इतिहाद (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति समूह चरणका ८ खेल हुदैछ । यससँगै च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलहरु सकिनेछ ।
आज राति समूह चरणका ८ खेलमध्ये समूह ‘एफ’ का २ खेल पनि हुनेछ । समूहको शीर्ष स्थानमा रहेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु मैदानमा जर्मन क्लब टीएसजी होफेनहेमको सामना गर्दैछ । अर्काे खेलमा फ्रेन्च क्लब लियोनले युक्रेनी क्लब साख्तर डोनेस्कको सामना गर्दैछ । दुवै खेल नेपाली समयअनुसार १ः४५ बजे हुनेछ ।
सिटी ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहँदा लियोन ७ अंक जोडेर दोस्रो स्थानमा छ । साख्तर डोनेक्स ५ अंकसहित तेस्रो स्थानमा रहँदा होफेनहेन ३ अंक जोडेर पुछारमा छ । यो समूहबाट सिटी अघिल्लो चरणमा प्रवेश गर्दा लियोन र साख्तरमध्ये एक टोलीले नकआउट चरणमा स्थान बनाउनेछ ।
समूहको अन्तिमा खेलमा सिटी घरेलु मैदानमा होफेनहाइमलाई पराजित गर्दै अघि बढ्ने योजनामा हुनेछ । तर, प्रिमियर लिगमा चेल्सीसँग २–० ले पराजित भएको मानसिक दवावमा रहेको सिटी यो खेलमा होफेनहाइमलाई पराजित गर्दै दवावलाई न्युन गर्ने लक्ष्यमा हुनेछ ।
सिटीका लागि सर्जियो अग्विरो मैदानमा फर्कदा मिडफिल्डर केभिन डि ब्रुएन अझै उपलब्ध हुनेछैन । तर, सिटीसँग लिरोए साने, रहिम स्ट्रर्लिङ, रियाद महारेज, बर्नार्डाे सिल्भा, डेभिड सिल्भा र फर्नाडिन्होको साथ रहनेछ । यता, समूह चरणबाटै बाहिरिसकेको होफेनहाइम अन्तिम खेलमा सिटीलाई पराजित गर्दै सान्त्वना जितको खोजीमा खोजीमा मैदान उत्रनेछ । यी दुई टोलीले समूह चरणको दोस्रो राउन्डमा प्रतिस्पर्धा गर्दा सिटी २–१ ले विजयी भएको थियो ।
यही समूहको अर्काे खेलमा युक्रेनी क्लब साख्तर डोनेक्सले फ्रेन्च क्लब लियोनसँग खेल्दैछ । यो खेलमा जित हात पार्ने टोलीले नकआउट चरणमा स्थान बनाउनेछ । साख्तरले यस खेलमा जित हात पारे नकआउट चरणमा प्रवेश गर्नेछ । पराजित भएको खण्डमा लियोन अर्काे चरणको लागि छानिनेछ ।