस्तो पत्रकार सम्मेलन नदेखेजस्तो–नसुनेजस्तो गर्नु नै पंक्तिकारलाई श्रेयस्कर लागेको थियो । जब पूर्व खेलाडी/ प्रशिक्षक कृष्ण थापालाई एन्फाले स्पष्टिकरण सोधेको समाचार बाहिर आयो, तब आजको लेख जुर्मुराउन थाल्यो ।

डि वाइल्ड ‘उहिलेको कुरा हो’ जस्तै भइसके । तर, उनले छोडेको कम्पनहरु घरीघरी महशुस भइरहे । थापालाई सोधिएको स्पष्टिकरण त्यही एउटा कम्पन हो । सामाजिक संजालिकरणको व्यापक र बढ्दो समयमा कति जना थापाहरुलाई स्पष्टिकरण सोध्न सम्भव हुन्छ ? शक्तिको प्रयोग र उन्माद भन्दा सरलता र विनम्रताको रंगले नेपाली फुटबल पोतिनु पर्छ । ‘तँलाई पख्’ को ‘आरिघोप्टे अक्कल’ बोकेर कोही व्यक्तिले विजयको स्वास फेरे पनि नेपाली फुटबल ओरालो लाग्ने निश्चितप्रायः छ ।
आखिर थापालाई किन स्पष्टिकरण सोधियो त ?
निरीहलाई हेप्ने या पेल्ने नेपाली समाजमा रहेको एउटा व्याप्त स्वभाव हो । नेपाली फुटबलमा भोट नभएको व्यक्ति निरीह हो । भोटको कुनै संख्या नभएको थापालाई स्पष्टिकरण सोधेर एन्फाले अरुलाई सार्वजनिक चेतावनी दिएको छ ।
गणेश थापाको पक्षमा बोल्नेहरु एन्फाको कालोसूचिमा सूचिबद्ध हुने सार्वजनिक जनाउ हो कृष्ण थापालाई स्पष्टिकरण । कृष्ण थापासँग कम्तिमा एक भोट भएको भए ? त्यो भोट संस्थापन पक्षतिर तान्न सकिने सम्भावना भएको भए ?
कृष्ण थापाले बोलेको केही शब्दहरुप्रति एन्फाको असहमति रहेको भए, त्यो भन्दा माथिल्लो स्तरको कुरा त पूर्व खेलाडी विज्ञानराज शर्माले केही महिना पहिले गरेका छन् । उनले एन्फा अध्यक्षको चुनावी खर्च बारे खुल्लारुपमा करोडौं खर्च लाग्ने स्पष्ट भनेका छन् ।
अध्यक्षको कुर्सीको मूल्य बताएका शर्मा आफैं पूर्व एआईजी पनि हुन् । यति जिम्मेवार अधिकारीले भनेको कुराको वजन हलुका त हुँदै हुँदैन । शर्माले यति गम्भीर कुरा गर्दा चुँ पनि नबोलेर के एन्फाले मौन स्वीकृति जनाएको हो ?
अन्त्यमा, डि वाइल्डले भनेको एउटा कुरा माथि चर्चा गरौँ । उनले नेपाली प्रशिक्षकहरु माथिको सस्तो टिप्पणी पढ्दा सुरुमा त पंक्तिकारको पनि पारो तातिएकै हो । तर उक्त टिप्पणीलाई राम्रो गरी केलाउँदा उनको भनाईको सार गलत होइन नै ।
‘कर्म कम , गफ धेरै’ को सस्तो मूल्यमा नै नेपाली फुटबल प्रशिक्षकहरु रमाइरहेको देखिन्छन् । राजनीतिक लाइन नसमाई, उनीहरुको बोलीमा लोली नमिलाई र गुटको धार नलगाई नियुक्तिको सम्भावना क्षीण छ । अहिले हेर्नुस् , एन्फाको कर्मचारीहरुकै प्रशिक्षक नियुक्ति लिनेमा रजगज देखिन्छ ।
एक लाइनमा भन्दा – ‘नेपाली प्रशिक्षकहरु जुन दिन बन्द खाममा एक पाने नियुक्ति पत्र ग्रहण नगरी सम्मानपूर्वक सम्झौता पत्रमा हस्ताक्षर गर्नेछन्, त्यो दिन उनीहरुले हैसियतको एक खुड्किला चढ्नेछन्’ यो वाक्य नेपाली फुटबल प्रशिक्षकहरुले बुझे नेपाली फुटबलकै भलाई हुनेछ ।
यस्तै यस्तै ।
-हाल बेलायतमा बसोबास गर्दै आएका पंक्तिकार राई राष्ट्रिय फुटसल टोलीका पूर्व खेलाडी हुन्
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]
November 10, 2025
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]