काठमाडौं (हाम्रो खेलकुद) – कप्तान भरत खवासको दुई गोल मद्दतमा विभागीय त्रिभुवन आर्मी क्लबले लिगको अन्तिम खेलमा मच्छिन्द्र क्लबलाई पराजित गरेको छ । आर्मीले मच्छिन्द्रलाई ३–० ले पराजत गरेको हो ।
हल्चोकस्थित एपिएफको मैदानमा आइतबार भएको खेलमा आर्मीका लागि अर्काे एक गोल टंक बस्नेतले गरे । एकपक्षीय बनेको खेलमा आर्मीले खेलको २९औं मिनेटमा टंक बस्नेतको गोलबाट खेलमा अग्रता बनाएको थियो ।
पहिलो हाफमा १–० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । दुवै गोल कप्तान भरत खवासको नाममा रह्यो । ६२औं मिनेटमा पहिलो गोल गरेका भरतले ७३औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गर्दै आर्मीलाई ३–० को जित दिलाए ।
जितपछि आर्मीले २५ अंक जोडेर चौथो स्थानमा लिग अन्त गर्यो । यता, मच्छिन्द्र १३ खेलबाट ७ अंक जोडेर लिगको १३औं स्थानमा रह्यो । एनआरटीले मंगलबार बीबीसीसँग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा एनआरटीले जित हात पारे मच्छिन्द्र लिगको पुछारमा रहनेछ । अर्काे संस्करणको लागि २ अथवा १ अंक गुमाउनेछ ।