काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा अनियमिता भएको प्रमाण पेश गर्ने क्रममा एन्फामा आबद्ध चार जिल्ला संघका अध्यक्षले अडियो टेप सार्वजनिक गरेका छन् ।
एन्फा निर्वाचन सकिएको भन्डै आठ महिनापछि जिल्ला फुटबल संघ काठमाडौंका अध्यक्ष विराज जंग शाही, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुरका अध्यक्ष गौताम सुजखु र धादिङका अध्यक्ष दिपक खतिवडाले संयुक्त रुपमा बुधबार पत्रकार सम्मेलन गर्दै अडियो टेप सार्वजनिक गरेका हुन् ।
अडियो टेपमा भएको कुराकानीका आधारमा निर्वाचन समितिलाई आर्थिक प्रमावमा पारेको, अदालतलाई पनि आर्थिक रुपमा प्रभाव पार्न खोजेको, मताधिकार प्राप्त प्रतिनिधिलाई आर्थिक प्रभावमा पारेको, निर्वाचन भन्दा अघि मताधिकार प्राप्त व्यक्तिहरुलाई भारतका विभिन्न ठाँउमा लगेर क्लोज क्याम्प राखेको, हवाई टिकट तथा अन्य अनियमितामा ठूलो धनराशी खर्च गरेको र निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् ।
वैशाख २२ गते भएको एन्फा निर्वाचनमा व्यापक अनियमिता भएको आरोप यसअघि एन्फा अध्यक्षका उम्मेदवार मणी कुँवरले लगाएका थिए । त्यहि अनियमिता भएको निर्वाचनमा आफु भाग नलिने भन्दै कुँवरले निवार्चन वहिष्कार समेत गरेका थिए । कुँवर भने बुधबारको पत्रकार सम्मेलनमा उपस्थित थिएनन् ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष पंकज विक्रम नेम्बाङ लगायतको प्रत्यक्ष संलग्नतामा एन्फा निर्वाचनमा अनियमिता भएको आरोप लगाउँदै जिल्ला अध्यक्षहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायमा छानविनका लागि माग गरिने बताएका छन् ।
सार्वजनिक गरिएको अडियो टेपमा एन्फाका मानार्थ अध्यक्ष टासी घले, महासचिव इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन्द्र जोशी अडिट एन्ड कम्प्लाईन्स समितिका संयोजक दीपक खाती, एन्फा केन्द्रिय सदस्य मधुसुदन उपाध्यक्ष र अर्का सदस्य दावा लामाको आवज रहेको छ । त्यो अडियो टेपमा निर्वाचनलाई प्रभाव पार्ने कुराकानी भएको उनीहरुको दाबी छ ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको सार्वजनिक खेला समिति तथा राष्ट्रि खेलकुद परिषद् (राखेप) मा पनि प्रमाणसहित छानविनका लागि पेश गर्नेछौं,’ प्रेस विज्ञप्ती वाचन गर्दै ललितपुर जिल्ला अध्यक्ष थापाले भने,‘ हामी फेरि फिफा र एएफसीमा पनि सबै प्रमाण पेश गर्नेछौं ।’
धादिङका अध्यक्ष खतिवडाले छानविन प्रक्रिया अघि बढाउन दबाब दिनका लागि यो पहिलो पइला भएको उल्लेख गर्दै भने,‘ आउने दिनमा आवश्यकता अनुसार हामी सबै निकायमा जानेछौं ।’
फिफा कंग्रेसमा नवीन पाण्डेलाई देशको प्रतिनिधि बनाएर पठाएको विषयमा पनि जिल्ला अध्यक्षहरु प्रश्न गरेका छन् । ‘ विदेशी नागरिक नवीन पाण्डेलाई देशको प्रतिनिधित्व गराएर फिफा कंग्रेसमा पठाएको विषय र रसिया विश्वकपमा नेपालले पाएको किट विक्री भएको अनियमितता बारे राखेपमा उजुरी गरेपनि हाल सम्म कुनै किसिमको अनुसन्धान र कारवाहीको प्रक्रिया अघि नबढाएकोमा हामी दुःखित छौं,’ विज्ञप्तीमा भनिएको छ ।
जिल्लाहरुले सार्वजनिक गरेको अडियो टेप :