काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदी क्लबले आइतबार नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै लिगमा लगातार दशौं जित दर्ता गरेको छ । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै टोलीका प्रशिक्षक सुमन श्रेष्ठले मनाङको लक्ष्य लिग उपाधि मात्र नभएर शत प्रतिशत जित नतिजासहित उपाधि जित्ने भएको बताए ।
‘अब लिग हाम्रो हातमा नै छ । संकटासँग हामी खेल्छौं । हामी उपाधि जित्ने मात्र हैन इतिहास नै रच्न चाहन्छौं । अहिले हाम्रो टोलीका सबै खेलाडी र अफिसियल त्यहि सोच लिएर अगाडी बढिरहेका छौं । हामीले उपाधि मात्र हैन, सबै १३ खेलमा नै जित दर्ता गरेर जित हासिल गर्न चाहन्छौं । हामी कुनैपनि खेलमा अंक गुमाउने छैनौं,’ प्रशिक्षक श्रेष्ठले भने ।
‘हामीले १३ खेलमा ३९ अंक जोड्ने लक्ष्य राखेका छौं । अहिलेको प्रदर्शन त्यस लक्ष्य प्राप्त गर्न पर्याप्त नहोला । अब हामीलाई उपाधिको लागि कुनै डर छैन । एक हिसाबले हामी सुरक्षित महसुस गरेका छौं । यसले पनि खेलाडीलाई खुला भएर खेल्न सहयोग पुग्छ । अबको तीन खेलमा थप सुधारिएको प्रदर्शन अपेक्षा गरेको छु,’ उनले थपे ।
मनाङले लिगमा शत प्रतिशत नतिजा निकालेपनि प्रदर्शन भने सन्तोषजनक मात्र रहेको छ । प्रशिक्षक श्रेष्ठ आफैं पनि त्यसलाई स्विकार्छन् । ‘हामीले हरेक खेलमा नतिजामुखी भएर खेलेका छौं । अग्रता लिएपछि त्यसलाई जोगाउने रणनीति लिएर हामी अगाडी बढेका थियौं । विपक्षीमा पोसेसन हुँदा पनि हामीले दवाव नदिई खेलेका थियौं । खेलाडी आफैं पनि सुरक्षित भएर खेलेका थिए । अब त्यसको जरुरत छैन,’ श्रेष्ठले भने,’खेलाडीहरु खुलेर खेल्न सक्छन् ।