काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले निमन्त्रणा प्राप्त नभएर नभई व्यस्तताका कारण नेपाल आइस तेस्रो सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगितामा भाग लिन नसकेको बताएको छ ।
खप्तड गोल्डकपको आयोजक सुदूरपश्चिमाञ्चल ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले शनिबार राजधानीमा आयोजित मुख्य प्रायोजक सम्झौता कार्यक्रममा गत वर्षको अर्को एउटा प्रतियोगितामा आर्मी देखाएको व्यवहारका कारण कारवाही स्वरुप निमन्त्रणा नगरको बताएका थिए ।
गतवर्ष सर्लाहीमा भएको राजश्री गोल्डकपको खेल दौरान मैदानमै आर्मीका खेलाडीले सुदुरपश्चिमका खेलाडीमाथि हातपात गरेको भन्दै कारवाही स्वरुप यो प्रतियोगितामा सहभागिता नगराइएको अध्यक्ष हमालले बताए । ‘हामीले यो प्रतियोगिताका लागि आर्मीलाई निमन्त्रणा नै गरेनौ । आर्मी राम्रो टोली हो तर, पछिल्लो वर्ष विभिन्न गोल्डकपमा अनुशासन राम्रो देखिएन,’ अध्यक्ष हमालले थपे, ‘जित्दा राम्रो हुने हार्न लाग्दा कुटपिटमा उत्रने आर्मीको व्यवहार मन नपरेकै कारण यो प्रतियोगितामा सहभागिता नगराइएको हो ।’
अर्कोतर्फ आर्मीका व्यवस्थापक चुनबहादुर थापाले भने सुरुमा निमन्त्रण प्राप्त नभएपनि केहि दिन यता भने सहभागिताका लागि निरन्तरत आयोजकमार्फत सन्देश प्राप्त भएको बताएका छन् । ‘हामीलाई सुरुमा निमन्त्रणा नआएको सहि हो,’ उनले भने, ‘तर केहि दिन यता लगातार सम्पर्क गरेर सहभागी हुन अनुरोध थियो । हामीले सिमरा र वीरगंजमा हुने प्रतियोगितामा भाग लिने पक्का गरिसकेका कारण खप्तड खेल्न नसक्ने जानकारी गराएका हौं ।’
आर्मी खप्तडको साविक विजेता हो । आर्मीले वीरगंजमा पुष २८ र सिमरामा माघ ३ गतेदेखि हुने प्रतियोगिताका लागि सहभागिता पक्का गरिसकेको छ । सुदूरपश्चिम ११ का अध्यक्ष हमालले अर्को वर्ष भने यस निर्णयमा हेरफेर हुन सक्ने बताए । मोफसलकै सर्वाधिक पुरस्कार भएको प्रतियोगिता पुष २४ गतेदेखि सुरु हुँदैछ । १ करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ तथा दोस्रो टोलीले १० लाख १ रुपैयाँ प्राप्त गर्नेछन् ।