पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकपको १७ हौं संस्करणको उपाधिका लागि शनिबार रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

पोखरा रंगशालामा हुने उपाधि भिडन्तको पूर्वसन्ध्यामा दुवै टोलीले उपाधिका लागि खेल्ने प्रस्ट पारेका छन् । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आर्मी जस्तो राम्रो टोलीविरुद्ध फाइनल खेल्न आतुर रहेको बताए । ‘ आर्मी निकै राम्रो टोली हो । घरेलु फुटबलमा आर्मी र थ्री स्टार नै शीर्ष दुई टोली हुन् । अब फाइनलमा उत्कृष्ट दुई टोलीको खेल दर्शकहरुको लागि पनि हेर्नलायक हुनेछ,’ उनले भने ।
आर्मी का प्रशिक्षक नवीन न्यौपानेले पनि बलियो थ्री स्टारलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्य राखेको बताए । ‘हामीले मोफसलमा राम्रै नतिजा हात पारेका छौं । थ्री स्टारविरुद्ध पनि यसअघि खेलिसकेका छौं । टोली राम्रो स्थितिमा छ र उपाधि जित्ने नै हाम्रो लक्ष्य हो,’ न्यौपानेले थपे ।
पछिल्लो केहि प्रतियोगितामा उपाधि जित्न नसकेको अवस्थामा यस उपाधि जितेर लयमा फर्कने थ्री स्टारका कप्तान विक्रम लामाले बताए । आर्मी का कप्तान भरत खवासले अहिले टोलीले राम्रो लयमा खेलिरहेकाले त्यसलाई निरन्तरता दिँदै आहा गोल्डकप जित्दै इतिहास रच्ने अभिव्यक्ति दिए ।
थ्री स्टारले प्रतियोगिताको पहिलो खेलमा युनाइटेड सिक्किमलाई ५-२ को फराकिलो अन्तरले पराजित गरेको थियो । एपीएफलाई टाइब्रेकरमा हराउँदै थ्रीस्टार फाइनल पुगेको हो । पहिलो खेलमा हिमालयन शेर्पालाई ३-१ ले हराएको आर्मी ले सेमिफाइनलमा दाउफिन्सलाई १-० ले पराजित गर्दै उपाधि भिडन्त तय गरेको हो ।