एजेन्सी – अर्जेन्टिनी फरवार्ड तथा बार्सिलोनाका कप्तान लिओनेल मेसीले यसै सिजनको सुरुवातमा ला लिगा क्लब रियल म्याड्रिड छाडेर युभेन्ट्स पुगेका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई आफूले ‘मिस’ गरिरहेको बताएका छन् ।

मेसीले रियल म्याड्रिडका पूर्व खेलाडी रोनाल्डोले लिगको बेग्लै इज्जत बढाएको भन्दै उनीसँग खेल्न नपाउँदा केहि खल्लो लागेको बताएका हुन् । रोनाल्डो रियललाई ५ सिजनमा ४ च्याम्पियन्स लिग उपाधि जिताउँदै युभेन्टस लागेका थिए । उनले युभेमा पनि आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै आएका छन् । उनको सानदार ह्याट्रिकमा युभेले एटलेटिको म्याड्रिडलाई ३-२ ले पराजित गरेको थियो ।
च्याम्पियन्स लिगको ड्र अनुसार मेसी र रोनाल्डोको टोलीको भेट फाइनल अगाडी हुने सम्भावना छैन । यता स्पेनिस लिगमा भने म्याड्रिड बार्सिलोनाभन्दा १२ अंकले पछाडी छ । मेसीले यसैक्रममा रोनाल्डो नहुँदा प्रतिस्पर्धा घटेको बताए । ‘मैले क्रिस्टियानोलाई मिस गरिरहेको छु,’ मेसीले अर्जेन्टिनाको एफएम क्लब ९४७ लाई भने, ‘लिगमा उनले उपाधि धेरै नजितेपनि लिगको इज्जत बढाउन ठूलो भूमिका खेले । अहिले युभेन्ट्स च्याम्पियन्स लिगको बलियो दावेदार भएको छ ।’