एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका बेल्जियन फरवार्ड मिचे बात्सुयाई लोनमा अर्काे प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसमा पुगेका छन् । जनवरी ट्रान्सफरको अन्तिम दिन बात्सुयाई लोनमा प्यालेसमा पुगेका हुन् ।

बात्सुयाई यस सिजनको अन्त्यसम्म क्रिस्टल प्यालेसमा रहनेछन् । बात्सुयाईलाई इंग्लिस क्लब टोटेनहम, फ्रेन्च क्लब मोनाको र स्पेनिस क्लब रियल बेटिसले अनुबन्ध प्रयास गरेपनि उनलाई प्यालेसले भित्र्याएको हो ।
२५ वर्षीय बात्सुयाई दुई वर्षअघि फ्रेन्च क्लब मार्सेलीबाट ३३ मिलियन पाउन्डमा चेल्सीमा अनुबन्धित भएका थिए । चेल्सीले सन् २०१६-१७ को सिजनमा प्रिमियर लिगको उपाधि जित्दा निर्णायक गोल गरेका थिए ।
गत वर्ष लोनमै जर्मन क्लब बोरुसिया डर्टमन्ड पुगेका बात्सुयाईले चोटका कारण लामो समय खेल्न सकेनन् । उनी लोनमै स्पेनिस क्लब भ्यालेन्सिया पुगेका थिए । बात्सुयाईले प्यालेसबाट फुलहमविरुद्ध डेब्यु खेल्ने सम्भावना छ ।