काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलको सम्पूर्ण कागजी प्रक्रिया अब डिजिटल प्रविधिमा हुने भएको छ । नेपाली फुटबलका सम्पूर्ण क्लब, खेलाडी, प्रशिक्षक र रेफ्री दर्ता लगायत अन्य कागजी प्रक्रिया डिजिटलमा लैजान अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार इम्प्रुभमेन्ट कम्पनी नेपाल (आइसिएन) र मर्सी क्रप्ससँग सम्झौता गरेको छ ।

सम्झौतामा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, आइसिएनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रुपेश भक्त श्रेष्ठ र मर्सी क्रप्सका कन्ट्री निर्देशक सञ्जयध्वज कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार नेपाली फुटबलका हरेक गतिविधि सँगै खेलाडी दर्ता र तथ्यांकका लागि सफ्टवेयरको प्रयोग गरिने छ । जसमा फुटबलसँग सम्बन्धित सबै पक्षको जानकारी सफ्टवेयरको माध्यमबाट उपलब्ध गराइनेछ । ग्रासरुट, खेलाडी दर्ता, खेलाडी ट्रान्सफर, रेफ्री तथा प्रशिक्षक विवरण, म्याच रिपोर्ट लगायतका हरेक काम सफ्टवेयरबाट हुने छ ।
यसका लागि आईसिएनले सफ्टवेयरको निर्माण गरेको छ । एन्फाले फिफा र एएफसीको डिजाइन अनुसार सफ्टवेयर बनाएको हो । सम्झौता अनुसार आइसिएनले १० लाख बराबरको सफ्टवेयर बनाउने छ । सफ्टवयरको कुल लागत रकमको ५० प्रतिशत मर्सी क्र्पसले बेहोर्नेछ ।
आइसीएनले सफ्टवेर निर्माणपछि कार्यान्वयनका लागि पनि आवश्यक सहकार्य गर्ने भएको छ । यसका लागि भने लागत खर्च एन्फाले नै बेहोर्नेछ । एन्फाले आइसीएनसँग सहकार्य गरेर सिमित तथ्यांक भने सार्वजनिक रुपमा पनि उपलब्ध गराउने प्रावधान रहेको छ ।