एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी वल्भ्ससँग स्तब्ध हुदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

वल्भ्सको मैदानमा शनिबार राति भएको खेलमा म्यानचेस्टर २–१ ले पराजित हुदै एफए कपको क्वाटरफाइनलबाटै बाहिरिएको हो । घरेलु टोलीका राहुल जिमिनेज र डिएगो जोटाले गोल गरे । युनाइटेडका मार्कुस रासफोर्डले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा घरेलु टोलीले ६ मिनेटको अन्तरमा दुई गोल गर्दै जित पक्का गरेको थियो । ७०औं मिनेटमा राहुलको गोलबाट वल्भ्सले खेलमा अग्रता बनाएको थियो । ७६औं मिनेटमा रुवेन नेभेसको पासमा डिएगो जोटाले गोल गर्दै वल्भ्सको जित पक्का गरे ।

खेलमा २–० ले पछि परेपछि युनाइटेडले आक्रमक फुटबल खेल्दै एक गोल गर्न सफल भएपनि टिमलाई हारबाट जोगाउन सकेन । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा रासफोर्डले गोल गरेपनि टिमको हार टान सकेन ।
शनिबार राति नै भएको अर्काे खेलमा वाटफोर्डले क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । यस्तै म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई ३–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
अब आज राति मिलवाल र ब्राइटनबीचको खेलपछि सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लाग्नेछ ।