एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत नयाँ वर्ष सन् २०१९ को पहिलो दिन भएका खेलमा लन्डन क्लब टोटेनहम हट्स्पर र आर्सनलले सहज जित दर्ता गरेका छन् ।
टोटेनहमले कार्डिफ सिटीलाई वेल्समा ३-० ले पराजित गर्दा आर्सनलले घरेलु मैदानमा फुल्हमलाई ४-१ ले पाखा लगायो । टोटनहमले पहिलो हाफको २६ मिनेटको अन्तरमा गरेको गोल नै जितको लागि पर्याप्त रहयो । तेस्रो मिनेटमा नै फरवार्ड ह्यारी केनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
मिडफिल्डर क्रिस्टियन एरिक्सनले १२ औं मिनेटमा चलाखीपूर्ण ढंगले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले डिफेन्डर र गोलरक्षकलाई झुक्याउँदै पेनाल्टी क्षेत्रबाहिरबाट गोल गरे । २६ औं मिनेटमा कोरियाली ह्युङ मिन सनले ३-० को अग्रता बनाए । यस जितसँगै टोटेनहमले २१ खेलमा ४८ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको २० खेलमा ५४ अंक तथा तेस्रो स्थानको सिटीको २० खेलमा ४७ अंक छ ।
मंगलबारकै अर्को खेलमा आर्सनलले फुल्हमलाई हराउँदै पाँचौ स्थानमा कायम रहयो । आर्सनलको जितमा ग्रानिट झाका, एलेक्जेन्डर लाकाजेट, आरोन रामजी र पिएर एमेरिक औबामेयाङले गोल गरी । फुलहमका लागि एकमात्र गोल अबुबकार कमाराको नाममा रहयो ।
आर्सनलको २१ खेलमा ४१ अंक रहेको छ । चौथो स्थानको चेल्सीले २० खेलमा ४३ तथा म्यानचेस्टर युनाइटेडले २० खेलमा ३५ अंक जोडेको छ ।