एजेन्सी – प्रिमियर लिगअन्तर्गत आइतबार आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गर्दै शीर्ष ४ होडलाई थप रोमान्चक बनाएको छ । यससँगै म्यानचेस्टर युनाइटेडका कार्यवाहक प्रशिक्षक ओले गुनार सोल्स्जरले प्रिमियर लिगमा पहिलो हार बेहोरेका छन् ।

स्विस मिडफिल्डर ग्रानिट झाकाले खेलको १२ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको फितलो प्रहारलाई युनाइटेडका गोलरक्षक डेविड डे हेयाले ठम्याउन नसक्दा आर्सनल अगाडी बढेको थियो । दोस्रो हाफमा फ्रेडले एलेक्जेन्डर लाकाजेटलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा पिएर एमेरिक औबामेयाङले गोल गर्दै जित पक्का गरे ।
आर्सनलमाथि दबाब सिर्जना गरेपनि गोल फर्काउन नसक्दा युनाइटेडले अंक जोड्न सकेन । आर्सनलका गोलरक्षक बर्न्ड लेनोले रोमेलु लुकाकुको दुई प्रहारलाई विफल पारे । त्यसअघि लुकाकुको प्रहार पोस्टमा लगेर बाहिरिनु युनाइटेडको लागि दुर्भाग्य सावित भयो । खेलको दोस्रो हाफमा आर्सनलका एक समर्थकले मैदान प्रवेश गरेर डिफेन्डर क्रिस स्मलिङमाथि हातपात गर्ने प्रयास गरेका थिए ।
यस नतिजाले शीर्ष ४ को प्रतिस्पर्धा भने थप रोमान्चक बनाएको छ । तेस्रो स्थानको टोटेनहम हट्स्परले ३० खेलमा ६१ अंक जोडेको छ । चौथो स्थानको आर्सनलले ६०, म्यानचेस्टर युनाइटेडले ५८ तथा चेल्सीले २९ खेलमा ५७ अंक जोडेको छ ।