एजेन्सी – फरवार्ड अल्भेरो मोराटाको दुई गोल मद्दतमा लन्डन क्लब चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको तेस्रो चरणको खेलमा च्याम्पियनसिप क्लब नटिङघम फरेष्टलाई २–० ले पराजित गर्दै चेल्सीले चौथो चरणमा पुग्न सफल भएको हो ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले खेलमा पकड बनाएपनि गोलको लागि दोस्रो हाफ नै कुर्नु परेको थियो । ४९औं मिनेटमा मोराटाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ५९औं मिनेटमा मोराटाले व्यक्तिगत तथा टिमको लागि दोस्रो गोल गर्दै घरेलु टोलीलाई २–० को जित दिलाए ।
त्यसअघि चेल्सीले ३१औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेको थिएन । चेल्सीका सेस फाब्रिगासको पेनाल्टी नटिङघमका गोलरक्षक लुके स्टेलिले बचाएका थिए ।
एफए कप अन्तर्गत नै एभर्टनले लिनकोन सिटिलाई २–१ ले, ब्राइटनले बोर्नामाउथलाई ३–१, वेष्टह्यामले बर्मिङघगम सिटीलाई २–० र वेष्ट ब्रमले विगानलाई १–० ले पराजित गर्दै चौथो चरणमा पुग्न सफल भयो ।