हेटौंडा (हाम्रो खेलकुद) – आयोजक मकवानपुर–११ ले दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को उद्घाटन खेलमा विजयी सुरुवात गरेको छ ।

वन विज्ञान खेल मैदानमा मच्छिन्द्र क्लबलाई २–१ ले पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । मकवानपुरको जितमा दुई गोल अफ्रिकनमूलक खेलाडी काजिमले गरेका थिए । मच्छिन्द्रका लागि १६ औं मिनेटमा अजित गुरुङको क्रसमा मोमिया मोहम्मदले हेडमार्फत खाता खोलेका थिए । खेलको ३० औं मिनेटमा काजिमले मकवानपुरको तर्फबाट गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले सिक्स यार्ड बक्सभित्रबाट रेजिन सुब्बाले उपलब्ध गराएको पासलाई गोलमा परिणत गरेका थिए ।
दोस्रो हाफमा आयोजक मच्छिन्द्रमाथि हावी भएको थियो । खेलको ६३ औं मिनेटमा काजिमले मकवानपुरका लागि गोल गरे । उनले वान भर्सेस वानको अवस्थामा मन्छिन्द्रका गोलरक्षक सुजित गुरुङ अगाडि बढेको अवस्थामा फ्लिक गर्दै सुन्दर गोल गरे । काजिम खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले नगद दश हजार रुपैयाँ हात पारे ।
खेलपश्चात् मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठ टिम सेटमा नियमित प्रशिक्षण नहुँदा भनेजस्तो खेल्न नसकेको बताए । उनले यस्तै शैलीमा खेले सेमिफाइनलमा जित्न गाह्रो हुने बताउँदै खेलाडीलाई सोही अनुसार प्रशिक्षण गराउने र रणनीति तयार गर्ने बताए ।
मच्छिन्द्रका प्रशिक्षक निशान श्रेष्ठले आफ्नो मुख्य डिफेन्डर घाइते भएपछि खेलमा लिएको अग्रता समेत जोगाउन नसकेको बताए । उनले अग्रता लिएपनि जित दर्ता गराउन नपाउँदा हेटौंडा यात्रा पहिलो खेलबाटै सकिएको बताए ।
प्रतियोगिताअन्तर्गत शुक्रबार सशस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पाबीच खेल हुनेछ । प्रतियोगिता उद्घाटन ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए । प्रतियोगितामा आठवटा ए डिभिजन टोलीसहित दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिता फाइनल चैत १६ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।