बार्सिलोना (एजेन्सी)– ब्राजिलियन सुपर स्टार फिलिप्पे काउटिन्होले बार्सिलोनाबाट सरुवा हुन सक्ने संकेत गरेका छन् । उनले पुनः प्रिमियर लिगमा फर्कन सक्ने सम्भावनालाई खुला राखेका छन् ।

पछिल्लो केहि महिनायता काउटिन्हो प्रिमियर लिग टोली चेल्सी र म्यानचेस्टर युनाइटेड फर्कन सक्ने सम्भावना संचारमाध्यममा उल्लेख गरिदै आएको छ । उनी लिभरपुलबाट बार्सिलोना पुगेको एक वर्षभन्दा केहि बढी मात्र भएको छ । तर, एनफिल्डमा जस्तो उनी बार्सिलोनामा प्रभाव जमाउन भने सफल हुन सकेका छैनन् ।
बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ मा लियोनविरुद्धको जितमा २६ वर्षे काउटिन्होले समेत गोल गरेका थिए । केहि समाचारका अनुसार लियोनमाथिको जितपछि बार्सिलोनाका कतिपय स्टारहरु काउटिन्होलाई साथ दिनुपर्नेमा जोड दिएका छन् ।
तर लिभरपुलका पूर्व स्टारले भने, ‘पछिल्लो केहि साता वा अझै महिना दिन यता मैले राम्रो खेल्न सकेको छैन । म प्रदर्शनलाई सधार्न चाहन्छु ।’ उनले बार्सिलेनामा उच्च प्रदर्शन दिन लक्ष्यका साथ आबद्ध भएको उनले प्रष्ट पारे । उनले भने, ‘अहिले जे भइरहेको छ त्यसमा म सन्तुष्ट छ । भविष्यका बारेमा कसलाई थाहा छ र । म आजको प्रदर्शनबाट खुसी छु ।’
बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ ।