एजेन्सी – चिर परिचित प्रतिद्वन्द्वी एभर्टनसँग गोलरहित बराबरीमा रोकिएपछि इंगलिस प्रिमियर लिगको उपाधि जित्ने लक्ष्य राखेको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा झरेको छ ।

एभर्टनलाई पराजित गरेको खण्डमा शीर्षस्थानमा फर्कने लिभरपुलले खेल अवधिभर थुप्रै गोल गर्ने अवसर चुकाएको थियो । पहिलो हाफमा मोहमद सलाहको प्रहारलाई एभर्टनका गोलरक्षक जोर्डन पिकफर्डले बचाए । दोस्रो हाफमा पनि सलाहलाई माइकल किनले उत्कृष्ट ट्याकल गर्दै गोल गर्ने अवसर दिएनन् ।
एभर्टन र लिभरपुलबीच यो २ सयौं लिग मर्सीसाइड डर्बी रहेको थियो । यसक्रममा दुई टोलीले ३४ पटक गोलरहित बराबरी खेलेका छन् । लिभरपुलले पछिल्लो ३ प्रिमियर लिग खेलमध्य दुईमा गोल गर्न सकेको छैन । त्यसअघिका २७ खेलमा जम्मा १ खेलमा लिभरपुल गोल गर्न चुकेको थियो ।
यी दुई टोलीबीच एभर्टनको घरेलु मैदानमा भएको पछिल्ला तीन खेल गोलरहित बराबरीमा टुंगिएका छन् । मोहमद सलाहले लिभरपुलमा पहिलो पटक लगातार तीन खेलमा गोल गर्न चुकेका छन् ।
अंक तालिकामा लिभरपुलले २९ खेलमा ७० अंक जोडेको छ । यता शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले २९ खेलमा ७१ अंक जोडेको छ ।