विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार भुटानलाई ३-० ले पराजित गर्यो । नेपालको लागि फरवार्ड सावित्रा भण्डारीले दोस्रो गोल र तेस्रो गोलमा असिस्ट गरेकी थिइन् । तर उनी आफ्नो प्रदर्शनबाट आफैं भने सन्तुष्ट भने छैनन् ।

‘भुटानविरुद्ध पहिलो हाफ निकै कठिन भयो । प्रशिक्षणमा म्याचबलले खेल्न नपाएका कारण बलको प्रकृति बुझ्न नै निकै गार्हो भएको थियो । हामीले उचित रुपमा विश्राम नपाएकाले पनि सोचेअनुरुप खेल्न सकेनौं । मलाई मात्र हैन अन्य साथीहरुले पनि केहि कठिन भइरहेको बताए । गर्मीले पनि खेल्न सकेनौं,’ उनले भनिन् ।
प्रशिक्षकको योजना अनुसार नै खेल अगाडी बढ्न नसक्दा अपेक्षित गोल निस्कन नसकेको पनि बताए । ‘ हामीले विङ प्लेबाट खेलमा आक्रमण बुन्ने योजना बनाएका थियौं । विपक्षीले टाइट मार्क गरेपछि मैले राम्रो प्रदर्शन गर्न सकिन,’ उनले भनिन्, ‘पहिलो खेल भएकाले पनि मैदानमा लय समात्न कठिन भयो । अब अर्को खेलमा यी गल्ति सुधार्दै राम्रो प्रदर्शन गर्न तत्पर छु ।’
नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ । उक्त खेलमा बंगलादेशलाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने लक्ष्य सावित्राले राखेकी छिन् । ‘बंगलादेश राम्रो टोली हो । उनीहरु शारीरिक र प्राविधिक रुपमा राम्रा छन् तर हामीले लामो समयदेखि उनीहरुलाई दबाबमा राख्दै आएका छौं । ओलम्पिक छनोटमा अन्तिम समयमा गोल खाएर बराबरीमा रोकिनु परेपनि हामीले राम्रो खेलेका थियौं । अब अन्तिम खेलमा प्रशिक्षकको योजना अनुसार खेल्दै जित हासिल गर्नेछौं,’ उनले भनिन् ।