काठमाडौँ (हाम्रो खेलकुद) – यमनका प्रशिक्षक अब्राहम मेब्राटुले नेपाल र यमनबिचको खेल गोलरहित बराबरीमा टुंगिनुलाई सकारात्मक हिसाबले लिएका छन्। उनले बराबरी हुनु बेफाइदा नरहको र यसले यमनको छनोट हुने लक्ष्यमा बाधा नपर्ने बताए।
हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा आज भएको गोलरहित बराबरी पछि बोल्दै प्रशिक्षक मेब्राटुले यमनको छनोट हुने सम्भावना बलियो रहेको बताए। “हामीलाई आजको खेल पक्कैपनि सजिलो थिएन र बराबरी देखि हामी सन्तुष्ट छौं। दुवै टोलीले राम्रो खेल खेले र नेपाललाई पनि बधाई दिन चाहन्छु।”
उनले नेपाली समर्थकको तारिफ गर्दै नेपालमा सधैं समर्थकहरुले गर्दा टोलीलाई थप उर्जा मिल्ने बताए। “म पहिला पनि यहाँ आएको थिएँ र सदाझैं नेपालमा फुटबललाई माया गर्नेको ठुलो जमात छ। यहाँ खेल्दा टोलीलाई थप उर्जा मिल्ने हुनाले नेपालसँग खेल्न केहि असजिलो पक्कै हुन्छ।”
उनले यस बराबरीले आफ्नो एसियन कप पुग्ने लक्ष्यमा साथ दिएको बताए। यमन समूहको अंक तालिकामा ४ अंक जोडेर शीर्ष स्थानमा छ। आज रति हुने फिलिपिन्स र ताजिकिस्तानको खेलपछि यमन दोश्रो स्थानमा झर्ने सम्भावना पनि रहेको छ।