एजेन्सी – विश्व फुटबलको दुई महारथी बार्सिलोना र रियल मड्रिडबीचको ‘एल क्लासिको’ अर्थात स्पेनिस कोपा डेल रेको अन्तरगतको सेमिफाइनलको पहिलो लेग १–१ को बराबरीमा सकिएको छ ।

नोउक्याम्पमा बुधबार राति भएको खेलमा बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर बराबरीको नतिजा निकालेको हो ।
खेलको छैटौ मिनेटमा लुकास भास्क्वेजको गोल गरेपछि घरेलु टोली पछि परेको थियो । भिनिसियस जुनियरले क्रस गरेको बललाई करिम बेन्जेमाले उपलब्ध गराएको पासमा भास्क्वेजले बक्सभित्रबाट गोल गरेका थिए ।

३२औं मिनेटमा बार्सिलोनाका इभान राकिटिकको प्रहार क्रसबारमा लागेर फर्कियो । ३४औं मिनेटमा भिनिसियस जुनियरको अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो ।
एक गोलले पछि परेपछि बार्सिलोनाले गोल गर्ने प्रयास गरेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५७औं मिनेटमा मालकोमले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि गोल गर्न असमर्थ रहँदा खेल बराबरीमा सकियो ।
यससँगै रियलले पहिलो लेगमा अवे गोलको अग्रता लिएको छ । घरेलु मैदानमा २७ फेब्रुअरीमा हुने खेलमा रियलले बार्सिलोनालाई रोक्न सके अवे गोलमा अघि बढ्नेछ । बार्सिलोनालाई अघिल्लो चरणमा प्रवेश गर्न निश्चित जित आवश्यक छ ।
कोपा डेल रे अन्तरगतको दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राति रियल बेटिस र भ्यालेन्सियाबीच खेल हुनेछ ।